कसले पाउलान् ६२ लाखको कार ?
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को अब एक खेल मात्रै बाँकी छ। शनिबार सुदूरपश्चिम रोएल्स र जनकपुर बोल्ट्सबीचको फाइनलसँगै पहिलो संस्करणको एनपीएल सम्पन्न हुनेछ। अहिले फाइनलमा पुगेका दुई टोलीमध्ये उपाधि कसले जित्ला भन्ने मात्रै होइन, उत्कृष्ट नेपाली खेलाडीले पाउने ६२ लाखको कारको चर्चा पनि उत्तिकै छ। नेपाल क्रिकेट संघ (क्यान)ले लिग सुरु हुनु अघि नै शारदा समूहसँगको सहकार्यमा प्रतियोगिताको उत्कृष्ट नेपाली खेलाडीलाई ६२ लाखको ओमोडा ई–५ कार प्रदान गर्ने घोषणा गरेको थियो।
कार पाउने खेलाडीमा फाइनलमा स्थान बनाएको टोलीका खेलाडीको मात्रै होइन, प्रतियोगिताबाट सुरुमै बाहिरिसकेका टोलीको खेलाडीको पनि उत्तिकै चर्चा छ। नेपाली राष्ट्रिय टोलीका कप्तान एवं लुम्बिनी लायन्सका मार्की खेलाडी रोहित पौडेल, सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी, जनकपुर बोल्ट्सका स्पिनर ललितनारायण राजवंशी, चितवन राइनोजका कप्तान कुशल मल्ल, चितवनकै लेफ्ट आर्म मिडियम पेसर रिजन ढकाल र कर्णाली याक्सका ‘आइकोनिक’खेलाडी युवा स्पीनर विपिन शर्माको पनि चर्चा चुलिएको छ।
एनपीएलमा सर्वाधिक रन बनाउने नेपाली खेलाडीमा रोहित पौडेल अहिले पनि शीर्ष स्थानमा छन्। उनले लिग चरणका सात खेलमा दुई सय ७९ रन बनाएका छन्। जसमा दुई अर्धशतक पनि समावेश छ। पोखरा एभेन्जर्सविरुद्ध ९५ रन बनाएका रोहितले चितवनविरुद्धको खेलमा पनि ८० रनको अर्धशतकीय पालि खेलेका थिए। यस्तै कर्णालीसँग १०, काठमाडौंसँग आठ, जनकपुरसँग ३५, सुदूरपश्चिमसँग पाँच र विराटनगरसँग ४६ रन बनाएका थिए। उनको टोली समूह चरणबाटै बाहिरिए पनि रोहितले ब्याट र बलबाट उत्कृष्ट योगदान दिएका थिए। उनले ब्याटिङसँगै बलिङमा पनि उत्कृष्ट प्रदर्शन गरेका थिए। रोहितले सात खेलमा आठ विकेट लिँदै आफूलाई प्रमाणित गरेका थिए।
सुदूरपश्चिमका कप्तान दीपेन्द्रले बल र ब्याटबाट मात्र नभई फिल्डिङ पनि उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो टोलीलाई फाइनलमा पु¥याएका छन्। त्यही कारण उनलाई पनि कारको प्रमुख दाबेदार मानिन्छ। कप्तान भए पनि बिना दबाब खेल्ने र आवश्यक परेका बेला ब्याटिङ, बलिङ र फिल्डिङमा आफूलाई प्रमाणित गर्न सक्ने खुवीकै कारण दीपेन्द्र सर्वोत्कृष्ट नेपाली खेलाडीको हकदार हुन्। पहिलो क्वालिफायरमै जनकपुरलाई पराजित गर्दै सुदूरपश्चिमलाई फाइनलमा पु¥याएपछि त उनको चर्चा चुलिएको छ। दीपेन्द्रले आठ खेलमा एक अर्धशतकसहित दुई सय १८ रन बनाएका छन्। पहिलो खेलमै विराटनगरविरुद्ध अविजित ५७ रन बनाएका उनले काठमाडौं गोर्खाजसँग४३, लुम्बिनी लायन्ससँग ३९ रन जोडेका थिए। चितवनसँगको खेलमा एक रनमै पेभेलियन फर्किएका उनले जनकपुरविरुद्ध खाता खोल्न सकेनन् भने पोखरा एभेन्जर्ससँग २०, कर्णाली याक्ससँग ३८ र क्वालिफायरमा जनकपुरसँग २० रन बनाएका थिए। यसैगरी दीपेन्द्रले आठ खेलमा आठ विकेट पनि लिएका छन्। उनले जनकपुरसँगको क्वालिफायरमा २९ रन खर्चिंदै तीन विकेट लिएका थिए।
यसैगरी कारको होडमा रहेका अर्का खेलाडी हुन्, जनकपुर बोल्ट्सका ललितनारायण राजवंशी। एनपीएलमा आफ्नो स्पिनको जादु चलाइरहेका उनी सुदूरपश्चिमका स्कट कुगेलेइनसँगै सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा शीर्ष स्थानमा छन्। ललितले नौ खेलमा १६ विकेट लिएका छन्। ललितको मुख्य काम विकेट लिने र विपक्षी टोलीलाई कम योगफलमा रोक्न सहयोग पु¥याउने हो। उनी सुरूदेखि नै जनकपुरको मुख्य हतियार बनिरहेका छन्। ललितले एक खेलबाहेक सबैमा विकेट लिएका छन्। सुदूरपश्चिमविरुद्धको खेलमा विकेटविहीन बनेका ललितले विराटनगर, पोखरा र काठमाडौंसँगको खेलमा तीन÷तीन विकेट लिएका थिए। यस्तै चितवन र क्वालिफायर दुईमा कर्णालीसँग दुई÷दुई विकेट लिएका उनले लिग चरणमा कर्णाली, लुम्बिनी र क्वालिफायर एकमा सुदूरपश्चिमसँग एक÷एक विकेट लिएका थिए।