खर्च करोड, योजना अलपत्र
प्यूठान : करिब एक करोड रुपैयाँ खर्च भएको योजना अलपत्र परेको छ। स्वर्गद्वारी नगरपालिका–२ भिंगृकोट धर्मशालामा निर्माणाधीन पर्यटन पोखरी अलपत्र परेको हो।
चार वर्षअघि धार्मिक तथा पर्यटकीय क्षेत्र स्वर्गद्वारीलाई लक्षित गरी निर्माण थालिएको भिंगृकोट धर्मशाला पर्यटन पोखरी बजेट अभावका कारण अलपत्र अवस्थामा छ। २०७७ सालमा डिभिजन वन कार्यालय प्यूठानमार्फत ५० लाख र अर्को वर्ष पर्यटन डिभिजन कार्यलय कोहलपुर बाँकेमार्फत ५० लाख खर्च भइसकेको छ।
दुवै कार्यालयसँगको सम्झौताअनुसार भण्डारी निर्माण सेवा प्यूठानले वाटर फाउन्टेन, बाउन्ड्री वाल र जलपरीको मूर्ति राख्ने काम सम्पन्न गरेको हो। फिल्ड सम्याउने, घेराबार गर्ने, गेट निर्माण गर्ने, फाउन्टेनमा पानीको व्यवस्थापन गर्ने लगायतका काम अधुरै छन्।
स्वर्गद्वारी पुग्ने पर्यटकहरूलाई केही छिन वि श्राम गर्ने, पानी पिउने, फोटो खिच्ने गरी आकर्षकस्थलको रूपमा स्थापना गर्न खोजिए पनि बजेट अभावले अलपत्र परेको स्वर्गद्वारी नगरपालिकाका उपमेयर तथा स्थानीय मीनराज रानाले बताए। ‘पर्यटकीय क्षेत्रमा योजना अलपत्र हुँदा लाजमर्दाे भएको छ’, उनले भने, ‘पालिकासँग सीमित बजेट हुन्छ, प्रदेशमा अनुरोध गरेका छौं।’
पछिल्ला वर्षहरूमा उक्त योजनामा बजेट प्राप्त नभएकाले काम गर्न नसकिएको पर्यटन डिभिजन कार्यालय कोहलपुर बाँकेका प्रमुख टंकनाथ खनालले बताए। आगामी वर्ष सम्बन्धित पालिकाको सिफारिसमा प्रदेश सरकारमार्फत बजेट प्राप्त भएमा काम सम्पन्न गर्न सकिने उनले उल्लेख गरे। निर्माणाधीन अवस्थामा योजना अलपत्र हुँदा उक्त स्थान कुरूप देखिएको छ। निर्माण सामग्री यत्रतत्र छरिएको छ। निर्माण भएका संरचनासमेत जीर्ण बन्दै गएकोले तत्काल संरक्षण गर्नुपर्ने स्थानीयको भनाइ छ।