सुदूरपश्चिमसँगको तेस्रो अर्थात् फाइनल भेटमा जनकपुरले मार्ला बाजी?

सुदूरपश्चिमसँगको तेस्रो अर्थात् फाइनल भेटमा जनकपुरले मार्ला बाजी?

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को अब फाइनल खेलमात्रै बाँकी छ। फाइनलमा सुदूरपश्चिमपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच खेल हुनेछ। यी दुई टिमको खेल एनपीएलमा तेस्रो पटक हुनेछ।
 
लिग चरणमा सुदूरपश्चिमपश्चिम रोयल्सले जनकपुर बा्ल्ट्सलाई ७२ रनले हरायो। यी दुई टिम शीर्ष २ हुँदै पुनः पहिलो क्वालिफायरमा भेट भए, त्यहाँ पनि सुदूरपश्चिमपश्चिमले ८ विकेटले जनकपुरलाई हरायो।

 
यी दुई टिमको पहिलो सिजनको एनपीएलमा अन्तिम भेट हुँदैछ। लिग चरणमा अन्य टिममाथि आफ्नो दबदबा बनाउँदै यी दुई टिमको भेट लिग चरणमा नै निकै रोमाञ्चक बनेको थियो। सुदूरपश्चिमपश्चिम र जनकपुरको खेल समर्थकको सबैभन्दा प्रतिक्षाको खेल हुन्छ। दबदबा बनाउँदै छाप छोडेका यी दुई टिमको भेट लिग चरणमा खासै रोमाञ्चक भएन। खेल एकतर्फी बनाउँदै सुदूरपश्चिमका बलरले जनकपुरलाई ५१ रनमै प्याक गरिदिए।
 
पहिलो क्वालिफायरमा पनि सोचेजस्तो प्रतिस्पर्धा देखिएन। जनकपुरका बलरले टाइममा विकेट निकाल्न नसक्दा जनकपुरले १३९ रन जोगाउन सकेन। फलस्वरुप सुदूरपश्चिमका ब्याटरले खेललाई आफ्नो बनाए। अब यी दुई टिमको तेस्रो भेट हुँदैछ। 

तेस्रो भेटमा भने खेल प्रतिस्पर्धात्मक हुने आश गरिएको छ। दुई खेलमा निकै सहज जित निकालेको सुदूरपश्चिमको मनोबल उच्च छ। निकै तालमेल र सन्तुलन मिलेको टिम हो। सुदूरपश्चिम, जसका कारण सुदूरपश्चिमले दुई पटक जितिसकेको टिमलाई कहाँ कसरी सम्हाल्ने राम्ररी जान्दछ। जनकपुरको कुरा गर्दा, शीर्ष क्रमका ब्याटरले फाइनलमा भने सुदूरपश्चिमसँग सम्हालिएको पारी खेल्नुपर्ने हुन्छ। विशेषतः नियमित कप्तान अनिल शाह घाइते भइसकेपछि ओपनिङमा आसिफ र उनको साथमा जाने दुई ओपनर नै चल्न सकेका छैनन्। 

शीर्ष क्रम नचल्दा मध्य क्रममा आउने जेम्स निसमलाई मात्रै रन बनाउने जिम्मा दिएको जस्तो देखिन्छ। उनी एक्लैले टिमको खातामा रन भरिरहेका छन्। दोस्रो क्वालिफायरमा पनि जेम्सले फसिसकेको खेल जनकपुरको पक्षमा ल्याए। पछि भने शेर मल्लले खेललाई राम्ररी सम्हालेर खेल्दै सके। 

सुदूरपश्चिमको मिलेको लय
पहिलो सिजनको एनपीएलमा सुदूरपश्चिमपश्चिमको टिममा सबैभन्दा सन्तुलित टिम हो। बलिङ, ब्याटिङ र फिल्डिङ तिनै पक्षमा यो टिमलाई खोट लगाउने ठाउँ छैन। अन्य टिममा विदेशी खेलाडी म्याच विनर बनिरहँदा सुदूरपश्चिमको भने बराबरी देखिन्छ। ओपनिङमा विनोद भण्डारी र सैफ जैबको जोडीले राम्रो सुरुवात दिलाउँछन्। मिडल अर्डरमा दीपेन्द्र सिंह ऐरी, इशान पाण्डे, आरिफ शेख सबैको खेल टिमको जितमा उत्तिकै भागिदार हुन्छ।
 
