धार्चे र चुमनुब्रीको सीमा विवाद सतहमा
गोरखा : उत्तरी गोरखाका दुई गाउँपालिका धार्चे र चुमनुब्रीको सीमा विवाद सतहमा देखिएको छ। चुमनुब्री गाउँपालिकाले जगतमा स्वागतद्वार बनाउने क्रममा धार्चेले यथार्थ सीमाना पत्ता लगाएर मात्र काम थाल्न आग्रह गरेपछि विवाद सतहमा आएको हो।
विवाद साम्य पार्न धार्चे ३ र चुमनुब्री ३ का वडाध्यक्षसहितको स्थानीयवासीको भेला बसेको थियो। सोे भेलामा कुनै निश्कर्ष निष्कन नसकेपछि दुवै पालिकाका अध्यक्षसहित उपस्थित भएर अर्को भेला आयोजना गर्ने गरी टुंगिएको धार्चे ३ का वडाध्यक्ष शेरबहादुर गुरुङले जानकारी दिए।
सीमा विवाद नटुंगिपछि धार्चे ३ का बासिन्दाले जगत बगरमा बालुवा उत्खनन् गर्न रोक लगाएका छन्। चुमनुब्री ३ का बासिन्दाले निजी घर तथा पाङसिङ स्वास्थ्य संस्थाको भवन निर्माण गर्न जगत बगरमा बालुवा उत्खनन गरिरहेका थिए।
भेलामा धार्चे ३ का बासिन्दाले भालुवनसम्म धार्चेको सीमाना दाबी गरेका वडाध्यक्ष शेरबहादुर गुरुङले जानकारी दिए। ‘परापूर्व कालदेखि नै दूधपोखरी खोलासम्म धार्चे ३ को सीमाना हो भन्ने बुढापाकाको दाबी छ। त्यसैले अहिले स्वागत गेट बनाउनुभन्दा अघि नै यथार्थ साँध, सीमाना टुंग्याउनुपर्छ भन्ने हाम्रो सुझाव हो’, उनले भने, ‘तर शनिबारको भेलामा समझदारी बन्न सकेन। अब दुवै गाउँपालिकाका अध्यक्ष र एमक्यापसहितको भेला बोलाउने र छलफल गरेर टुंग्याउने समझदारी भएको छ।’ हिमालदेखि दूधपोखरी खोलाको साँधसाँधै बूढीगण्डकी नदीसम्म धार्चेको सीमाना आफ्नो वडावासीले दाबी गरेको उनको भनाइ छ।
मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)ले नुर्बुभ¥याङदेखि नै मनास्लु क्षेत्र सुरु हुने भन्दै त्यहीँ साइनबोर्ड राखेको छ।
चुमनुब्रीले भने यसअघिदेखि प्रचलनमा आएको नुर्बुभ¥याङ चौतारा नै दुई पालिकाको सीमाना रहेको दाबी गरेको छ। ‘हामीले थाहा पाएदेखि नै नुर्बुभ¥याङ चौतारा साँध हो। बूढापाका पनि त्यही भन्छन्’, वडाध्यक्ष रामकुमार गुरुङ भन्छन्, ‘नक्सा हेर्दा पनि साँध त्यहाँ नै देखाउँछ। तर धार्चेका साथीहरू मान्न तयार हुनुहुन्न। सल्लेरीसम्म धार्चे हो भन्ने दाबी गरिरहेको छ।’ धार्चेको नयाँ दाबी मनासिब नभएको उनको दाबी छ।
दुवै पक्ष एक अर्काको तर्कमा सहमत हुन नसकेपछि भेला बिना निश्कर्ष टुंगिएको छ। टुंगो नलागेसम्म जगतसम्मको नदीजन्य पदार्थ (ढुंगा, गिटी, बालुवा) पनि कसैले उपभोग गर्न नपाउने समझदारी बनेको छ।