गाउँमै औषधी उपचार
बेनी : धवलागिरि गाउँपालिकाले सञ्चालन गरेको ‘दीर्घरोगीसँग अध्यक्ष’ कार्यक्रमबाट करिब नौ सय जना सर्वसाधारण लाभान्वित भएका छन्।
नसर्ने रोग पहिचान र उनीहरूको उपचारमा पहुँच बढाउने तथा जनचेतना अभिवृद्धिका लागि गाउँपालिकाको स्वास्थ्य शाखाले मंसिर २५ गतेदेखि पुस २ गतेसम्म वडा स्तरमा स्वास्थ्य शिविर सञ्चालन गरेको थियो।
सात वटा वडामा एक/एक दिनका दरले सञ्चालन गरिएको कार्यक्रम मार्फत आठ सय ७६ जना विभिन्न रोगका बिरामीहरूले सेवा पाएका धवलागिरी गाउँपालिकाको स्वास्थ्य शाखाका संयोजक सम्झना खाती कार्कीले बताइन्।
एक सय १० जना उच्च रक्तचाप, ४६ जना मधुमेह, ५१ जना दम र दुई जनाको मृगौलामा पत्थरी भएका बिरामी पहिचान भएको उनले बताइन्। ६१ जनाको पाठेघरको मुखको क्यान्सर परीक्षण गरिएकोमा शंका लागेका दुई जनालाई थप उपचारका लागि पोखरा पठाइएको छ। ५० जनाले भिडियो एक्सरे सम्बन्धी सेवा लिएका छन्।
धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले स्वास्थ्य क्षेत्रको प्रमुख चुनौती बनेको नसर्ने रोग न्यूनीकरणका साथै उपचार सेवामा पहुँच बढाउन कार्यक्रम सञ्चालन गरेको बताए।
कार्यक्रम मार्फत चिकित्सक सहितको टोलीले स्वास्थ्य परीक्षण, परामर्श, प्रयोगशाला र निःशुल्क औषधी वितरण सम्बन्धी सेवा प्रदान गरिएको छ। मुटु, मृगौला, मधुमेह, उच्च रक्तचाप लगायत रोगीहरूलाई पहिचान गर्ने र उनीहरुलाई निःशुल्क औषधी वितरण गरिएको छ।