बलिङ युनिट हेर्ने हो, भने नरेन साउदले यु-१९ एसिया कप छनोट खेलेर फर्केकै खेलमा आफ्नो दबदबा बनाए। काठमाडौं गुर्खाजविरुद्धको खेलमा उनले ५ विकेट लिँदै आफ्नो पहिचान छोडे। त्यसमा स्कट केग्गेलिनको साथ भरपुर मात्रामा भयो। पहिलो क्वालिफायरमा टिमलाई जिताउन जनकपुर बोल्ट्सविरुद्ध ५८ रनको अविजित अर्धशतकीय पारी खेलेपछि विनोद भण्डारीले भने, ‘विदेशी खेलाडी नआउँदासम्म टिम अलि कमजोर हो कि जस्तो लागेको थियो। तर, विदेशी खेलाडी आइसकेपछि सबै खेलाडी टिमलाई जहाँ चाहिने त्यहाँ फिटन हुने खेलाडी आए। जसले गर्दा टिम राम्रो बनेको छ।’

सुदूरपश्चिमको खेललाई विनोदको भनाइले न्याय दिन्छ। पछि थपिएका हर्मप्रित सिंह पनि टिमलाई चाहिँदा बलर र ब्याटर दुवै भूमिकामा उत्तिकै राम्रो देखिइरहेका छन्।

गल्तीले धरमराएको जनकपुर
जनकपुर लिगमा सुरुका ४ खेलमा अपराजित रहँदै एनपीएलमा आफ्नो पहिचान निकै राम्रो बनाएको थियो। पाँचौं खेलमा यो टिमको आत्मविश्वास सुदूरपश्चिमपश्चिमसँग ७२ रनको हारले ठेस लगायो। लगातार जित निकाल्दा टिममा कमजोरी पनि नियालिएन। जितका कारण भइरहेका फिल्डिङ तथा शीर्ष क्रमका ब्याटर नचलेको गल्ती पनि देखिएन।

सुदूरपश्चिमसँग ५१ रनमा अलआउट भएपछि यो टिमले बलियो जित दर्ता गर्नै बिर्सियो। लिगको छैटौं खेलमा काठमाडौं गुर्खाजविरुद्ध ५ विकेटको जित त निकाल्यो। तर, त्यसपछि पुनः चितवन राइनोजसँग ३२ रनको हार व्यहोर्‍यो। एक खेलमा अनिल शाह चल्दा शीर्ष क्रम केही सम्हालिएको देखियो। तर, ओपनर आसिफ शेख यो प्रतियोगितामा निकै सस्तोमा नै समेटिन्छन्। त्यसपछि आउने विदेशी खेलाडीमा जेम्स निसम नै यो टिमको रनकर्ताजस्तो देखिन्छन् । यो टिममा ब्याटिङ अलराउन्डरको कमी छैन। लाहिरु मिलान्था, शुभ कन्साकर, हर्ष थाकर र मोहम्मद मोसिन नै पनि ब्याटिङमा राम्रो कौशल राख्ने खेलाडी हुन्। तर, यी कुनै पनि खेलाडीले टिमलाई चाहिएको बेला खेल्न सकेका छैनन्। यो टिमलाई हरेक खेलमा जेम्स निसमले नै पार लगाउन खोज्छन्।
 
हुनतः यो टिममा युवा खेलाडी आकाश त्रिपाठी, अरनिको यादव, शेर मल्लजस्ता घरेलु नाम चलेका खेलाडी छन्। यी खेलाडीले खुलेर आफ्नो खेल देखाउने हो भने जनकपुर बोल्ट्स ट्रफीको दाबेदार टिम मान्न सकिन्छ। 

