दुप्चेश्वरमा लाखौं भक्तजन
नुवाकोट : पशुपतिनाथको पर्यायका रुपमा प्रसिद्ध नुवाकोटको दुप्चेश्वरमा धान्य पूर्णिमाको अवसरमा लागेको मेलामा लाखौं सर्वसाधारणले दूधको धारा चढाएका छन्। निसन्तानलाई सन्तान दिने जनविश्वासले प्रसिद्धि कमाएको चर्चित र मुख्य धार्मिक पर्यटकीय स्थल दुप्चेश्वरमा यस वर्ष लागेको मेलामा लाखौं भक्तजनले सहभागिता जनाएका हुन्।
दुप्चेश्वरमा यस वर्ष साताव्यापी लागेको मेलाका अवसरमा एक लाख १५ हजारभन्दा बढीले मेला भरेका छन्। मेलामा उत्साहपूर्वक रुपमा सर्वसाधारणले दुप्चेश्वर पुगेर पूजापाठसमेत गरेका हुन्। साताव्यापी रुपमा लागेको मेलामा हजारौं निसन्तान दम्पतीले सन्तान प्राप्तिको माग गरेका छन्। मेलामा देश तथा विदेशबाटसमेत तीर्थालुको सहभागिता रहेको थियो।
दुप्चेश्वर मेला साताव्यापी रुपमा लागेको थियो। सदरमुकाम विदुरदेखि ४५ किलोमिटर उत्तरमा रहेको दुप्चेश्वर गाउँपालिका-६ तादी खोलाको पुर्वी मोहडाको किनारामाथिको विशाल पहरोमा रहेको दुप्चेश्वरमा यस वर्षको मुख्य मेला आइतबार दुप्चेश्वरलाई गाईको दूधको धारा चढाउँदै सम्पन्न भएको दुप्चेश्वर क्षेत्र विकास कोषले जनाएको छ।
यस वर्ष मेलामा भक्तजनहरूको संख्या गत वर्षको भन्दा १५ प्रतिशत वृद्धि भएको मेला आयोजक समितिले जनाएको छ। मेलामा दुई सातासम्म गरि एकलाख १५ हजार जनाले सहभागिता जनाएको दुप्चेश्वर क्षेत्र विकास कोषले जनाएको छ।
अविवाहितलाई जोडी प्रदान, पशुचौपाया नब्याएमा दाम्लो चढाएमा गर्भाधान, बोली नफुटेका बालबालिकालाई दर्शन गराएमा बोल्न सक्ने वरदान दिने विश्वास रही आएको छ। समुद्र मन्थन गर्दा निक्लिएको कालकुट विष सेवनपछि छटपटिएका शिव पशुपतिनाथ हुँदै दुप्चेश्वरमा बास बसेर गोसाइँकुण्ड गएको किंवदन्ती पनि छ। मेलामा तामाङ झाँक्री र उनीहरूको ढ्याङ्ग्रो मुख्य आकर्षक रहन्छन्।
सर्वसाधारणले ‘जे माग्यो त्यो सिद्ध गराउने’ भगवानका रूपमा विश्वास गर्दै नुवाकोट, रसुवा, धादिङ, काठमाडौं हुँदै नेपाल तथा भारत लगायतबाट समेत भक्तजनहरू दुप्चेश्वर महादेवको मन्दिरमा पूजा आराधना गर्न आउने गरेका छन्।