कांग्रेस महाधिवेशन एक वर्षपछि, रन्को अहिलेबाटै
काठमाडौं : कांग्रेस नेता शेखर कोइरालाले मंसिर १८ गते विराटनगरमा आफू निकट नेताहरूको भेला गरे। सभापति शेरबहादुर देउवा समयमै पार्टीको १५औं महाधिवेशन नगर्न आलटाल गरिरहेको आरोप लगाए। महाधिवेशनका लागि नेतृत्वमाथि दबाब बढाउन आफू पक्षीय नेताहरूलाई आह्वान गरे। त्यसअघि पार्टी सभापति देउवासँग शेखरको साउन २८ गते बसेको पार्टीको केन्द्रीय समिति बैठकमै ‘नोंकझोक’ चलेको थियो। उक्त बैठकमा शेखरको उही आरोप थियो– सभापतिजी समयमै महाधिवेशन नगर्ने पक्षमा देखिनुभएको छ। यसको छनक अहिले नै देखिन थालेको छ।’ तर, देउवाको जवाफ पनि उही छ– महाधिवेशन किन सार्ने ? सार्ने कुरै छैन। बरु, सबैजना एक भएर लागौं, समयमै महाधिवेशन गरौं।’ विधानतः ०८२ मंसिरमा कांग्रेसले १५औं महाधिवेशन गर्नुपर्छ।
१४औं महाधिवेशनमा देउवासँग सभापतिमा पराजित शेखरले महाधिवेशन केन्द्रित गतिविधि तीव्र पारेका छन्। दुईपटक देउवा सभापति बनिसकेकाले अव आफू सहजै सभापति बन्न सक्ने उनको आंकलन छ। त्यसैकारण, महाधिवेशन लक्षित भेला, बैठक, गोष्ठी सुरु गरिसकेका छन्। महाधिवेशन गतिविधि बढाउन काठमाडौंमा सम्पर्क कार्यालय खोलिसकेका छन। नेता, कार्यकर्ता, शुभेच्छुकसँग भेटघाटलाई तीव्रता दिएका छन्, नेता शेखर कोइरालाले। तर, १५औं महाधिवेशन समयमै सम्पन्न गर्न आफू प्रतिबद्ध रहेको सन्देश दिइरहेका देउवा भने शान्त देखिएका छन्। विराटनगरमा शेखरले ‘आपेक्ष’ लगाए पनि देउवाले कोइराला निवासमै ‘चिया राजनीति’ गरे।
देउवाको ‘चिया राजनीति’
सभापति देउवाले मंसिर २२ गते पार्टीको कोशी प्रदेश भेलालाई सम्बोधन गरे। तर, उक्त भेलामा शेखर अनुपस्थित थिए। शेखर अनुपस्थित भए पनि देउवाले उनकै निवास पुगेर चिया पिउने कार्यक्रम बनाए। शेखर निवास पुग्दा देउवा कार्यकर्ता माझ घेरिएका थिए। त्यहाँ पनि देउवाले भने, ‘महाधिवेशन हुने÷नहुने चिन्ता नगर्नुहोस्। समय छ। समयमै हुन्छ।’ बरु, राजनीतिको सट्टा पारिवारिक माहोलतिर कार्यकर्ताको ध्यान मोडे। ‘विराटनगर आएपछि यही बार्दलीमै बसेर चिया खाँदा छुट्टै आनन्द हुन्छ,’ देउवाले भने, ‘यो कोइराला परिवारको लोकप्रिय ठाउँ हो। मलाई पनि कोइराला निवास आइपुग्दा यही बसेर चिया पिउन मन पर्छ।’
देउवाले चिया पिउँदै घरका पुराना र नयाँ भौतिक संरचनाको कुरा गर्न थाले। बीपीपुत्र डा. शशांक कोइराला र शेखरपत्नी पुनमसँग चिया पिउँदै गफ गरे। बल्ल–बल्ल भेट्न र हेर्न पाएका कार्यकर्ता राजनीतिको कुरा गर्न चाहन्थे। तर, देउवाले भने, ‘छोडदिनुस् राजनीतिका कुरा, राजनीति जतिबेलै छ। आज यत्रो इतिहास बोकेको ठाउँमा आइएको छ।’
