अस्ताए गणेशमानका सारथि
काठमाडौं : प्रजातन्त्र पुनर्स्थापना लगत्तै २०४९ सालमा भएको स्थानीय निकाय चुनावबाट पहिलोपटक काठमाडौंको मेयरमा निर्वाचित भएका पीएल सिंहको ८८ वर्षको उमेरमा आइतबार राति चाक्सीबारीमा निधन भएको छ। सिंह नेपाली कांग्रेसका नेता गणेशमान सिंहका सहयोगी थिए। सिंहको जन्म १९९३ सालमा काठमाडौंको ताम्सिपाखामा भएको थियो। सिंहलाई नजिकबाट चिन्ने कांग्रेसका नेताहरूले उनलाई सानैदेखि राजनीतिप्रति आकर्षण रहेको बताउँछन््। समाजसेवामा पनि उनको उत्तिकै रुचि थियो। सोही रुचिका कारण उनी चाक्सीबारी छिरेका थिए।
उनै सिंह अल्सरलगायत रोगबाट पीडित थिए। उनको गत वर्ष शल्यक्रिया गरिएको थियो। त्यसपछि अलिक गल्दै गएका थिए। पीएल मेयर हुँदा सल्लाहकार भएका कांग्रेसका नेता भीमसेनदास प्रधान गणेशमान सिंहलाई लौहपुरुष बनाउने मुख्य हात उनै पीएलको भएको बताउँछन्। उनी भन्छन्, ‘राजनीतिमा न्याय र अन्यायको फरक छुट्ट्याउने एउटा नेतृत्व हो। हिजोको चाक्सीबारीलाई एउटा चमक दिने नेतृत्व हो उहाँको थियो। गणेशमानजी जेलमा भएका बेला हरेक तवरले घरमा रहेका परिवारलाई जतन गर्नेदेखि कार्यकर्ताको कुरा सुन्ने पनि उहाँनै हुनुहुन्थ्यो। उहाँ गणेशमानजीको छोरा जत्तिकै हुनुहुन्थ्यो। प्रजातन्त्रका लागि त्याग र तपस्या गरेको व्यक्ति हुनुहुन्छ उहाँ।’
२०५४ सम्म सिंह मेयर हुँदा नगरपालिकामा सुधारका धेरै प्रयास गरेका थिए। पीएलले विश्वका धेरै देशका महानगरसँग दौत्य सम्बन्ध राख्नेदेखि अन्तर्राष्ट्रिय संघ–संस्थाको बजेट सांस्कृतिक र धार्मिक क्षेत्रको संरक्षणमा ल्याउने सम्झौता गरेर महानगरको उत्साहजनक जग बसालेका थिए।
उनकै नेतृत्वमा काठमाडौं नगरपालिकालाई २०५२ मंसिर २९ गते महानगरपालिका घोषणा गरिएको थियो। उनै सिंहलाई महानगरले दुई दिनअघि मात्र आफ्नो ३०औं स्थापना दिवस मनाउँदा राजनीति र समाजसेवातर्फ सम्मान गरेको थियो। पीएलको निधनमा महानगरले सोमबार शोक बिदा दिएको छ।
जहानियाँ राणा शासनविरुद्ध कांग्रेसले गरेको २००७ सालको क्रान्तिकै बेलादेखि पीएल गणेशमानसँग निकट रहँदै आएका थिए। पीएलका एक भाइ र दुई बहिनी छन्। चाक्सीबारीमै जीवन बिताएका पीएल सिंहले विवाह भने गरेनन्।
पीएल नेपाल कमर्स क्याम्पसबाट विद्यार्थी नेता भएका थिए। २०४२ सालमा कांग्रेसले सत्याग्रह गर्दा र २०४६ सालमा आन्दोलन गर्दा पीएल नै आन्दोलनका प्रवक्ता थिए। सरल स्वभावका पीएललाई गणेशमानकै सिफारिसमा कांग्रेसले मेयरको उम्मेदवार बनाएको थियो।
काठमाडौंलाई महानगरमा रूपान्तरण गरेपछि कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले उनलाई पार्टीको केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए।
मेयर रहेका बेला गरेका लोकप्रिय कामबाट उनी काठमाडौंमा लोकप्रिय थिए। पीएल सत्ता र सुविधाको लोभमा कहिले पनि लागेनन्। त्यो समयमा नगरपालिकाले सरसफाइ र प्रशासनिक कामको जिम्मेवारी मात्र हेर्ने गरेको थियो। पीएलले आफ्नै कामका माध्यमबाट नगरपालिकालाई महानगरमा रूपान्तरण गरेका थिए।
राजनीतिक र सामाजिक रूपमा संकुचित त्यो समयमा प्रजातन्त्र आउनेबित्तिकै जिम्मेवारी लिएर उनले सुधारका काम गरेका थिए। पीएल कांग्रेसबाट उम्मेदवार भएर २०४९ मा काठमाडौं नगरपालिकाको पहिलो नगर प्रमुखमा निर्वाचित भएका थिए।
२०५६ मा कांग्रेस केन्द्रीय कार्यसमिति सदस्य भएका उनी २०५८ साउनमा शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्मा जनसंख्या तथा वातावरण मन्त्रीसमेत बनेका थिए। पछिल्ला केही वर्षयता भने पीएल पार्टी राजनीतिबाट परै बसेका थिए।
आधा झन्डा झुकाउने कांग्रेसको निर्णय
कांग्रेसले काठमाडौं महानगरपालिकाका पूर्वमेयर पीएल सिंहको शोकमा देशभरका पार्टी कार्यालयहरूमा आधा झन्डा झुकाउने निर्णय गरेको छ।
सोमबार बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले सिंहको शोकमा पुस १,२ र ३ गते पार्टी केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र सबै जिल्ला कार्यालयहरूमा आधा झन्डा झुकाउने निर्णय गरेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
कांग्रेसका पूर्वकेन्द्रीय सदस्यसमेत रहेका पीएल सिंहको आइतबार राति चाक्सीबारीस्थित निवासमै निधन भएको थियो। केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले मंगलबार केन्द्र, प्रदेश र जिल्ला कार्यालय बन्द गर्ने निर्णय पनि गरेको छ।
त्यस्तै १३ औं दिनमा काठमाडौंमा शोकसभा आयोजना गर्ने निर्णय भएको पनि मुख्यसचिव पौडेलले जानकारी दिए। सिंहले लामो समयदेखि सर्वोच्च नेता गणेशमान सिंहको निकटमा रहेर काम गरेका थिए।