जोमसोममा आमा सम्झिने ‘मातृचक्र’
जोमसोम : मुस्ताङको घरपझोङ गाउँपालिका जोमसोममा आमाको यादलाई ताजा गराउने ढुंगैढुंगाले निर्माण गरिएको मातृचक्र अवस्थित छ। सन् २००८ मा अस्ट्रेलियाका मूर्तिकार एन्ड्रयु रोजर्सले निर्माण गरेका ‘रिदम अफ लाइफ’ अर्थात् भुलभुलैया (जीवन रेखा) विन्डिङ पाथलाई घरपझोङ गाउँपालिकाले केही महिनाअघि मात्रै आमा सम्झिने मातृचक्र नामले नामकरण गरेको हो।
जोमसोमस्थित सशस्त्र प्रहरी बल ३३ नं. गुल्मनजिकै दक्षिणतर्फ सक्खर माटोरूपी पहाडको फेंदमा अस्ट्रेलियन मूर्तिकार रोजर्सले रिदम अफ लाइफ नामका २ वटा विन्डिङ पाथ ल्यान्ड आर्ट निर्माण गरेका थिए। मुस्ताङको जोमसोमस्थित जनहित युवा क्लबको समन्वयमा सयौं स्थानीय नागरिकहरू परिचालन गरी रोजर्सले उक्त ल्यान्ड आर्ट कला प्रस्तुत गरेका थिए।
मूर्तिकार रोजर्सका विश्वका धेरैजसो राष्ट्रका यस प्रकारका मौलिक कलात्मक विन्डिङ ल्यान्ड आर्ट निर्माण गरिसकेका छन्। मुस्ताङको जोमसोममा झन्डै दुई महिनासम्म अवधि खर्चिएर रोजर्सले दुई वटा पृथक् पृथक् प्रकारका विन्डिङ पाथ चक्र निर्माण गरेका थिए। उक्त भूकला चक्र निर्माण गरेपछि मूर्तिकार रोजर्सले हेलिकोप्टरबाट समेत त्यसको श्रव्यदृश्य फोटो तथा भिडियो कैद गरेका थिए। रोजर्सले जोमसोममा उक्त पूर्वाधार निर्माण गरेपछि कुनै पनि निकायलाई हस्तान्तरण नगरी त्यसै छाडेका थिए।
रिदम अफ लाइफ एउटा गोलाकार र अर्को केही भिन्न प्रकारको ल्यान्ड आर्ट थियो। सन् २००८ मा निर्माण गरिएको रिदम अफ लाइफ संरक्षणको अभावमा एक पूरै जीर्ण बनेर मासिएको छ। अर्को गोलाकार ढुंगैढुंगाले बनेको रिदम अफ लाइफ पनि भग्नावशेष अवस्थामा पुगेको थियो। जोमसोम बजारबाट अवलोकन गर्दा निकै आकर्षक र मनमोहक देखिने रिदम अफ लाइफ भूकला वाल सरक्षणविहीन बनेपछि त्यसको संरक्षण, संवद्र्धन र प्रवद्र्धनमा अध्यक्ष लालचनको अगुवाइमा सिंगो घरपझोङ गाउँपालिका जुटेको छ। मूर्तिकार रोजर्सले निर्माण गरेको जोमसोममा अवस्थित भूकलात्मक पर्खाललाई १६ वर्षपछि घरपझोङ गाउँपालिकाले संरक्षणको पहल थालेको हो।
लाखौं रुपैयाँ खर्चिएर विदेशी मूर्तिकला कलाकारले निर्माण गरेर त्यसै छाडेको भूकला रिदम अफ लाइफको वाल मर्मत तथा स्तरोन्नति र आवश्यक रंगरोगनका लागि घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले आफ्नो व्यक्तिगत तलब भत्ता खर्चिएर जीर्णोद्धार गरेका हुन्। गाउँपालिका अध्यक्षले लालचनले संरक्षणको अभावमा जीर्ण हुँदै गइरहेको रिदम अफ लाइफलाई स्तरोन्नति गरी पर्यटकीय गन्तव्यको रूपमा पुनर्जीवित गर्ने प्रयास गरेको घरपझोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बेदहरि अधिकारीले जानकारी दिए।
प्रमुख प्रशासकीय अधिकृत अधिकारीले पालिका अध्यक्षज्यूको निजी खर्चले ढुंगैढुंगाको चक्र वाललाई मर्मत सम्भार तथा रंगरोगन गरी चिटिक्क पारिएको बताए।
