पौष १५ गतेभित्र सबै विभागलाई रिपोर्ट तयार गर्न एमालेको निर्देशन
काठमाडौं : नेकपा एमालेले पौष १५ गतेभित्र सबै विभागलाई विभागीय कामको रिपोर्ट तयार गर्न निर्देशन दिएको छ। केन्द्रीय कमिटीको बैठकको पूर्वसन्ध्यामा पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज बसेको केन्द्रीय विभागका प्रमुख र सचिवहरूको संयुक्त बैठकले रिपोर्ट तयार गर्न निर्देशन दिएको महासचिव शंकर पोखरेलले जानकारी दिए।
उनका अनुसार बैठकले पार्टीका विरुद्धको घेराबन्दी र आक्रमणलाई दृढतापूर्वक सामना गर्ने विषयमा छलफल गरेको छ। यसैगरी पार्टी तथा सरकारको कामलाई थप प्रभावकारी बनाउने सन्दर्भमा महत्त्वपूर्ण छलफल गरेको पोखरेलले बताए।
एमालेले ‘जनतासँग जनसंगठन अभियान’ सञ्चालन गर्ने निर्णय गरिसकेको छ। ‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान’ विषयक राष्ट्रिय कार्यशालापछि ६ बुँदे संकल्प प्रस्ताव पारित गर्दै एमालेले माघ, फागुन, चैत गरी तीन महिना वडा तहमा पुग्ने निर्णय गरेको हो। २०८२ को पार्टी सदस्यता नवीकरण २०८१ को चैत्रभित्रै गर्ने एमालेको घोषणा छ।