आठौं पाङ्मा कप फुटबलको उपाधि सेकाहालाई
खाँदबारी : संखुवासभाको खाँदबारी नगरपालिका–४ स्थित भगीवन्त रंगशालामा सम्पन्न आठौं आमन्त्रित पाङ्मा कप फुटबल प्रतियोगिताको उपाधि सेकाहाले हात पारेको छ । सोमबार भएको फाइनल खेलमा सेकाहाले सित्तलपाटीविरुद्ध १–० गोल अन्तरमा विजयी भएको हो ।
फाइनल खेलमा सेकाहा सामुदायिक विकास क्लब सेकाहाले सित्तलपाटी फुटबल क्वललाई शून्य गोलका विरुद्ध १ गोल अन्तरले पराजित गर्दै सेकाहा विजेता बनेको हो । पहिलो हाफसम्म ०–० गोल रहेको खेलको दोस्रो हाफमा सेकाहाले १ गोल गर्दै फुटबल प्रतियोगिताको उपाधि हात परेको छ ।
खेलको ६१ औं मिनेटमा गरेको निर्णायक गोल गरेर सेकाहालाई विजयी बनाउने संजय धिमाले म्यानअफ द म्याच घोषित भए । विजेता सेकाहाले नगद २ लाख दुई हजार दुई सय २२ रुपैयाँ, ट्रफि, मेडल, प्रमाण पत्र प्राप्त गरेको छ ।
उपविजेता सित्तलपाटीले नगद एक लाख १ हजार एक सय १ रुपैयाँ प्राप्त गरेको छ। सेमिफाइनलिष्ट दुई टिम आर्दश क्लब झापा र तुम्लिङटार स्पोटिङ क्लबले नगद २५/२५ हजार प्राप्त गरेका छन् । प्रतियोगितामा विभिन्न विधामा समेत ट्रफि, मेडल, प्रमाण पत्रले सम्मान गरिएको आयोजकले जनाएको छ ।
बिहिबारबाट सुरू भएको फुटबल प्रतियोगितामा कोशी प्रदेशका विभिन्न जिल्लाका १० क्लबको सहभागिता रहेको प्रतियोगिता संयोजक ध्यान सिंह राईले जानकारी दिए ।