विद्युत प्राधिकरणका समस्या र कमजोरी पत्ता लगाउन छानबिन समिति गठन भएको हो : मन्त्री खड्का
बुटबल : ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री दीपक खड्काले महसुल बक्यौता उठाउनकै लागि विद्युत लाइने काट्ने कुरा उचित नभएको बताएका छन्। बुधबारबाट बुटवलमा सुरु भएको औद्योगिक व्यापार मेलाको उद्घाटन गर्दै मन्त्री खड्काले विद्युतमा ट्रङ्क लाइन र डेडिकेटेड लाइनमा भएको विवाद सरकारले समाधान गर्ने भन्दै महसुल बक्यौता उठाउनकै लागि विद्युत लाइने काट्ने कुरा उचित नभएको बताएका हुन्।
१० वर्षदेखि थाती रहेको विषयलाई अहिले आएर उचालिएको उनको भनाई छ। उनले व्यवसायहरूले पनि आफ्नो प्रयोग गरेको विद्युत महसुल इमान्दरिताका साथ तिर्नुपर्ने धारणा राखे। विद्युत प्राधिकरणका समस्या र कमी कमजोरीसमेत छानबिन गर्नका लागि मन्त्रालयले छानबिन समिति गठन गरेको उनले बताए।
मन्त्री खड्काले वर्तमान सरकार बनेपछि १० वर्ष भित्रमा २८ हजार मेगावाट विद्युत् उत्पादन गर्ने र १६ हजार मेगावाट विद्युत् निर्यात गर्ने योजना अगाडि बढाइएको बताए।
मन्त्री खड्काले राजनीतिक अस्थिरताका कारण लगानीको वातावरण नभएको भन्ने उद्योगी व्यवसायीहरूको चिन्ताप्रति सरकार गम्भीर रहेको भन्दै ढुक्क भएर लगानी गर्न आग्रह गरे।
अन्तर्राष्ट्रिय प्रदर्शनीस्थल बुटवल मण्डपमा पुसको १८ गतेसम्म मेला आयोजना हुने आयोजकले जनाएको छ। ‘लगानी लुम्बिनीमा, समृद्धि देशमा’ भन्ने मूल नारासहित आयोजना गरिएको मेलामा ५ सय स्टल राखिएका छन्।
मेलाको ५ लाख बढीले अवलोकन गर्ने र १५ करोड बढीको कारोबार हुने अनुमान गरिएको बुटवल उद्योग वाणिज्य संघले जनाएको छ।