संस्कृति र संस्कार
संकृतिले यथास्थितिमा प्रदत्त विषय प्राकृत हो । प्रकृति प्रदत्त विषयवस्तुलाई आपूm अनुकूल प्रयोग, हित हुने गरी मानवले संस्कृत गर्यो, संस्कार गर्यो, काँटछाँट गर्यो, परिष्कार गर्यो, परिमार्जन गर्यो, संशोधन गर्यो। उदाहरणका लागिः काठलाई संस्कार गर्यो, आफ्नो अनुकूल ढोका, खाट, फर्निचर आदि बनायो, माटो ढुंगालाई संस्कृत, संस्कार गर्यो घर, भवन आदि बनायो, अन्न फलपूmललाई संस्कार गर्यो– भण्डारणदेखि जीवनयापनका सबै कर्म गर्यो। कुटानी पिसानी, गोडमेल, तोड्ने फोड्ने कर्मबाट वस्तुलाई परिष्कृत गरियो, परिमार्जित गरियो, संस्कृत गरियो, त्यति मात्र होइन प्रकृति प्रदत्त झर्ना, ताल, कुवा, नदी आदिलाई पर्यावरण, वातावरणदेखि जलविद्युत् गृह र जीवन उपयोगी तमाम काम विज्ञानले गरायो। मानवमा भएको दिव्य वैज्ञानिक चेतनशक्ति प्रयोग गरेर मानव आफैं सुविधासम्पन्न, सुसंस्कृतसमेत भयो।
संस्कृत साहित्यमा ‘संस्कार’ शब्द यत्रतत्र प्रयोग भएको छ। मिमांसकहरूले संस्कारलाई विधिवत् शुद्धि गर्नु भन्ने अर्थमा लिन्छन्। अद्वैतवादीहरू जीवमा हुने शारीरिक क्रिया वा शुद्धिलाई संस्कार भन्छन्। तर्कसंग्रहमा संस्कार भन्नाले स्मरणशक्तिमा पर्ने प्रभाव बुझिन्छ। वैशेषिक दर्शनले मानिसका २४ गुणलाई संस्कारका रूपमा बताएको नीतिज्ञहरू बताउँछन्– शुद्ध क्रिया र शुद्ध विचार एवं शुद्ध भावना संस्कार हो। मनुस्मृतिले संस्कार भनेको– गर्भाधानदेखि सम्पूर्ण वैदिकर्मलाई संस्कार भनेको छ। कर्मकाण्डले मन्त्रोच्चारण गरी गरिने शुभकार्यलाई संस्कार भनेको छ। व्यासगुरुले संस्कार भनेको शारीरिक शुद्धि क्रिया भनेका छन्।
साहित्यकारको दृष्टिमा संस्कार भनेको मानवीय विचारलाई प्रकट गर्ने सामथ्र्य हो। संस्कृत साहित्यमा प्रयोग भएका शब्दहरू संस्कारका अर्थमा– स्वभाव, क्रिया, छाप, प्रभाव, स्मरण, शुद्धिक्रिया, धार्मिक विधान, विचार, भावना, धारणा, संस्करण, सौजन्य, शोभा, पूर्णता, शिक्षा, संस्कृति, विलक्षणा जे देखिए पनि शुद्धिका लागि गरिने धार्मिक क्रिया कर्महरू नै संस्कार हो।
व्यक्तिका शारीरिक, मानसिक, आत्मशुद्धिका लागि परम्परादेखि गरिँदै आएका शुभ कार्यहरूलाई संस्कार भन्न सकिन्छ। सुरुमा जेसुकै विषयवस्तु पनि सभ्य र सुसंस्कृत हुन्न। पछि क्रमशः संस्कार गर्दै गएपछि सभ्य, सुसंस्कृत र परिष्कृत बन्न सक्छ। मानव उदय गर्भाधान संंस्कारदेखि मृत्युपछि सम्म गरिने वैदिक सनातनीहरूमा धेरै संस्कारहरू छन्। गर्भाधानसंस्कार, पूंसवन, सीमन्तोनयन, जातकर्म, अन्नप्राशन, कर्णभेध, चूडा, उपनयन, वेदारम्भ, समावर्तन बिबाहदेखि मृत्युपर्यन्त र त्यसपछि सम्मका कार्यहरू।