देउवा निकट पार्टीको प्रदेश १ सभापति उद्धव थापा भन्छन्, ‘सभापतिजी पूर्वतिर पुग्दा कोइराला निवास जान सकेसम्म छुटाउनुहुन्न। त्यहाँ पुगेपछि उहाँ राजनीतिभन्दा पनि पारिवारिक परिवेशका कुरा गर्न मन पराउनुहुन्छ।’
शशांक भन्छन्, ‘अब युवाको पालो’
पार्टीको विधानतः देउवाको यो अन्तिम कार्यकाल हो। तर, देउवाले भविष्यमा कसलाई सभापतिमा अघि सार्छन् भन्ने पनि चासोको विषय छ। शेखर र देउवाबीच ‘नोकझोक’ चलेकाले धेरैले अब देउवाको समर्थन बीपी पुत्र शशांकलाई हुने बताउन थालेका छन्। शशांकले पनि पार्टीमा अब युवा नेतृत्वको बहस सुुरु गरिसकेका छन्। केही दिनअघि शशांकले धुलिखेलमा आयोजित कार्यक्रममा भनेका थिए, ‘शेरबहादुरजी सदावहार पार्टी सभापति हुनुहुन्न। अब युवाहरू आउँछन्, उनीहरूलाई ठाउँ दिनुपर्यो। उनीहरूलाई अगाडि बढाउनुपर्यो।’ उनले अब युवाहरूलाई नेतृत्वमा ल्याउनका लागि प्रोत्साहन गर्नुपर्ने तर्क गरेका थिए।
शशांकले ६० प्रतिशत नेताहरू ४० वर्षमुनिका रहे पनि नेतृत्व र जिम्मेवारी पाका नेताले मात्रै पाउने गरेकोमा असन्तुष्टि जनाए। बीपी कोइरालाले राजीनामा दिएर कृष्णप्रसाद भट्टराईलाई पार्टी सभापतिको जिम्मेवारी दिएको घटनाबाट अहिलेको नेतृत्वले पाठ सिक्नुपर्ने शशांकको भनाइ थियो। ‘बीपी कोइरालालाई पुजेर मात्रै हुँदैन। उहाँको आर्दश बुझौं,’ शशांकले भने, ‘उहाँको पदचिह्नमा हिँडौं। कांग्रेस यत्रो बलियो शक्ति छ। तैपनि हामीले जहिले पनि अल्पमतमा हुने, अथवा गठबन्धनको सरकार हुने। हामीले आफ्नो खुट्टामा उभिएर हिँड्न सक्नुपर्छ ।’
२ गुट, अनेक उपगुट
कांग्रेसको १५औं महाधिवेशनका लागि करिब १ वर्ष बाँकी छ। तर, नेतृत्व लिनका लागि नेताहरू सक्रिय भइसकेका छन्। हाल प्रष्टरूपमा २ गुट देखिएका छन्। संस्थापन पक्षको नेतृत्व पार्टी सभापति देउवाले गरेका छन्, अर्को गुटको डा. शेखर कोइरालाले। तर, गुटभित्र अन्य गुटका हाँगाबिगा पनि निस्कन थालेका छन्। कांग्रेसको विधानअनुसार चार वर्षको फरकमा महाधिवेशन गर्नुपर्ने हुन्छ। ०७८ मंसिरमा १४ औं महाधिवेशन सम्पन्न गरेको कांग्रेसले विधानलाई आधार बनाएर एक वर्ष समय थप्न सक्छ। त्यसो भयो भने ०८३ मंसिरमा त महाधिवेशन गर्नै पर्ने हुन्छ।
कांग्रेस महामन्त्री गगन थापाले फागुन ७ देखि १० सम्म गोदावरीमा भएको महासमिति बैठकमा ०८२ मंसिरभित्रै १५ औं महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए। उक्त प्रस्तावलाई पार्टीको केन्द्रीय समिति बैठकले पारित गरिसकेको छ। पार्टी बैठक निर्णयअनुसार गयो भने १ वर्षमा पार्टी महाधिवेशन हुन्छ।
