किरातबस्तीमा उधौली साकेलाको धुमधाम

किरातबस्तीमा उधौली साकेलाको धुमधाम
सुन्नुहोस्

भोजपुर : हिउँदयाम सुरु भएसँगै हरेक किरात राईबस्तीहरूमा यतिबेला उधौली साकेला पर्व धुमधामले सुरु भएको छ । प्रकृतिपूजक किरात राईहरूको प्रमुख चाडमध्येको किरात येले ५०८४ उधौली साकेला किरात राई समुदायको बाहुल्य भएका पूर्वका विभिन्न गाउँबस्तीहरूमा सुरु भएको हो । 

उधौलीमा विशेष गरी भूमिपूजा र कुखुराको बली दिई पितृपुजा (माङ) गरिने प्रचलन छ । जाडोयामको सुरुवातसँगै शीत छल्न बेंसी झर्ने आफ्ना किराती पुर्खाहरूको सम्झनामा उधौली मनाइने गरेको भोजपुर नगरपालिका ५, बोखिमका स्थानीय होमे (कुलपुजारी) तीर्थ राई बताउँछन् । उनका अनुसार उधौलीमा राई समुदायहरू शिकारी युगका आफ्ना पूर्खाले शिकार गरेको र कन्दमूल खाएर जीविका गरेको स्मृतिमा कुखुराको बली दिने, कन्दमुल खाने, काँचो वनतरुलको टीका लगाउने, अन्य उसिनेका वा भुटेर तारेका कन्दमूल भोजनका रूपमा पनि ग्रहण गर्ने चलन रहँदै आएको परम्परागत विश्वास छ । 

‘प्रकृतिपुजक किरात राईहरू आफ्नो माङ (पितृकुल)लाई पुज्दै जमिनमुनि फलेका कन्दमूललाई पुर्खाको प्रसाद मानेर विभिन्न परिकार बनाइ खाँदै, माङपितृको पूजा गर्दै साकेला नाँच्दै उधौली मनाउने गर्छन्’, उनले भने । परापूर्वकालदेखि प्रकृतिपुजक किँरात राईहरूले मंसिर पूर्णिमाका दिन सूर्यको गति दक्षिणतर्फ लाग्ने समय भएकाले उधौलीलाई किराती मुन्दुमी भाषामा ‘दोङदावा’ भन्ने गरिएको उल्लेख छ । 

उधौलीमा अन्नबाली भित्राएपछि तिनचुलो पुजेर पूजाआजा गर्दै साकेला नाच्ने गरिन्छ । उधौली पर्व किरातहरूको संस्कृतिलाई पुस्तान्तरण गर्ने बलियो आधार भएको संस्कृतविद कमलजंग राईको ठम्याइ छ । उनका अनुसार हिउँदको धान्यपूर्णिमाका दिनबाट सुरु हुने उधौली पर्व पुर्खाहरू र जंगली पशुपन्छीहरू लेकदेखि बेंसीतिर झर्ने समय भएको संकेत गर्ने तथा अन्नबाली भित्र्याइएको खुसियालीमा मनाउने गरिन्छ । 

परापूर्वकाल ढुंगे युगमा किँराती पुर्खाहरूले पृथ्वीमा कृषि युग सुरु गरेको आस्थाका साथ यो पर्व चलनचल्तीमा आएको किरात अगुवाहरूको बुझाइ छ । बालीनाली भित्र्याउने समय, प्राकृतिक प्रकोपबाट जोगिन, इष्टदेवता सुम्दिमा र पारुहाङले सम्पूर्ण सृष्टिजगतको रक्षा गरून् भन्ने कामना गर्दै उधौली मान्ने गरिएको धार्मिक विश्वास छ ।

भाइचारा बढाउने सिलि संस्कृति

परम्परागत धार्मिक तथा साँस्कृतिक चाडमा किरात राईका विभिन्न समुदायबीच साकेला नाच (चण्डिनाच) को छुट्टै महत्व छ । राईभित्रका पनि विभिन्न जात अनुसारका नाचलाई साकेला, साकेन्वा, साक्खेवा र साख्खेवा जस्ता विभिन्न नामहरूले सम्बोधन गरिन्छ । विशेषगरि किँरात राई समुदायहरू विभिन्न जातीय पहिचान झल्काउने पहिरनमा गोलबन्दी भएर परम्परागत शैलीमा साकेला नाच्ने गर्छन् । 

हातमा चौरीको पुच्छर, सिल्लिमो, पोमी, चम्मर, सेउली लिएर ढोल, झ्याम्टा, बिनायोको तालमा एकै सुरमा गोलाकार घेराभित्र विधिवत् सिलि(नाँचको किसिम)को साकेला नाच्ने गर्छन् । पछिल्लो समय भ्रातृत्व बढाउने साकेला पर्वमा विभिन्न समुदायका मानिस पनि साकेला नाच्ने गरेका छन् ।

केटाकेटीदेखी बुढाबूढीसम्म गाउँदै नाँच्दै गरेको दृष्यले उधौली साकेलाको रौनक बढाएको छ । किँरात राई समुदाय मात्र नभई यतिबेला गैर किरातहरू पनि साकेलाको तालमा नाच्ने, रमाउने गरेका छन् । पछिल्लो समय उधौली साकेला नाच राईहरूले मात्र नभई गैरकिरात समुदायहरूले पनि मनोरञ्जनात्मक नाचको रूपमा लिने गरेका छन् । हतुवागढी होम्ताङका जनक राईले पछिल्लो पिँढीमा आएर सबै गैरकिरातको लागि पनि भातृत्व झल्काउने उत्सवका रूपमा पनि साकेलालाई लिने गरेका छन् । ‘यसरी अरू समुदायका मानिसले पनि साकेला नाच्दा, रमाउँदा एकअर्काबीच धार्मिक सहिष्णुता र सद्भाव बढ्छ’, उनले भने ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.