शिशुले आमाको गर्भ प्रवेश पूर्व नै गर्भाधान संस्कार गर्नुपर्ने विधान भए पनि यसलाई त्यत्ति चल्तीमा ल्याएको पाइन्न। स्त्री रजस्वलापछि ४, ६, ८, १०, १२, १४, १६ अर्थात् जोररात्रिको गर्भाधानबाट पुत्रको उदय र ५,७, ... १५ आदि बिजोर रात्रिको गर्भाधानबाट पुत्रीको उदय हुने कुरा धर्मशास्त्रहरूमा वर्णित छ। दशमास पूर्ण गरी जन्मिएको शिशुलाई संस्कारकार्यअन्तर्गत नामकरण गरिन्छ। बच्चा जन्मिएको १० दिनसम्म सुतक लाग्ने र ११ औं दिन न्वारन (हवनादि नामकरण कार्य) पछि शुद्ध हुने चलन छ। नामकर्म संस्कारमा जन्मबेला, समय, नक्षत्र हेरी कुलाचार अनुसार बाबु एवं गुरु पुरोहितबाट यज्ञादि कार्यसम्पन्न गरी नामकरण संस्कार पूरा गरिन्छ। इष्टदेव, कुलदेव, पितृदेव, नान्दीमुखी श्राद्ध आदि विधानले गरिन्छ। वर्णभेदअनुसार क्षेत्रीय भए १६ दिनमा, वैश्य भए २० दिनमा, शुद्र भए २२ दिनमा नामकरण गर्ने विधान भए पनि सबै वर्णलाई सजिलो होस् भनी ब्राह्मण कार्यअनुसार जन्मेको ११ दिनमा न्वारन कार्य सम्पन्न गर्न सकिने विधान छ।
नामकरण गर्नुको अर्थ उसको त्यस कुलमा परिचय हो। दिन, मास, ऋतु, सम्बत्सर, सूर्य आदिबाट आशीर्वाद र अमृततत्व प्राप्तितर्फ तिमी अग्रसर होऊ भनी अग्निदेवलाई साक्षी राखी यज्ञको विधिले न्वारन कार्य गरी गहुँत आदि खाएर सूतक चोख्याउने समेत कार्य गरिन्छ। नाम कर्मबाट शिशुले आयु, बल, तेज प्राप्त गर्ने सांसारिक, व्यावहारिक सिद्धितर्फ उन्मुख हुने र धर्मचतुष्ठय– धर्म, अर्थ, काम, मोक्ष प्राप्तिका चरणहरूमा प्रविष्ट हुने हुन्छ। नामबाट नै व्यक्तिले कीर्ति पनि प्राप्त गर्ने हुनाले कुल परम्पराअनुसार नाम राख्ने चलन हाम्रो संस्कार आदीम कालदेखि नै प्रचलनमा आएको देखिन्छ। नामकरण कार्यमा भद्रा विचार गर्नुपर्ने, ११ दिन भए पनि औंसी, सक्रान्ति, भद्रा, व्यतिपात, वैधृतियोगमा नामकरण निषेध भएको कुरा धर्मसिन्धुले उल्लेख गरेको छ।
त्यस्तै अपराह्न र रात्रिसमय पनि निषेध छ। संस्कार र शव्दले नै शुद्धि या पवित्रता भन्ने बुझिने हुँदा मातापिताको रज वीर्यको संयोगले बनेको पिण्ड मानव देहलाई विस्तारै त्यो मलिनताबाट, मलबाट शुद्धि गर्दैै ल्याउनुपर्छ। शुभ कर्मका लागि योग्य वनाउने क्रममा १६ संस्कारलाई मुख्य मानिएको हो। गर्भाधान, पुंसवन, सीमन्तोन्नयन, जातकर्म, नामकरण, अन्नप्राशन कार्य वीर्य दोषका निवारक हुन्। चुडा, ब्रतबन्ध, बिबाह भने आफ्नो सामाजिक योग्यता र प्रतिष्ठा कायम राख्न सहायक सिद्ध हुन्छन्।
अन्नप्राशनको सामान्य अर्थ शिशुलाई पहिलोपल्ट भात खुवाउने कार्यलाई भनिन्छ। त्यसो त अन्नप्राशन गिलो र सजिलो खाना शिशुले दाँत नउम्रिकनै पनि खाइरहेको हुन्छ। पास्नी शब्द प्राशनबाटै अपभ्रंश भएको हुनुपर्छ। अन्नप्राशन गर्ने समय छोराको भए छैटौं महिना र छोरीको भए पाँचौं महिना तोकिएको छ। यो हाम्रो संस्कारगत मान्यता हो। आमाको गर्भमा रहँदा शिशुले फोहोर खाना पनि खाएको हुन्छ।