समयमै महाधिवेशन सम्पन्न गर्न महामन्त्री थापाले ०८१ साउनभित्र पार्टी विधान संशोधनका लागि सुझाव संकलन गर्ने, ०८१ असोजमा विधान महाधिवेशन गर्ने र ०८१ कात्तिकभित्र पारित विधान र अद्यावधिक क्रियाशील सदस्यको नाम केन्द्रीय निर्वाचन समितिलाई बुझाउने प्रस्ताव गरेका थिए। उक्त प्रस्ताव पनि केन्द्रीय समिति बैठकले पारित गरिसकेको छ।
कार्यतालिका भने छैन
कांग्रेसले पार्टीको १५औं महाधिवेशन ०८२ सालभित्रै गर्ने गरी कार्यतालिका भने बनाएको छैन। यद्यपि महाधिवेशन समयमै गर्ने निर्णय भने गरेको छ। वरिष्ठ नेता डा. शेखर महाधिवेशन समयमै हुनेमा आशंका व्यक्त गर्न थालेका छन्। कोइराला भन्छन्, ‘०८२ को मंसिरमा महाधिवेशन हुनुपर्छ,’ डा. शेखर भन्छन्, ‘ पार्टीका क्रियाशील सदस्यको नवीकरण, टोल, वडा, क्षेत्र, जिल्ला र केन्द्रको अधिवेशन हुने हो। त्यसको लागिनै एक डेढ वर्ष लाग्छ। नवीकरणको सुरुवात भए पनि अधिवेशनको अन्य प्रक्रियामा भने ढिलाइ छ।’
‘पार्टीलाई चलायमान बनाउने र विगतदेखि हुँदै आएको कार्यक्रमलाई समानान्तर गतिविधि भन्न मिल्दैन। पहिले–पहिले ६०–४० भन्दै हिँड्ने को हो, बुझौँ न। आफू पदमा भएपश्चात्चाहिँ पार्टी हितमा हुने कार्यक्रमलाई खेद्न मिल्दैन।’ पार्टीमा विद्रोह गरेर गुटको सम्मेलन गरेका कांग्रेसका नेता डा. शेखर कोइरालाले भने मंसिर १८ को सम्मेलनमा भनेका थिए।
गुटको प्रदेश भेलामै कोइरालाले अगाडि भने, ‘१५औं महाधिवेशन समयमा हुने छाँटकाँट देखिरहेको छैन। हामीले यसको लागि दबाब दिनुपर्ने छ। क्रियाशील नवीकरण र नयाँ सदस्यतामा अझैं समाधान गर्न सकिएको छैन।’
कांग्रेसका ३ नेताको भेटघाट सुरु
कांग्रेसभित्र विरासत बोकेका तीन शीर्ष नेता छन्। जब–जब पार्टीको महाधिवेशन आउँछ, तीन नेताको छलफल सुरु हुन्छ, त्यसले एउटा निष्कर्ष पनि दिन्छ। १५ औं महाधिवेशनको बिषयलाई लिएर यी नेता फेरि एकपटक संवादमा जुटेका छन्।
शशांक निवास महाराजगञ्जमा पूर्वउपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री प्रकाशमान सिंहको भेट भइसकेको छ। शशांक बीपी कोइराला, विमलेन्द्र महेन्द्रनारायण निधि र प्रकाशमान गणेशमानका सिंहका छोरा हुन्। उनीहरूले समान धारणा बनाएर अघि बढ्नका निमित्त आफुहरू जुटेको प्रतिक्रिया दिएका थिए। ‘हामीहरू बेलाबखत भेट गरिराख्छौं,’ शशांकले भेटबारे खोलेका थिए– भेटमा पार्टीको आन्तरिक जीवनबारे कुराकानी गर्यौं, र आगामी दिनमा पार्टीभित्र समान धारणा बनाएर सबैलाई समेट्दै जाने भन्ने विषयमा पनि छलफल भयो।’
त्यसोत कांग्रेसभित्र महाधिवेशन नजिक आएपछि यि तिनै नेताको भेटघाट बाक्लिन थाल्छ। कोइरालाले भने, ‘यो खालको भेटघाट आगामी दिनमा पनि निरन्तर हुन्छ।’
अर्जुननरसिंह केसी, नेता
