सिन्धुलीको फिक्कलमा स्थानीय सरकारसँग नागरिकको सवाल–जवाफ
![सिन्धुलीको फिक्कलमा स्थानीय सरकारसँग नागरिकको सवाल–जवाफ](https://annapurnapost.prixacdn.net/media/albums/sindhuli_ZwcH6VA0wo_D2l10OnGNR.jpg)
सिन्धुली : सिन्धुलीको फिक्कल गाउँपालिकामा स्थानीय सरकारका कारकारबाहीका विषयमा सरकार र नागरिकबीच सवाल जवाफ भएको छ।
गाउँपालिकाले चालु आर्थिक वर्षको प्रथम चौमासिकमा आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीय सरकारका कामकारबाही माथि नागरिक वृत्तबाट चासो राख्दै गरिएको प्रश्नमा सरकारले जवाफ दिएको हो।
स्थानीय तहमा सुशासन, पारदर्शिता र जवाफदेहितका विषयमा प्रश्न उठिरहेका बेला गाउँपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा सरकार र सहभागीबीच सवाल जवाफ भएको हो।
गाउँपालिकाको कार्यालय स्थित खाङसाङ बेसिमा गाउँपालिकाकी अध्यक्ष पार्वती सुनुवारको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागीहरूले राखेका प्रश्नमाथि गाउँपालिकाकी अध्यक्ष सुनुवार तथा प्रमुख प्रशासकीय अधिकृत डम्बर बहादुर रजन मगरले जवाफ दिएका हुन्।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रजन मगरले गाउँपालिकाको नीति तथा कार्यक्रम अनुसार चालु आर्थिक वर्षको गत साउनदेखि मंसिर मसान्तसम्म कार्यसम्पादन गरिएका विषय सार्वजनिक गरेका थिए।
प्रमुख प्रशासकीय अधिकृत रजन मगरले पूर्वाधार, शिक्षा, कृषि, स्वास्थ्य, खानेपानी, खेलकुद, रोजगार, पर्यटन सीप तथा दक्षताका साथै कर संकलन र उपयोगिता लगायतका विषयमा गाउँपालिकाले गर्दै आएका काम कारबाही, सुशासन, पारदर्शिता र जनसहभागिताका विषयमा स्पष्ट पारेका थिए।
फिक्कल गाउँपालिकाको चालु आर्थिक वर्षका लागि स्थानीय, प्रदेश र संघीय सरकारबाट ससर्तसहित ६२ करोड ५३ लाख ६३ हजार ८ सय ८० रुपैयाँ बजेट विनियोजन गरेको छ।
उनको प्रस्तुतिसंगै कार्यक्रममा सहभागीहरूले गाउँपालिकाले संचालन गरेका पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, रोजगारका सवालमा गरेका काम कारबाहीका सम्बन्धमा प्रश्न उठाउँदा गाउँपालिकाका अध्यक्ष पार्वती सुनुवार र प्रमुख प्रशासकीय अधिकृतले त्यसको जवाफ दिए।
कार्यक्रममा सहभागी नेकपा माओवादी केन्द्र फिक्कल गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर कार्कीले गाउँपालिकामा आउने बजेट र योजना कार्यान्वयन, राहत तथा अनुदान वितरण, उपभोक्ता समिति गठन, निर्माण तथा खरिदमा ठेक्का प्रकृया र गाउँबासीमा अनिवार्य प्यान लिनु पर्ने व्यवस्थाका विषयमा जिज्ञासा राख्दा गाउँपालिकाकी अध्यक्ष सुनुवारले गाउँका नागरिकले देखेका सपाना पूरा गर्ने उद्देश्यले नै स्थानीय सरकार लागि परेको र त्यसको कार्यभार पूरा गर्न गाउँपालिकालाई सवलीकरण, सुशासन, पारदर्शिता र जनसहभागिताका माध्ययमबाट ‘समृद्ध फिक्कल, सुखी फिक्कलवासी’ भन्ने नारालाई आत्मसाथ गरेर काम गर्दै आएको स्पाष्ट पारिन्।
