अपराधको उकालो यात्रा

अपराधको उकालो यात्रा
सुन्नुहोस्

काठमाडौं : यही मंगलबार राति अछाम घर भई भक्तपुर २ बस्ने नरेन्द्रबहादुर शाहीको बसेको कोठामा नै हत्या भयो। ३१ वर्षीय शाहीलाई कर्तव्य गरी हत्या गर्ने अरू कोही नभएर आफ्नै बुवा थिए। उनका ६३ वर्षीय बुवा दिपबहादुर शाहीले सामान्य घरायसी विवादका क्रममा तरकारी काट्ने चक्कु प्रहार गरी आफ्नै छोराको हत्या गरेको आरोपमा बाबु पक्राउ परेका छन्। ३१ वर्षीय छोरा  शाहीको हत्या गरेको अभियोगमा भक्तपुर नगरपालिका–२ बस्ने अछाम कमलनगर नगरपालिका–६ हात्तीबाच घर भएका ६३ वर्षीय दिपबहादुर शाहीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो।

000

यस्तै, दाङमा श्रीमान्ले हतियार प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ। तुलसीपुर–२ भम्केस्थित एकताटोल बस्ने चित्रबहादुर बुढाथोकीले आफ्नै श्रीमतीको हत्या गरेका हुन्। घरायसी विवादका कारण टाउकोमा दाउ प्रहार गरी आफ्नै घरको कोठामा श्रीमती हस्तिकुमारी बुढाथोकीको हत्या गरेका हुन्। श्रीमतीको हत्या गरी फरार रहेका चित्रबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

000

पछिल्लो समय समाज अपराधमय भएको छ। कर्तव्य ज्यान होस कि संगठित अपराध वा जबर्जस्ती करणीका घटना नै किन नहोस् अपराधको तथ्यांक बढ्दो क्रममा छ। आर्थिक अपराध र आत्महत्याका घटनाको ग्राफ निकै अग्लो भएको छ। बैकिङ कसुर होस् या अनलाइन ठगी होस् खुव मौलाउँदै गएको छ। प्रहरी प्रधान कार्यालय नक्सालले सार्वजनिक गरेको तथ्यांक हेर्दा पनि समाजमा अपराध बढिरहेको देखिन्छ। आर्थिक वर्ष २०८१/८२ सुरु भएपछि पछिल्लो ४ महिनामा देशभर १९,४९८ वटा अपराधका घटना दर्ता भए। जसमा देशभर चार महिनामा १९२ जना व्यक्तिको कर्तव्य गरी हत्या भयो। कर्तव्य ज्यान उद्योगमा ३ सय ८२ वटा मुद्दा दर्ता भए।

 चार महिनामा देशभर जबर्जस्ती करणीका ८ सय २३ वटा घटना घटे। जक उद्योगमा १८६ वटा मुद्दा दर्ता भए। संगठित अपराधमा ३९ वटा घटना दर्ता भए। अपहरणसम्बन्धी ६५ र मानवबेचबिखनका ४५ वटा मुद्दा दर्ता भए। 

डरलाग्दो छ आत्महत्याको तथ्यांक 

प्रहरीकै डाटा हेर्ने हो भने देशभर एक वर्षमा ८ देखि १० हजार व्यक्तिले आत्महत्या गरेर ज्यान फाल्छन्। पछिल्लो चार महिनामा मात्रै देशभर २,२३६ जनाले आत्महत्या गरे। प्रदेशगत तथ्यांक हेर्ने हो भने सबैभन्दा बढी कोशी प्रदेशमा आत्महत्याका घटना घटे। कोशी प्रदेशमा ४ सय ८३ जना र लुम्बिनी प्रदेशमा ४ सय ३३ जनाले आत्महत्या गरे। आत्महत्या गर्नेमध्ये सबैभन्दा बढी १,९०१ जनाले झुन्डिएर आत्महत्या गरेका छन्। 

बैंकिङ कसुरसम्बन्धी अपराधको उकालो ग्राफ

प्रहरीको तथ्यांक हेर्ने हो भने पनि देशभर निकै मौलाएको अपराध हो बैकिङ कसुर। अनलाइन ठगी होस् या वैदेशिक रोजगारीको बहानामा हुने ठगी होस् या चेक बाउन्स अनेक प्रकारका ठगीमा बैंकको गलत कारोबार गरिएको हुन्छ। यो आव सुरु भएपछि पहिलो ४ महिनामा देशभर ४,३४९ वटा बैंकिङ कसुरका मुद्दा दर्ता भए। जसमा उपत्यकामा मात्रै २,६२९ वटा यस्ता कसुरका घटना दर्ता भएका छन्। लागुऔषधसम्बन्धी १,६१९ वटा मुद्दा दर्ता भएका छन्। यस कसुरमा पक्राउ पर्नेको संख्या २,५२६ जना रहेको छ। 

फरार भएका ४,१८२ जना पक्राउ

यो आव सुरु भएपछि विभिन्न अपराधमा संलग्न भई फरार रहँदै आएका ४,१८२ जना पक्राउ परेका छन्। अदालतको फैसला कार्यान्यवन गर्ने क्रममा यी व्यक्तिहरू पक्राउ परेका हुन्। फैसला कार्यान्वयन गर्ने क्रममा जरिवाना असुलउपर ३१ करोड बढी रकम असुली भएको छ। प्रहरीका अनुसार हरेक दिन विभिन्न अपराधमा देशभर १५८ वटा मुद्दा दर्ता हुने गर्छ। यसमा सबैभन्दा बढी सार्वजनिक हित विपरीतको कसुर छ भने, आत्महत्या, लागुऔषध, चोरी, जक क्रमशः रहेका छन्। अघिल्लो आवको तुलनामा यो आवमा ५.११ प्रतिशतका दरले अपराधका घटनामा वृद्धि भएको छ। 

१२ वटा रेड नोटिस जारी ९ पक्राउ

नेपालमा अपराध गरेर विदेश गएका वा फरार भएका व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउनका लागि यो चार महिनामा इन्टरपोलबाट १२ वटा रेड कर्नर नोटिस जारी भएको थियो। यसमध्ये ९ जना व्यक्ति विभिन्न देशमा पक्राउ गरेर ल्याइएको छ। 

सवारी दुर्घटनामा जान्छ औसतमा ७ जनाको ज्यान 

नेपाल प्रहरीका प्रवक्ता विश्व अधिकारीका अनुसार नेपालभर हुने दुर्घटनाका घटना हेर्दा औसतमा प्रत्येक दिन ७ जना व्यक्तिले सवारी दुर्घटनाका कारण ज्यान गुमाउँछन्। यो आव सुरु भएपछि देशभर ७,०४८ वटा सवारी दुर्घटना भए। जसमा ७ सय ७८ जनाले ज्यान गुमाए। दुर्घटनामा २,०६४ जना गम्भीर घाइते भए। १० हजार बढी जना सामान्य घाइते भएका छन्। देशभर हुने दुर्घटनाका घटनामा ६४ प्रतिशत बढी दुइपांग्रे सवारीसाधन दुर्घटनामा पर्ने गर्छन्। ट्राफिक उल्लंघनमा साढे ५ लाख जना कारबाहीमा परेका छन्। उनीहरूबाट करिब ४२ करोड राजस्व संकलन भएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.