विपिनको उदय

विपिनको उदय
सुन्नुहोस्

काठमाडौं : कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणमा तेस्रो स्थान हासिल गरेको छ। बिहीबार भएको दोस्रो क्वालिफायरमा जनकपुर बोल्ट्ससँग दुई विकेटले पराजय बेहोरेपछि कर्णालीले तेस्रो स्थान हासिल गरेको हो। बिहीबार कर्णाली पराजित भए पनि १६ वर्षीय विपिन शर्माले भने धेरैको मन मात्रै जितेनन्, सम्भावनाको ढोका पनि खोलेका छन्। भर्खर १६ वर्ष ५६ दिनका विपिनले विश्वका चर्चित खेलाडीलाई पेभेलियनको बाटो देखाउँदै आफ्नो क्षमता प्रमाणित गरेका छन्। 

कर्णालीले विपिनलाई ‘आइकोनिक’ खेलाडीका रुपमा टोलीमा अनुबन्ध गरेको हो। जनकपुर बोल्ट्ससँगको उद्घाटन खेलमा बेञ्चमा बसेका विपिन दोस्रो खेलदेखि लगातार ‘प्लेइङ सेट’मा परेका थिए। सुरुवाती दुई खेलमा पराजय बेहोरेको कर्णाली तेस्रो खेलदेखि लयमा फर्किएको थियो। कर्णालीको लयलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका निभाए, उनै १६ वर्षीय विपिन शर्माले। टोलीले गरेको भरोसामा खरो उत्रिएका विपिनले आठ खेलमा १३ विकेट लिँदै आफूलाई प्रमाणित गरे। विपिन सर्वाधिक विकेट लिने खेलाडीमा चितवन राइनोजका रिजन ढकालसँगै संयुक्त रुपमा तेस्रो स्थानमा छन्। 

बायाँ हाते अर्थोडक्स स्पिन बलर शर्माले बिहीबार जनकपुरको तीन विकेट लिएका थिए। चार ओभर बलिङ गरेका उनले १७ रन खर्चिंदै तीन विकेट लिएका थिए। विपिनले जनकपुरका शुभ कंसाकार, मोहमद मोसिन र जिमी निसमको विकेट लिएका थिए। विपिनले यसअघि चितवन राइनोजसँगको खेलमा एक, सुदूरपश्चिमसँग एक, लुम्बिनी लायन्ससँग एक, पोखरा एभेन्जर्ससँग एक, विराटनगर किङ्ससँग दुई, चितवन राइनोजसँग तीन र काठमाडौं गोर्खाजसँगको खेलमा एक विकेट लिएका थिए। उनले विश्व चर्चित मार्टिन गप्टिल, माइकल लेभिट, सोहेल तनभिर, बेन कटिङ, आन्द्रेस गौस, जान निकोलस लफ्टी इटन, जिमी निसम, मोहमद मोसिनलगायत विदेशी खेलाडीलाई सिकार बनाएका थिए।

कर्णालीबाट घरेलु क्रिकेट खेल्दै आएका विपिन ट्यालेन्ट हन्टमार्फत टोलीमा छानिएका हुन्। कर्णालीका प्रशिक्षक ज्ञानेन्द्र मल्लले उनको प्रतिभा देखेर नै टोलीमा भित्र्याएका थिए। कर्णालीले ‘ट्यालेन्ट हन्ट’बाट विपिनसँगै मनिष थापा, निश्चल रावल, राजप्रसाद शाह र अरविन्द घर्तीलाई छानेको थियो। त्यसपछि ‘आइकोनिक’ खेलाडीका रुपमा विपिनलाई अनुबन्ध गरेको हो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.