नेपाल विद्युत् प्राधिकरण सञ्चालकमा केसी र पराजुली नियुक्त
काठमाडौं : नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा लक्ष्मण केसी र बलबहादुर पराजुली नियुक्त भएका छन्।
मंगलबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले धादिङ गंगाजमुना गाउँपालिका–५ का केसी र संखुवासभाका मकालु गाउँपालिका–३ का पराजुलीलाई सञ्चालक समिति सदस्यमा नियुक्त गरेको उनको निजी सचिवालयले जनाएको छ। उनीहरु चार वर्षका लागि नियुक्त भएका हुन्।
यस अगाडि नेपाल विद्युत् प्राधिकरणका सञ्चालकमा भक्तबहादुर पुन र कपिल आचार्य थिए। उनीहरुको पदावधि सकिएपछि मंगलबार नयाँ नियुक्ति भएका हुन्। यस अगाडि नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको कोटामा नियुक्त भएका उनीहरूलाई सञ्चालक समितिको मर्यादा र अनुशासन विपरीतका कार्यहरु गरेको विषयमा सोधिएको स्पष्टीकरणमा चित्तबुझ्दो जवाफ नदिएको भन्दै ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री खड्काले गत साउनमा पदमुक्त गरेका थिए। तर, सर्वोच्च अदालतले पुन:बहाली गरेको थियो।