तोकिएको समयभित्र महाधिवेशन होस् भन्ने अपेक्षा अहिलेको मुख्य विषय हो। खासमा ०८३ मा महाधिवेशन प्रक्रिया सकाएर ०८४ मा चुनावमा लाग्नुपर्छ। नेतृत्वहरूले त्यता ध्यान दिनुपर्ने छ। ०१८ सालदेखिको राजनीतिमा अहिलेजस्तो निराशा कहिले पनि देखिनँ। जनता कुनै पनि पक्षमा सन्तुष्ट देखिन्नन्। समयमा अधिवेशन र पार्टी बलियो बनाउन सबैको ध्यान जानुपर्ने बेला हो।
शशांक निकट एक नेताले भने ०७८ मा भएको १४ औं महाधिवेशन अघिपछि पनि उहाँहरूको भेटघाट भइरहन्थ्यो। अन्तिम समयमा गएर सहमति हुन सकेन। कोइराला केन्द्रीय सदस्य मात्रै उठ्दा सिंह र निधि भने सभापति पदमा भिडेका थिए। कोइरालाले त्यसबेला सभापतिमा शेरबहादुर देउवालाई मौन समर्थन गरेका थिए।
१४ औं महाधिवेशनमा पहिलो चरणमा कसैले पनि ५१ प्रतिशत मत ल्याएनन्। त्यसबेला शेरबहादुर देउवा, प्रकाशमान सिंह, शेखर कोइराला, विमलेन्द्र निधि र कल्याण गुरुङ उठेका थिए। अन्तिममा देउवाले नै अत्यधिक मत ल्याएर पार्टी सभापतिमा जिते।
१४औं महाधिवेशनमा कांग्रेसका प्रतिनिधि ४,७४३ जना थिए। पहिलो चरणमा ४,६७९ र दोस्रो चरणमा ४,५६४ मत खसेको थियो। १५ औं महाधिवेशनमा भने यी तिनै नेता सभापति पदका आकांक्षी छन्। सभापति देउवाले कसलाई समर्थन गर्छन् एकिन छैन। अघिल्लो महाधिवेशनमा रामचन्द्र पौडेल जस्तै देउवा पनि मौन बस्न सक्ने एकथरि नेताहरू बताउँछन। पार्टीका केन्द्रीय सदस्य रामहरि खतिवडा भने अबको महाधिवेशनमा जसलाई देउवाले सहयोग गर्छन् उसैले सभापतिमा जित्ने बताउँछन्। ‘पार्टी सभापतिजीसँग करिब ३० प्रतिशत मत छ,’ खतिवडा भन्छन्, ‘जसको सपोर्ट उहाँलाई हुन्छ। अबको सभापति उही हुने हो। त्यसैले पनि पार्टीभित्र नेतृत्वमा आकांक्षी हुनेहरू सभापति रिझाउन लागि परेका छन्।’ सभापति देउवा भने एमालेसँगको सहमतिअनुसार ०८३ असारमा प्रधानमन्त्री हुने पर्खाइमा छन्।
विधानअनुसार दुईपटक सभापति भएका देउवा अब तेस्रो पटक सभापतिपदमा उम्मेदवार हुन पाउँदैनन्। सभापति देउवाले केही दिनअघि उमेरले पनि अब आफू अवकाशमा जाने बताइसकेका छन्। देउवा आपैmं पनि अब विधान संशोधन गरेर तेस्रो कार्यकालका लागि सभापतिमा उठ्दैनन् भन्ने बुझिन्छ। खतिवडा भन्छन्, ‘शेरबहादुरजी त्यता लाग्नुहुन्न। उहाँले पटक–पटक भन्दै आउनुभएको छ। म अब पार्टी सभापतिमा उठ्दिन भनेर। अर्कोतिर एउटा व्यक्तिलाई हेरेर विधान परिवर्तन गर्ने कुरा पनि हुँदैन।’
अब हुने महाधिवेशनको तिथिमिति नै टुंगो नलागे पनि महाधिवेशन तयारीमा भने नेताहरू जुटिसकेको देखिन्छ। ‘एक पटक यसैपटक’ नारासहित १४औं महाधिवेशनमा सभापति उम्मेदवार बनेका शेखर कोइराला १५औं महाधिवेशनमा सभापति उठ्ने बताइरहेका छन्। आन्तरिक रूपमा पनि उनी तयारीमा जुटेका छन्।
महामन्त्री गगन थापा पनि सभापतिमा उठ्ने तयारीमा छन्। उपसभापति पूर्णबहादुर खड्का पनि सभापति पदमा उठ्ने तयारीमै छन्।
के चाहन्छन् देउवा ?
