४ हजार ६१ विदेशी पर्यटक उपल्लो मुस्ताङमा

४ हजार ६१ विदेशी पर्यटक उपल्लो मुस्ताङमा
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

जोमसोम : सन् २०२४ को डिसेम्बर सुरुसम्ममा ४ हजार ६१ जना विदेशी पर्यटकले उपल्लो मुस्ताङको भ्रमण गरेका छन् । सन् २०२३ को बाह्र महिनामा ३ हजार ४८४ जना विदेशी पर्यटकले उपल्लो मुस्ताङको   भ्रमण गरेका थिए ।

सन् २०२३ को तुलनामा सन् २०२४ मा उपल्लो मुस्ताङ पर्यटकीय संख्या वृद्धि भएको भएपनि गतवर्षको तुलनामा यसवर्षको औसत प्रतिशत शून्य दशलव ७१ प्रतिशतले कम हो । सन् २०२३ मा उपल्लो मुस्ताङमा भ्रमण गर्ने कुल विदेशी पर्यटकको तुलनामा सन् २०२४ मा  १४ दशमलव २० प्रतिशतले वृद्धि भएको हो ।

सन् २०२३ मा ९० हजार ३५६ट जना विदेश पर्यटकले उपल्लो मुस्ताङको भ्रमण गर्दा ३ हजार ४८४ जना मात्रै विदेशी पर्यटक उपल्लो मुस्ताङ उक्लिएका थिए ।यो  मुस्ताङ भित्रिएका कुल विदेशी पर्यटक संख्याको ३ दशमलव ८५ प्रतिशत हो ।

 यस्तै,सन् २०२४ को जनवरीदेखि नाभेम्बरसम्ममा कुल १ लाख २८ हजार ९९१ जना विदशीले उपल्लो मुस्ताङको भ्रमण गर्दा ४ हजार ६१ जना अर्थात ३ दशमलव १४ प्रतिशत विदेशी पर्यटकले उपल्लो मुस्ताङको भ्रमण गरेको राष्ट्रिय प्रकृति सरक्षण कोष,अन्नपूर्ण सरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङको रेकर्डमा उल्लेख छ ।

सन् २०२३ मा सार्क राष्ट्रबाट १३९ जना र फरेनर विदेशी पर्यटक ३ हजार ३४५ जनाले उपल्लो मुस्ताङको भ्रमण गरेका थिए । यस्तै,सन् २०२४ को जनवरीदेखि नाभेम्बरसम्ममा सार्क राष्ट्रबाट २२६ जना र फरेनर विदेशी पर्यटक ३ हजार ८३५ जना उपल्लो मुस्ताङ पुगेका थिए । सन् २०२३ को तुलनामा सन् २०२४ मा  सार्क राष्ट्रबाट ८७ जना र फरेनर विदेशी पर्यटक ४९० जना वृद्धि भएको हो ।

एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले सख्यात्मक रुपमा तुलना गर्दा सन् २०२४ मा पर्यटक आगमन औसत वृद्धि भएको जानकारी दिए ।‘मुस्ताङ जिल्ला प्रवेश गरेको तथ्याक हेर्दा सन् २०२४ मा प्रतिशतको रुपमा हेर्दा कम हो,तर, सख्यात्मक तुलना गर्दा सार्क र फरेनर दुबैको संख्यामा आशिंक वृद्धि भएको पाएका छौं,’उनले भने।

यसवर्ष मुस्ताङ जिल्लामा मात्रै नभइ उपल्लो मुस्ताङमा समेत पर्यटकको औसत वृद्धि भएको हो । कार्यालय प्रमुख पौडेलले उपल्लो मुस्ताङमा पर्यटकको संख्या वृद्धि हुनुमा कोभिडको जोखिम नहुनु,अन्नपूर्ण संरक्षण क्षेत्रभित्र भ्रमण गर्ने पर्यटकका लागि अनलाइन टिकटको व्यवस्था हुनु र अन्तराष्ट्रिय सञ्चार माध्यमहरूबाट मुस्ताङ जिल्लालाई घुम्ने पर्ने पर्यटकीय सूचिमा सूचिकृत गरिनु र उपल्लो मुस्ताङको धार्मिक तथा सांस्कृतिक सम्पदा र जिवन्त मौलिक कला,रहनसहन भेषभुषाहरुको ब्यापक प्रचारप्रसार हुनु लगायतका कारणले पर्यटकको संख्या वृद्धि भएको कार्यालय प्रमुख पौडेलको दावी छ ।

हिमालपारी मुस्ताङमा विदेशी पर्यटकको संख्या बर्सेनि वृद्धि भइरहेको भएपनि निकै न्यून पर्यटकले मात्रै उपल्लो मुस्ताङको भ्रमण गर्ने गरेको पाइएको छ । उपल्लो मुस्ताङमा जिल्ला भित्रिएका मध्ये जम्मा ३ प्रतिशतले मात्रै उपल्लो मुस्ताङ पुगेर फर्किने गरेको देखिन्छ ।

