दिगो विकासका लागि स्वदेशी प्रविधिको आधुनिकीकरण आवश्यक : शिक्षामन्त्री भट्टराई
काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले मुलुकको दिगो विकासका लागि स्वदेशी प्रविधिको आधुनिकीकरण आवश्यक रहेको बताएकी छन्।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान(नाष्ट)को ४२ औं वार्षिकोत्सवका अवसरमा बिहीबार ललितपुरमा आयोजित कार्यक्रममा मन्त्री भट्टराईले वैज्ञानिकहरूको विश्वव्यापी ज्ञान नेटवर्कमा पहुँच बढाउँदै दिगो विकासका लागि स्वदेशी प्रविधिको आधुनिकीकरणमा जोड दिनुपर्ने बताइन्।
विज्ञान, शिक्षा विद्यालयस्तरबाटै सुरु गरिएको भन्दै उद्यमशीलतामा केन्द्रित हुनुपर्ने उनको भनाई छ। उनले विद्यालयसँग सहकार्य गरेर युवाहरूको आविष्कारमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानले ध्यान दिनुपर्ने धारणा राखिन्।
नवप्रवर्तन प्रणालीहरूलाई एकीकृत गर्नका लागि अन्वेषण गर्ने सवाल नाष्टका लागि महत्वपूर्ण भएको उनको भनाइ छ। उनले राष्ट्रिय चुनौतीहरूलाई सम्बोधन गर्दै सबै नागरिकहरूको जीवनस्तरमा सुधार गर्न प्रविधिहरूको प्रयोग गर्नेबारे विस्तृत छलफल गर्दै अघि बढ्नुपर्ने उल्लेख गरिन्।
वार्षिकोत्सवका अवसरमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानले विभिन्न व्यक्तिहरूलाई पुरस्कार प्रदान गरेको थियो। नाष्टको पुरस्कार र प्रोत्साहनले प्रतिभाशाली अनुसन्धानकर्ता र आविष्कारकहरूलाई थप हौसला प्राप्त हुने मन्त्री भट्टराईले बताइन्।