‘गाउँपालिकामा सपना मात्र नभएर त्यसलाई पूरा गर्ने गन्तव्यतर्फ सरकार अग्रसर भएको उल्लेख गर्दै सेवा मार्फत सुशासन र सुशासनमार्फत विकास समृद्धिको योजनालाई प्राथमिकीकरण गरेर काम गर्ने गरिएको छ,’ उनले थपिन्।
अर्का सहभागी गंगाराम पहाडीले ‘एक वडा एक उत्पादन’ भन्ने अभियान तथा स्वास्थ्य चौकी निर्माण लगायतका क्षेत्रमा पालिकाले के काम गरिरहेको छ भन्ने जिज्ञासमा समेत अध्यक्ष सुनुवारले बागमती प्रदेस सरकारसँगको सहकार्यमा स्थानीय सरकार र नागरिकको २०/२० प्रतिशत र प्रदेश सरकारको ६० प्रतिशत लगानीमा एक वडा एक उत्पादन कार्यक्रम गाउँपालिकाको वडा नम्बर ५ मा सञ्चालन भइरहेको र चालु आर्थिक वर्षमै वडा नम्बर १ मा समेत उक्त कार्यक्रम लागू गर्दै स्थानीय स्तरमै रोजगारको सम्भावनालाई बढाउँदै लगिने जानकारी गराइन्।
स्थानीय नागरिकको स्वास्थ्य सुविधालाई मध्यनजर गर्दै स्वास्थ्य भवन निर्माणमा ठेकेदार कम्पनीले ढिला सुस्ती गरिएको र त्यसलाई चाँडै सम्पन्न गराउन पालिकाले ताकेता गरिरहेको उनको जवाफ छ।
मावि खाङसाङका प्रअ सूर्यप्रसाद पहाडी, मावि सालुकेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र पाख्रिन, विद्यार्थी नेता गोविन्द पहाडी, हेमकुमार आछामी लगायतले विकास निर्माण, विपद् व्यवस्थापन, शिक्षा, कृषि र रोजगार लगायतका क्षेत्रमा भएगरेर काम काबाहीका विषयमा प्रश्न तथा सुझाव राखेका थिए।
उक्त प्रश्नहरूमाथि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन मगर र अध्यक्ष सुनुवारले जवाफ दिए।
गाउँपालिकाका अध्यक्ष, वडा अध्यक्षहरू, कार्यपालिका सदस्य, वडा सदस्य, राजनीतिक दलका नेता तथा प्रतिनिधि, शिक्षक, विद्यार्थी, सामाजिक संघ/संस्थाका प्रमुख तथा प्रतिनिधि, कर्मचारी, सुरक्षा निकाय, पत्रकार लगायतको सहभागिता रहेको सार्वजनिक सुनुवाइ कार्यक्रमा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण, विपद् व्यवस्थापन, कृषि, स्वास्थ्य, शिक्षा, अवरुद्ध राजमार्ग सञ्चालनका लागि खेलेको भूमिका तथा राष्ट्रिय परिचय पत्र वितरण, घुम्ती शिविर सञ्चालन, व्यक्तिगत घटना दर्ता, भौतिक पूर्वाधार, खानेपानी, कर संकलन तथा कार्यान्वयन आवश्यक ऐन तथा नीति निर्माण लगायतका क्षेत्रमा गरिरएका कामकारबाहीका विषयमा छलफल तथा अन्तरकृया भएको थियो।
स्थानीय सरकारले कार्यसम्पादन गर्दै आएका हरेक गतिविधिहरूलाई आम नागरिक र सरोकारवालाहरूबीच सार्वजनिक कार्यक्रमका माध्यमबाट सार्वजनिक गर्नु तथा जानकारी दिनु पर्ने स्थानीय सरकार सञ्चालन ऐनमै व्यवस्था छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)