हेटौंडाका आधुनिक र भुटनदेवी विद्यालय मर्ज गरिँदै
हेटौंडा : बागमती प्रदेशको राजधानी हेटौंडामा रहेर लामो समयदेखि शैक्षिक क्षेत्रमा उल्लेख्य योगदान पु¥याउँदै आएका भुटनदेवी र आधुनिक राष्ट्रिय उच्च माध्यमिक विद्यालयको एकीकरण (मर्ज) प्रक्रिया अगाडि बढेको छ ।
हेटौंडालाई शैक्षिक हबको रुपमा विकास गर्ने योजनाका साथ विद्यालय मर्जको प्रक्रिया अघि बढाइएको हो ।
दुवै विद्यालय व्यवस्थापन समितिको निर्णय, वडा कार्यालयको सिफारिससहित वडा अध्यक्ष, दुवै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकसहितको टोलीले हेटौंडा नगर प्रमुख मीनाकुमारी लामालाई आवश्यक कागजपत्र बुझाएर विद्यालय एकीकरणको प्रक्रिया अगाडि बढाउन अनुरोध गरेका छन् ।
शैक्षिक हबको रुपमा विकास भइरहेको हेटौंडामा अब भौतिक पूर्वाधारको निर्माण गरी करिब १० हजार विद्यार्थीलाई सुविधा सम्पन्न रुपमा अध्यापन गराउने उद्देश्यले विद्यालय मर्जको प्रक्रिया अगाडि बढाइएको हेटौंडा–४ का वडा अध्यक्ष नविन सिग्देलले बताए ।
उनका अनुसार हाल दुवै विद्यालयमा गरी करिब ५ हजार विद्यार्थी अध्ययन गर्छन् । हाल दुवै विद्यालयमा गरी वार्षिक रुपमा भर्ना हुन चाहने विद्यार्थीको संख्या १० हजारको हारहारीमा रहेको छ । वर्षेनी आन्तरिक परीक्षाबाट विद्यालयमा विद्यार्थी भर्ना गर्ने गरिएको छ ।
दुई विद्यालयलाई मर्ज गरेर मेघा विद्यालय बनाउने अवधारणाबारे हेटौँडा उपमहानगरपालिका पनि सकारात्मक रहेको छ । हेटौँडाका दुई ठूला विद्यालय एकीकृत गरी ‘मेघा विद्यालय’ बनाउने अवधारणा अगाडि बढेको र दुवै विद्यालय व्यवस्थापन समितिको निर्णयसहित वडाको सिफारिस लिएर नगर प्रमुखसमक्ष पुगेको टोलीलाई नगर प्रमुख लामाले यो राम्रो काम भएकोले यसलाई चाँडोभन्दा चाँडो प्रक्रियामा लगिने बताइन् ।
हाल आधुनिकमा २ हजार ८ सय र भुटनदेवीमा २ हजार २ जना विद्यार्थी अध्ययनरत छन् । आधुनिकले विद्यालयमा कक्षाकोठा अभाव हुँदा प्रत्येक वर्ष भर्नाको समयमा करिब १ हजार ५ सयभन्दा धेरै विद्यार्थीलाई भर्ना गर्न सकेको छैन । तर मर्ज भएपछि आवश्यक सबै भौतिक पूर्वाधार पुग्ने आधुनिक माविले जनाएको छ ।
गुणस्तरीय शिक्षाको हिसाबले पनि आधुनिक तथा भुटनदेवी दुवै जिल्लाका अब्बल विद्यालय भएको कारण दुवै विद्यालयमा आफ्ना बालबालिकालाई भर्ना गराउन हेटौँडाका भविभावकहरुको सधैँ भीड हुने गरेको छ ।