१५औं महाधिवेशनमा सभापति देउवा के चाहन्छन् ? र, आफ्नो उत्तराधिकारी कसलाई बनाउन चाहन्छन् ? भन्ने विषयमा देउवाले कतै मुख खोलेका छैनन्। उनी अहिले मौन गणनामै अभ्यस्त देखिन्छन्। उनको समूहबाट अहिलेसम्म देखिएका उपसभापति पूर्णबहादुर खड्का, पूर्वउपसभापति विमलेन्द्र निधि र प्रकाशमान सिंह सभापतिका दाबेदार हुन्।
डा. प्रकाशशरण महत, प्रवक्ता, कांग्रेस
सभापतिजिले फेरि पार्टी सभापति बन्नका लागि अहिलेसम्म रुचि देखाउनुभएको छैन। तत्कालीन समयमा बाँकी विषय तय हुन्छन्। अहिले जुन लहड नेतृत्व लिनका लागि देखिएको छ, त्यसैगरी पार्टी निर्माण गर्नेतर्पm भने कुनै भूमिका देखिँदैन। महाधिवेशन आउन १ डेढ वर्ष बाँकी भएको अवस्थामा अहिलेदेखि नै व्यक्तिगत दौड लगाउनुको केही अर्थ छैन। संस्थागत रूपमा देखिने गरी काम गर्यो भने पार्टीका साथीहरूले भोलिका दिनमा बुझिहाल्छन्।
त्यसो त सभापति देउवाले केही दिनअघि मात्रै विराटनगर कोइराला निवासमा पुगेका बेला सञ्चारकर्मीले सोधेको अबको तपाईंको उत्तराधिकारी को हो ? कसलाई अगाडि सार्नुहुन्छ ? भन्ने प्रश्नमा भनेका थिए, ‘कांग्रेसमा उत्तराधिकारी तोक्ने भन्ने कुरा हुँदैन। यो बेकारको कुरा हो। उत्तराधिकारीको घोषणा महाधिवेशनमा पार्टीका साथीहरूले गर्नुहुन्छ। मैले गर्ने होइन।’
देउवाले दिएको छनक सदुपयोग गर्दै शशांक
सभापति देउवाले यसअघि १४औं महाधिवेशनको आसपास भनेका थिए, ‘सभापति छाड्न परेका दिन बीपीका छोरालाई छाड्छु।’ देउवाको उक्त भनाइको चर्चा पनि कांग्रेसभित्र हुने गर्छ। सभापति देउवाबाट शशांकलाई अघि बढ्न संकेत मिलिसकेको नेताहरूबीचमा चर्चा छ।
कोइराला परिवारमै नेतृत्व लिन हानथाप
कांग्रेसको स्थापनाकालदेखि नेतृत्वमा दबदबा जमाएको कोइराला परिवारमा महाधिवेशनको रौनक सुरु भइसकेको छ। १४औं महाधिवेशनमा पनि केन्द्रीय सदस्यबाट माथि पुग्न नसकेको कोइराला परिवार १५औं मा भने सभापति पद नै हत्याउने प्रयासमा छ। जसका लागि शेखर, शशांक र सुजाता कोइराला सभापतिमा भिड्ने गरी आन्तरिक तयारीमा लागेका छन्। कोइराला परिवारमा सहमति नभए ३ जना नै सभापतिका उम्मेदवार बन्ने स्थिति देखिएको छ।
सुशील कोइरालाको नेतृत्वपछि कोइराला परिवारको हातबाट गुमेको विरासत कसरी फर्काउन सकिन्छ भन्ने ध्याउन्नमा कोइराला परिवार छ। यद्यपि सिंगो कोइराला परिवारमा भने साझा उम्मेदवार को हुने भन्नेमा सहमति जुटेको छैन। १४ औं महाधिवेशनमा कोइराला परिवारबीच एकता हुन नसक्दा कसैले पनि नेतृत्व लिन सकेनन्। १४औं मा शेखर सभापतिमा र सुजाता प्रकाशमान सिंहको समूहबाट उपसभापतिमा चुनावी प्रतिस्पर्धामा थिइन्।