त्यसपछि पनि खानाको संस्कार शुद्ध र परिस्कृत भएको होस् भनी अन्नप्राशनको आरम्भ गरिएको हुनुपर्छ। अन्न प्राशन गर्दा वैदिक यज्ञदेखि नान्दी श्राद्ध, पितृस्मरण गर्नुपर्ने हुन्छ। दाँत निस्केपछि सामान्यतया अन्नको अधिकारी हुने र यसक्रमले हेर्दा अन्नप्राशनको समय १ वर्षसम्म गर्न सकिने कुरा नारदपुराणमा उल्लेख छ। पाचनशक्तिको क्षमता आमाको स्वास्थ्यको स्थिति हेरेर योभन्दा घटाउन, बढाउन पनि सकिने देखिन्छ। जुन महिनामा गरे पनि विशेष साइत जुराई छोराको भए जोर र छोरीको भए बिजोर महिनामा गर्नुपर्छ।
अन्न जीवात्माको रक्षक हो। अन्नद्वारा बालकको बल, बुद्धि, तुष्टि, पुष्टि होस् भनी अन्नप्राशन गराइन्छ। आयुवृद्धि र अन्तःकरण शुद्धि गर्ने अन्नमा ब्रह्मभाव हुन्छ त्यसबाट मनमा ब्रह्मभाव वृद्धि होस् भनी कामना गरिन्छ। अन्नप्राशनमा गोरससहित मिष्ठान्नहरू हुन्छन्।
पिता, माता, गुरुद्वारा अन्नप्राशन गराइन्छ। अन्नप्राशनका बेला जीविकाका प्रतीक सरस्वतीका चिह्नहरू पुस्तक, कलम, कागज, भाँडाकुँडा, सुन, चाँदीदेखि धन, हतियार आदि राख्दा बालकले जुन सामग्री पहिलो स्पर्श गर्छ। त्यसैबाट उसले जीविकोपार्जन गर्छ भन्ने संकेतसमेत मिल्ने कुरा मुहुर्त चिन्तामणिले दिएको छ। शुभ मुहुर्तमा वैदिक मन्त्र उच्चारणसहित प्राशन गराइएको अन्नबाट शिशुको शारीरिक एवं मानसिक तेज वृद्धि हुने विश्वासका साथ विधिपूर्वक यसो गर्ने संस्कार सुरु भएको हो। पुत्रको भए आठांै महिना र पुत्रीको भए सातौं महिनामा पनि नक्षत्र, स्थान, शुद्धि गरी अन्नप्राशन गर्न हुने र पहिले कोबाट प्राशन गराउने भन्ने सम्बन्धमा घरतिर या मावलीतिरकी हजुरआमाबाट सम्भव भएसम्म प्राशन सुरु गर्ने र क्रमशः अन्यले सुरु गर्ने परम्परा रहेको छ।
धर्मसिन्धु, कर्णवेधप्रकरणले शिशुको कर्णवेध (कान छेड्ने) सकेसम्म जन्म महिनामा निषेध भए पनि जन्म महिनाको १०, १२, १६ औं दिन शुभ मानेको छ। सम वर्षमा भने निषेध छ।
पूर्वीय दर्शनमा ब्रतवन्ध संस्कारलाई जीवनको उत्कृष्ट संस्कारका रूपमा लिइन्छ। ब्रतको लागि योग्य, गुरुसेवाका लागि योग्य, मातापिता र आचार्यसेवाका लागि योग्य पार्ने ब्रतबन्ध संस्कार धार्मिक कार्यसँग जोडिएको छ। उपनयन संस्कारको नामले प्रचलित ब्रतबन्धपछि व्यक्ति ब्रह्म गायत्रीका लागि पनि योग्य हुन्छ। ब्रतबन्धपछि विशेष ब्रतमा, निष्ठामा बस्नुपर्ने भएकाले यसलाई ब्रतबन्धन भनिएको हो। र, केही नियममा बाँधिनुपर्ने भएकाले सामाजिक बन्धनमा राखी अनैतिक र उच्छृङ्खल कार्यबाट रोक्ने प्रयास स्वरुप प्राचीन ऋषिमुनिहरूले समाजलाई स्वस्थ र नैतिकवान् बनाउने प्रयासस्वरुप पनि यस्तो संस्कार आरम्भ गरेका हुन्।