जोखिम मोलेर अधकल्चो पुल तर्दै बालबालिका
गोरखा : गण्डकी गाउँपालिका–७ धवादीका बालबालिका जोखिमपूर्ण त्रिशूलीको पुल तरेर विद्यालय जान बाध्य छन्। धवादी र यस आसपासका ६० जना विद्यार्थी साँझ बिहान जोखिमपूर्ण पुल तर्न बाध्य भएका वडाअध्यक्ष तुलसी रेग्मीले जानकारी दिए।
गत असोज ११ गते त्रिशूलीको बाढीले भत्काएको गोरखाको गण्डकी ७ र धादिङको बेनिघाट रोराङ ७ जोड्ने सो पुलको आधा पाटो मर्मत भएर बाँकी काम एक महिनादेखि अलपत्र छाडिएपछि स्थानीय जोखिमपूर्ण पुल तर्न बाध्य भएका हुन्।
सो क्षेत्रका ५३ जना विद्यार्थी त्रिशूलीमाथिको जोखिम पुल तरेर चरौंदीको राइजिङस्टार बोर्डिङ पढ्न जाने गरेका वडाअध्यक्ष रेग्मीले जानकारी दिए। धवादी, पँदेलटार, बालटार, चुर्लिङ, चैनपुर, छापगाउँ, तेर्से लगायतका गाउँका स्थानीयवासी पृथ्वीराजमार्ग जान ज्यान जोखिममा मोलेर सोही पुल तर्ने गर्छन्। ‘एक दिन होइन, दुई दिन होइन, एक महिना भइसक्यो पुल अलपत्र बनाएर छोडेको। बजेट सक्कियो भनेर काम गर्न छोडिसकँे। गाउँलेहरू ज्यान जोखिममा राखेर तरिरहेका छन्।
यो त जानीजानी मर् भनेजस्तो भएन र ?’, स्थानीय कुमार गुरुङले भने, ‘स्कुल क्याम्पस जाने विद्यार्थी, तरकारी, दूध बेच्ने किसान, दैनिक उपभोग्य सामान किन्ने सर्वसाधारण अहिले ज्यान यसरी नै जोखिममा राखेर पुल तर्न बाध्य छन्। कि पुल चाँडो बनाउनुपर्यो, कि बन्द गर्नुपर्यो।’ सो क्षेत्रका सांसददेखि स्थानीय जनप्रतिनिधिसम्म सबैले यहाँको दुखलाग्दो अवस्थालाई गम्भीर रूपमा नलिएको उनले गुनासो गरे।
पुल भत्किएपछि गण्डकी र बेनिघाट रोराङ गाउँपालिकाले मासिक ७० हजार भाडा तिर्ने गरी डुंगा भाडामा लिएर सञ्चालन गरेका थिए। तर, स्थानीयले डुंगाभन्दा जोखिम पुल रोज्ने गरेको वडाअध्यक्ष रेग्मीको भनाइ छ। ‘पुल भत्किएपछि त्रिशूली वारपार गर्न दुवै गाउँपालिकाले डुंगा सेवा दिएको थियो, तर डुंगाभन्दा गाउँलेहरू जोखिम मलेर यही पुल तर्न थाले’, वडाअध्यक्ष रेग्मी भन्छन्, ‘अधकल्चो पुल नतर भनेर जति भने पनि कोही मान्दैनन्। डुंगा चढ्ने मान्छे कोही नभएपछि डुंगा सेवा पनि बन्द भयो। अहिले दैनिक दुई सयभन्दा बढीले यही जोखिमपूर्ण पुल तरिरहेका छन्।’
सो पुलको डेक निर्माण गर्न गाउँपालिकाले ९ लाख रुपैयाँको टेन्डर आह्वान गरिसकेको बताए। ‘टेन्डर भइसकेको छ। सकेसम्म १५ दिनभित्र बनाइसक्ने लक्ष्य छ’, उनले भने, ‘त्यो बेलासम्म मान्छेहरू कि तल वा माथिको पुल तरे हुन्थ्यो, कि डुंगा तरे हुन्थ्यो। बनाइनसक्दैको पुल जोखिम मलेर नहिँडे हुन्थ्यो।’