निकटस्थहरूलाई उतिबेलै १५औं महाधिवेशनमा आफू सभापतिमा लड्ने भनिसकेका शेखरले अब आफ्ना भाइबहिनीलाई आपूmलाई सहयोग गर्न भन्दै कोइराला परिवारको एक मात्र सभापतिको उम्मेदवार बन्न खोजेका छन्। शेखरले साउन ४ गते बालुवाटारस्थित आफ्नो सचिवालयमा बोलाएर सुजाताको समर्थन आपूmलाई रहेको बताइसकेका छन्।
रामहरि खतिवडा, केन्द्रीय सदस्य
पार्टी सभापतिको जसलाई समर्थन हुन्छ, उसैले १५ औं महाधिवेशनमा जित्ने निश्चित छ। उहाँसँग करिब ३० प्रतिशत सपोर्ट छ। अब नेतृत्व लिनेले पञ्चायतमा गोली खाएको जस्ता तर्क राखेर निर्वाचन जित्न सकिँदैन। अब जनताले त्यसरी पत्याउन छोडिसके। पुरानाले स्याबास् कांग्रेस भनून् नयाँले क्या बात कांग्रेस भनुन् त्यस्तो कांग्रेस बनाउने नेतृत्वका लागि अहिलेदेखि तयारी गर्नुपर्छ। पछि पार्टीका साथीहरूले विश्लेषण गर्नुहुन्छ।
त्यसमा सुजाताले पनि सहमति जनाएकी थिइन्। सोही समय सुजाताले भनेकी थिइन्, ‘हामी कोइराला परिवार एकजुट हुनै पर्छ। हाम्रा अग्रजहरूले देख्नुभएको सपनालाई पूरा गर्नै पर्छ।’
उनले कोइरला परिवारमा नेतृत्व कसले लिने भन्ने विषयमा विवाद नभएको बताउँदै सुजाताले भनिन्, ‘शेखर दाले पार्टीका लागि जुन मेहनत गरिराख्नुभएको छ। त्यसकै आधारमा पनि हामी एकजुट भएरै जानुपर्छ।’ यद्यपि शशांक भने आपैmँँ सभापतिमा उठ्ने तयारीमा छन्। उनलाई देउवाले आफूलाई सघाउने आशा यथावत् राखेका छन्।
देउवासँग थापाको निकटता
महामन्त्री गगन थापाका पछिल्लो कार्यशैली प्रतिपार्टी सभापति देउवा सन्तुष्ट देखिन्छन्। असोज २ गते पार्टीको केन्द्रीय कमिटीको बैठकमा सभापति देउवाले सहकारीको रकम अपचलनमा रवि लामिछानेको संलग्नता विषयलाई जानकारीमा ल्याइदिएको प्रति महामन्त्री थापालाई धन्यवाद नै दिएका थिए।
‘सहकारीसम्बन्धी कुरा हाम्रो महामन्त्री गगनकुमार थापाले धेरै अध्ययन गरेर भन्नुभएको छ,’ देउवाले भनेका थिए, उहाँलाई धन्यवाद दिन चाहन्छु, मैले वास्तवमा पत्याएकै थिइनँ, यस्तो छ भनेर रवि लामिछानेजी त कस्तो मान्छे हुनुहुँदो रहेछ भने चलाख मान्छे, म त छक्कै परें कुरा सुनेर। तपाईंले जित्दिनुभयो, त्यसकारण धन्यवाद तपाईंलाई।’
उषा मिश्र, अध्यक्ष महिला संघ
आकांक्षी हुनु स्वाभाविक हो। जो आकांक्षी हुनुहुन्छ। उहाँहरू अहिले संगठन बनाउन लाग्ने बेला पनि हो। हिजो १४औं महाधिवेशनको निर्वाचनमा उठ्दा घोषणापत्रमा उल्लेख गरेका कुरालाई अनुशरण गर्नुपर्यो। अहिले नै कसैलाई सभापति भनेर भन्ने बेला छैन।