रोजर्सले निर्माण गरेको रिदम अफ लाइफलाई घरपझोङ गाउँपालिकाले आमा सम्झाउने ‘मातृचक्र’को नामले पर्यटकहरू माझ परिचित गराउन खोजेको हो। अहिले गाउँपालिकाका प्रमुखको निजी खर्चमा मातृचक्रको भित्र र बाहिर पूरै रंगरोगन गरिएको छ। गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले रिदम अफ लाइफ चक्रलाई मातृचक्रको नाम दिएका छन्। मुस्ताङ आउने पर्यटकले उक्त मातृचक्र भित्र एक पटक परिक्रममा गरेमा आमाप्रतिको श्रद्धा र भक्तिभाव पूरा हुने गरी धार्मिक तथा आध्यामिक आस्थाको केन्द्र बनाउने पहल गरेको हो।
‘जब म भगवान् शब्द सुन्छु, मेरो आँखामा तिमै्र तस्बिर आउँछ आमा, संसारमा हरेक चिज गुमाएपछि अर्को पटक पनि पाउन सकिन्छ, तर जन्मदिने आमा कहिल्यै पाउन सकिँदैन, आमा हुनेहरू कहिल्यै गरिब हुँदैनन् जस्ता थुप्रै आमाप्रति श्रद्धाभाव प्रकट गरिएको स्लोगन लेखिएका होर्डिङ बोर्डहरू टाँस गरिएको छ।
मातृचक्र भित्र प्रवेश गरेर एक फन्को लगाएमा आमाप्रतिको सबै कर्तव्य र दायित्व अनि आमाप्रतिको श्रद्धाभाव पूरा हुने उल्लेख गरिएको छ। ढुंगाढुंगाले निर्माण गरिएको रिदम अफ लाइफउर्फ मातृचक्रको कुनै पनि ढुंगामा आमा शब्द लेखेर छोडेमा आमाप्रतिको श्रद्धाभाव प्रकट हुने जनाइएको छ।
घरपझोङ गाउँपालिका अध्यक्षद्वारा स्तरोन्नति, रंगरोगन र आवश्यक संरक्षण गरी आमा सम्झिने मातृचक्र नामले नामकरण गरिएपछि मुस्ताङ भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटक त्यहाँ पुग्ने गरेको पाइएको छ। आमालाई श्रद्धाभाव प्रकट गर्दै मातृचक्र परिक्रमा गरेर पृथक् प्रकारको अनुभूतिी् लिन दैनिक दर्जनांै पर्यटक त्यहाँ पुग्ने गरेका छन। बेनी—जोमसोम मुख्य सडकबाट नजिकै तीन सय मिटर दूरीमा अवस्थित आमा सम्झिने मातृचक्रले भावी दिनमा थप पर्यटक प्रवद्र्धनमा ठूलो योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ। मुक्तिनाथ दर्शन र कोरलानाका पुगेर फर्किएका पर्यटक एक पटक जोमसोमको आमा सम्झिने मातृचक्रमा पुग्ने गरेको पाइएको छ।
घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले पर्यटन प्रवद्र्धनका लागि आमा सम्झाउने मातृचक्रले महŒवपूर्ण योगदान दिने दाबी गरे। ‘वर्षौंवर्षसम्म संरक्षणको अभावमा जीर्ण बनेको सम्पत्तिको अव्यस्त सम्पत्तिलाई हामीले संरक्षणको प्रयास गरेका हौं, कसले बनायो, किन बनायो भन्नुभन्दा पनि यसको दिगो व्यवस्थापन र संरक्षण महŒवपूर्ण पाटो हो, अध्यक्ष लालचनले भने, ‘सार्वजनिक सम्पत्तिको रक्षा गर्ने दायित्व स्थानीय तहको हो, हामीले यसलाई नयाँ नाम दिएर पर्यटनसँग जोड्ने प्रयास गरेका हौं।’
पर्यटक लोभ्याउने घरपझोङ ‘मातृचक्र’मा एक फन्को परिक्रमा लगाउन करिब ३० मिनेटदेखि ४५ मिनेट समय लाग्छ। करिब ५० मिटर क्षेत्रफलमा गोलाकार मातृचक्र फेरो लगाउँदा अनौठो महसुस हुन्छ। गोलाकार मातृचक्रभित्र ढुंगैढुंगाको पर्खाल निर्माण गरेर चक्र घुम्ने माटो निर्माण गरिएको हो। सुरुमा जुन स्थानबाट चक्रभित्र प्रवेश गरिन्छ, चक्र परिक्रमा गर्दा सोही स्थानबाट बाहिरने भएकाले पनि घरपझोङ मातृचक्र पर्यटकका लागि अनौठो महसुस हुन्छ।