टिमको कमजोरी भनेको पावरप्लेमा शीर्ष क्रमका ब्याटरबाट रन आउन नसक्नु पनि एक जरुरी पक्ष हो। लिग चरणका खेलदेखि दोस्रो क्वालिफायरसम्म पावरप्लेमा शीर्ष क्रम खुल्न सकेको छैन। दोस्रो चरणको क्वालिफायरमा जनकपुरले लिगमा कमाएको एउटा महत्त्वपूर्ण अंकको अवसर थियो। शीर्ष २ मा रहँदा फाइनल खेल्ने दोस्रो मौका पायो। यो खेलमा पनि पावरप्लेमा दुवै ओपनर गुमाउँदै जम्मा २६ रन जनकपुरको बोर्डमा थियो।
 
हारबाट जनकपुरले सिक्नुपर्ने पाठमा सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको ब्याटिङ हो। शीर्ष क्रमका ब्याटरको जिम्मेवारीपूर्ण खेल र मध्यम क्रममा निसमबाहेक अरुले पनि जिम्मेवारी लिनुपर्ने छ। बलिङमा ललित राजवंशीले सुदूरपश्चिमका विदेशी बलर स्कट केग्गेलिनलाई पछ्याइरहेका छन्। स्कट र ललित दुवैले क्वालिफायरको खेल सकिँदा १६ विकेट लिएका छन्। सर्वाधिक रनकर्तामा भने जेम्स निसम तेस्रो स्थानमा छन्। उनले ८ खेलमा २४३ रन बनाएका छन्।
 
बलिङ युनिटमा ललितले उत्कृष्ट स्पेल गरिरहँदा उनलाई हर्ष थाकर, शेर मल्ल, तिव्र गतिका बलर किशोर महतोले साथ दिइरहेका छन्। पछिल्ला २ खेलमा भने किशोर निकै महँगा सावित भइरहेका छन्। खेलमा गरेका गल्तीहरूलाई नेपालका पूर्व प्रशिक्षकसमेत रहेका पुबुदु दासानायकेले फाइनलमा टिमलाई कसरी तयार पार्छन् त्यो भने शनिबार फाइनलमा देखिनेछ।
 
राष्ट्रिय टिमका दुई पूर्व प्रशिक्षकको फाइनल भेट
आसिफ शेख र दीपेन्द्र सिंह ऐरीले कप्तानको रूपमा फाइनल भेट पक्का गरिरहँदा, नेपाली राष्ट्रिय टिमका दुई पूर्व प्रशिक्षकहरूको पनि फाइनल भेट तय भएको छ। नेपालका अनुभवी पूर्व प्रशिक्षकद्वय पुबुदु दासानायके र जगत टमटाको भेट हुनेछ। फाइनलमा यी दुई प्रशिक्षकको रणनीतिको परीक्षा हुनेछ। यी दुई प्रशिक्षकले आफ्नो टिमका उत्कृष्ट ११ खेलाडीलाई मैदानमा उतार्नेछन्।
 
पुबुदु नेपाली टिमका लागि निकै सफल प्रशिक्षक हुन् भने जगत टमटाको देन पनि नेपाली क्रिकेटमा कम छैन। टमटा नेपाली युवा टिमको पनि प्रशिक्षक भइ काम गरिसकेको अनुभव राख्छन्। यी प्रशिक्षकले नेपाली युवा खेलाडीको नाडी पनि राम्ररी छामी सकेका छन्। यसकारण उनलाई फाइनलमा आफ्नो विपक्षी टिममा रहेका खेलाडीको कमजोरी पनि राम्ररी थाहा हुनेछ।
 
त्यस्तै पुबुदु दासानायके अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई चम्काउने प्रशिक्षक हुन्। २०१४ मा नेपालले पहिलो पटक उनकै प्रशिक्षणमा विश्वकप खेलेको थियो। नेपाल मात्रै नभइ उनी क्यानडा र अमेरिकाको राष्ट्रिय टिमको प्रशिक्षक भइसकेका अनुभवी प्रशिक्षक हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.