हत्तपत्त थापाको प्रशंसा नगर्ने देउवाले सो बैठकमा भने उच्च तहको प्रशंसा गरेका थिए। पछिल्लो समय देउवा–गगनबीच सार्वजनिक रूपमा मतभेद पनि देखिएको छैन। कांग्रेस र एमालेको गठबन्धन सरकार, सहकारी प्रकरण, र सांगठनिक विषयमा दुवै नेताहरूको धारणामा समानता देखिन्छ।
‘पार्टीका मुख्य खम्बाहरू सभापति र महामन्त्रीको एउटै विचार र तर्क मिल्दा स्वाभाविक रूपले पार्टीका गतिविधिहरू चलायमान हुन्छन्,’ प्रवक्ता डा. प्रकाशशरण महत भन्छन्।
थापा निकट अर्का एक नेताले भने, ‘महामन्त्रीजीले गरेको सहकारी प्रकरणको विषयमा संसदीय समितिको प्रतिवेदन सार्वजनिक भएपछि सभापतिजीले विश्वास गर्नुभएको हो।’
उपसभामुख इन्दिरा रानामगर प्रकरणमा पनि देउवा–गगनको मतभिन्नता देखिएन। संसद्सँग सम्बन्ध नराख्ने व्यक्तिहरूलाई अनधिकृत रूपमा अमेरिका पठाउन चिठी लेखेको विषयमा राना मुछिँदा कांग्रेसले आवाज उठाएको थियो। उक्त विषयमा पनि सभापति र महामन्त्रीको संसद्मा हस्ताक्षर उठाउने विषयमा एक मत थियो।
सभापति देउवाले छनोट गरेका राजदूत नियुक्ति गर्ने विषयमा पनि एक मत थियो। पछिल्लो समय बीआरआईको विषयमा पनि सभापति देउवाले कार्यदल सदस्यमा राखेर महामन्त्री थापालाई निर्णय प्रक्रियामा अगाडि सारेका थिए।
संस्थापन पक्षको अवज्ञा गर्दै शेखर संस्थापन पक्षको निर्देशन अवज्ञा गर्दै कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले इतर पक्षको भेला विराटनगरमा गरेका थिए। कोइराला पक्षको उक्त भेला रोक्न केन्द्रबाट निर्देशन गएको थियो।
केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले कोशीका सबै जिल्लाका सभापतिहरूलाई सर्कुलर गर्दै मंसिर २२ गते आधिकारिक प्रदेशको सम्मेलन हुने सूचनासमेत जारी गरेको थियो।
कांग्रेस प्रदेश समितिका सभापति संस्थापन पक्षमा रहेका कृष्णप्रसाद सिटौलानिकट थापा छन्। थापा नेतृत्वको प्रदेश समितिले मंसिर २२ गते पहिलो सम्मेलन गर्ने तयारीमा थियो। त्यसअगाडि नै शेखर पक्षले १८ गते प्रदेश राजधानी विराटनगरमै सभापतिहरूको भेला राखे।
संस्थापन पक्षले कार्यक्रम रोक्न निर्देशनलाई अवज्ञा गर्दै कोइराला पक्षले भने मोरङका १७ वटै स्थानीय पालिका कमिटीको आयोजनामा भेला गरेको थियो। केन्द्रले गरेको प्रदेश सम्मेलनमा शेखर सहभागी भएनन्। कतिपयले वरीयतासम्बन्धी विवादका कारण शेखर कार्यक्रममा सहभागी नभएको बताए। शेखर पक्षले पनि सभापति देउवापछि शेखरलाई बोल्न दिनुपर्ने माग राखेका थिए।