मुक्तिनाथस्थित भारतीय धर्मशाला खण्डहर बन्दै
जोमसोम : मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—१ मुक्तिनाथस्थित रानीपौवा बसपार्क नजिकैको भिरालो पाखोमा निर्माण भएको भारतीय धर्मशाला खण्डहर बन्दै गइरहेको छ। भारतीय दूतावासले निर्माण गरेको धर्मशाला संरक्षण तथा व्यवस्थापन कार्यमा ध्यान नपुग्दा अलपत्र परेको हो।
सुरुका तीन वर्ष सञ्चालनमा आएको उक्त धर्मशाला सञ्चालनमा सन् २०१३ देखि पूरै प्रयोगविहीन अवस्था छ। भारतीय दूतावासले मुक्तिनाथ दर्शनका लागि आउने भारतीय दर्शनार्थीलाई लक्षित गरी मुक्तिनाथ क्षेत्रमा सुविधा सम्पन्न आधुनिक धर्मशालाको निर्माण गरेको गरेको थियो। दूतावासले २ करोड ५२ लाख लागतमा झन्डै दुई दर्जन कोठा भएको धर्मशाला ६ महिनामा निर्माण सम्पन्न गरेको थियो। तत्कालीन भारतीय राजदूत राकेश सुदले सन् २०१० को जुन २० तारिखमा धर्मशालाको उद्घाटन गरेका थिए।
मुस्ताङको पवित्र धार्मिकस्थल मुक्तिनाथमा उल्लेख्य मात्रामा भारतीय दर्शनार्थी आउने गर्छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको तथ्यांकअनुसार, मुस्ताङ भित्रिएकामध्ये ८० प्रतिशत बढी भारतीय पर्यटक नै हुन्छन्। भारतका चारधामको दर्शन गरे पनि मुक्तिनाथ मन्दिरको दर्शन नगरेमा धार्मिक मोक्ष प्राप्ति नहुने विश्वास रहेको छ।
साविक जिल्ला विकास समितिले धर्मशाला लिजमा दिनको लागि सार्वजनिक रूपमै टेन्डर आह्वान गरेको थियो। त्यस समय वारागुङ मुक्तिक्षेत्र—१ का स्थानीय वीरबहादुर गुरुङले धर्मशाला चलाउन लिजमा लिएका थिए। उनले उक्त धर्मशाला तीन वर्ष सञ्चालन गरेर छोडे। धर्मशाला सञ्चालनमा स्थानीयको असहयोगका कारण धर्मशााला सञ्चालनमा चुनौती थपिएपछि त्यस समय गुरुङले धर्मशाला चलाउन नसक्ने अवस्था रहेको भन्दै पन्छिएका थिए। साविक जिल्ला विकास समितिको स्वामित्वमा रहेको मुक्तिनाथ भारतीय धर्मशालालाई साविक जिल्ला विकास समितिले २०६९ मंसिर २९ गते मुक्तिनाथ विकास समितिलाई स्वामित्व हस्तान्तरण गरेको थियो। समितिको पहलमा गत साउन १९ गते बसेको बैठकले मुक्तिनाथ धर्मशालालाई सञ्चालनमा ल्याउने निर्णय गरेको थियो ।
मुस्ताङका संघीय तथा प्रदेश सांसद, स्थानीय जनप्रतिनिधि, मुक्तिनाथ विकास समिति र विभिन्न सरोकारवाला निकायको संयुक्त बैठकले मुक्तिनाथ भारतीय धर्मशालाको सञ्चालन तथा व्यवस्थापनको जिम्मा वारागुङ मुक्तिनाथ विकास समितिलाई दिने गरी लिखित निर्णय गरिएको थियो। मुक्तिनाथ विकास समिति तथा बहुसरोकारवाला निकायले जिम्मा दिए पनि वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले मुक्तिनाथ भारतीय धर्मशाला सञ्चालन तथा व्यवस्थापनमा कुनै चाँसो नदिँदा खण्डहर बनेको हो।
मुक्तिनाथ विकास समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले मुक्तिनाथमा रहेको भारतीय धर्मशालालाई सञ्चालन तथा व्यवस्थापन गर्ने योजना रहेको जनाए। प्रजिअ भुसालले मुक्तिनाथ विकास समिति पुनर्गठन भइसकेको र अब समितिमार्फत धर्मशाला सञ्चालन तथा व्यवस्थापन समिति गठन गरेर प्रयोगमा ल्याउने आफ्नो योजना रहेको सुनाए। ‘समितिको बैठक बसेको छैन, धर्मशाला सञ्चालन गर्ने एजेन्डा पनि छ’, प्रजिअ भुसालले भने, ‘अहिल्यै यो हुन्न भन्न मिल्दैन, तर समिति धर्मशाला सञ्चालन गर्नुपर्छ भन्ने मान्यता राख्दछ।’
प्रजिअ भुसालले स्थानीय पालिका र मुक्तिनाथको होटल व्यवसायीको सहयोगमा भारतीय धर्मशालालाई सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाए। मुक्तिनाथस्थित रानीपौवा बसपार्कमाथि करिब ५० मिटरको दूरीमा निर्माण गरिएको धर्मशालामा रिसेप्सन कोठा १, रिसेप्सन बैठक कक्ष १, एटेज बाथरुम १०, नन् एटेज ८, किचन कोठा १, डाइनिङ हल १ र सुरक्षागार्ड कोठा १ लगायतका भौतिक सरचना निर्माण गरिएको छ। रंगीन जस्ताले छाएको उक्त भारतीय धर्मशालामा शुद्ध शाहाकारी भोजनालय र सुविधा सम्पन्न आवासको डिजाइनमा निर्माण गरिएको थियो।
भारतीय दर्शनार्थीलाई लक्षित गरी निर्माण गरिएको भए पनि त्यहाँ सबै खालका दर्शनार्थीलाई खान र बस्नको व्यवस्था मिलाइएको थियो। धर्मशालाको चारैतिर दर्शनार्थीको सुरक्षाका लागि कम्पाउन्ड घेराबार लगाएको छ। भारतीय दूतावासले धर्मशाला निर्माण सम्पन्न गरी साविक जिल्ला विकास समिति मुस्ताङलाई संरक्षण तथा व्यवस्थापन गर्ने गरी हस्तान्तरण गरिएको थियो।