उत्तरी चीनको सीमाक्षेत्र कोरलानाकासंग जोडिएको उपल्लो मुस्ताङको पृथक भूगोल,ऐतिहासिक तथा धार्मिक कलासंस्कृतिलगायत त्यहाँका पुरातात्विक भौतिक सरचना र स्थानीय रहनसहनले त्यहाँ पुग्ने पर्यटक मोहित नहुने त कुरै भएन । 

विभिन्न खोजअनुसन्धान तथा तिब्बती संस्कृतिलाई नजिकबाट नियाल्ने पर्यटकको त्यहाँ बेग्लै पंक्तिका पर्यटक हुन्छन् । उपल्लो मुस्ताङमा १४ सय वर्ष पुराना दरबार,गुम्बा,माने,छोर्तेन र स्तुपहरु अझै जिवित अवस्थामा अवलोकन गर्न सकिन्छ । लोमान्थाङ दरबार, झोङ केभ, घर गुम्बा,लुरी गुम्बा, चिउसी गुफा, कोरलानाका र त्यहाँको सुख्खा पठार भूगोल पर्यटकका लागि अर्को आर्कषण हो ।

यतिधेरै पर्यटक आकर्षित गर्ने धार्मिक तथा सांस्कृतिक एवं प्राकृतिक रमणीय स्थल रहेपनि त्यहाँ पर्यटकको कम उपस्थिती हुनुको मुख्य कारण चर्को पर्यटन रोयल्टी शुल्क हो । सन् २००० मा तिब्बती भिक्षु कर्मापा लामा कोरलानाका हुँदै भागेर भारत प्रस्थान गरेपछि उपल्लो मुस्ताङमा चीन पक्षले कडा निगरानी गर्ने गरेको छ । नाकामा पुरै तारबार र अत्याधुनिक सीसी क्यामेरा चीनले जडान गरेको छ । 

भू—राजीनितिक दृष्ट्रिकोणले निकै संम्वेदनशील क्षेत्र मानिएको उपल्लो मुस्ताङमा भिआईपी विदेशी पर्यटक बाहेक अन्य सामान्य पर्यटकले त्यहाँ पुग्ने ल्याकत राख्दैनन् । नेपाल सरकार अध्यागमन विभागले उपल्लो मुस्ताङ जाने विदेशी पर्यटकलाई १० दिनेको प्रवेशआज्ञा स्वरुप ५ सय डलर शुल्क उठाउन गरेको छ । यदी १० दिन भन्दा बढी बसेका विदेशी पर्यटकले दैनिक ५० डलरका हिसाबले जरिवाना शुल्क बुझाउनु पर्ने हुन्छ ।

गत कार्तिक १४ गते कोरलानाकामा अध्यागमन कार्यालय उद्घाटन गर्न पुगेका गृहमन्त्री रमेश लेखकलाई लोमान्थाङ गाउँपालिका र लोघेकर दामोदरकुण्ड गाउँपालिकासहित अन्य ३ स्थानीय तहका जनप्रतिनिधिहरुले उपल्लो मुस्ताङमा लगाएको निषेधित तथा नियन्त्रित क्षेत्र फुकुवा गर्न ज्ञापनपत्र बुझाएको थिए । 

उनीहरूले सके निषेधित क्षेत्र हटाउ नत्र शुल्क घटाउ भन्दै संयुक्त ज्ञापनपत्र गृहमन्त्री लेखकसमक्ष पेश गरिएको थियो । सरकारले उपल्लो मुस्ताङलाई फरक दृष्ट्रिकोणले हेर्ने गरेको र यसले उपल्लो मुस्ताङको सिंगो पर्यटन व्यवसाय र स्थानीयको आर्थिक समृद्धिमा समेत क्षति पुगेको जनाएको थियो ।

यसैगरी उपल्लो मुस्ताङका पर्यटन व्यवसायी तथा त्यहाँका स्थानीय तहले गत वर्ष मुस्ताङ आउँदा तत्कालिन गृहमन्त्री नारायणकाजी श्रेष्ठ र  जलवायु सम्वाद कार्यक्रममा सहभागी हुन आएका तत्कालिन प्रधानमन्त्री पुस्पकमल दाहाललाई समेत यस विषयमा ज्ञापन पत्रमा ध्यानार्कण गराएका थिए ।

तर, सरकारले मुस्ताङले पेश गरेको निषेधित क्षेत्र हटाउने मागसहितको ज्ञापनपत्रका सम्बन्धमा कुनै पहल नलिएको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिए । अध्यक्ष बिष्टले उपल्लो मुस्ताङका जनताको माग र चाहनालाई गम्भिर रुपमा लिनुपर्ने सुझाए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.