प्रसारण लाइनको ५ वर्षअघि ठेक्का, विस्तार हुनेमा अझै अन्योलता
रमेश बस्ताकोटी
नवलपुर : नवलपुरको बुलिङटार–४ अर्खलामा नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइन विस्तारमा लापरबाही भएको छ। प्रसारण लाइन विस्तार गर्न पाँच वर्ष अगाडि नै ठेक्का लागे पनि अझै लाइन विस्तार हुन सकेको छैन। त्यसैकारण, अधिकांश गाउँका बासिन्दा अँध्यारोमा बस्न बाध्य छन्। विद्युत् प्राधिकरण कावासोती वितरण केन्द्र र ठेकेदार कम्पनी युनिकर्न सप्लायर्सका बीचमा विवाद हुँदा नागरिक मारमा परेका हुन्।
बुलिङटार गाउँपालिका– ४ का अधिकांश गाउँमा राष्ट्रिय प्रसारणको लाइन अझै पुग्न सकेको छैन। प्रसारण लाइनको बिजुली नपुग्दा अधिकांश गाउँ अँध्यारोमै रहेको वडाध्यक्ष मीनबहादुर आलेमगरले बताए। गाउँमा स्थानीय स्तरबाट सञ्चालित दुईवटा लघुजल विद्युत् परियोजनाबाट बल्लबल्ल नागरिकले रातको समयमा बत्तीसम्म बाल्न पाएका छन्। त्यो पनि नियमित नहुँदा अधिकांश समय यहाँका नागरिक अँध्यारोमा बस्न बाध्य भएको वडाध्यक्ष आलेमगरले बताए। ‘लघुविद्युत्ले कामनै गर्दैन, कहिलेकाहीँ मात्र आउँछ, नागरिक अधिकांश समय अँध्यारोमा बस्न बाध्य छन्’, आलेमगरले भने। उनले राष्ट्रिय प्रसारण लाइन जडानका लागि पटकपटक पहल गर्दा पनि सुनुवाइ नभएको सुनाए। ‘पाँच वर्ष अगाडिदेखि नै काम सुरु भएको हो, अहिलेसम्म बिजुली दिने सुरसार छैन’, उनले भने।
बुलिङटार गाउँपालिका—४ अर्खलामा रहेको सेतीनाग माध्यमिक विद्यालयका प्रधानाध्यापक खेम सुस्लिंगले गाउँमा राष्ट्रिय प्रसारणका लाइन नआउँदा नागरिकको दैनिकी कष्टकर बनेको बताए। उनले राष्ट्रिय प्रसारणको लाइन आउने भनेकोे धेरै समय भए पनि ढिलासुस्ती भइरहेको प्रति गुनासो गरे। ‘धेरै पहिलेदेखि नै राष्ट्रिय प्रसारण लाइन जोडिन्छ भनिएको हो, अहिलेसम्म आउन सकेको छैन। नागरिकले निकै सास्ती खेप्नु परेको छ’, सुस्लिङको भनाइ छ। सुस्लिङले प्राधिकरण र ठेकेदारको विवादले जनताले दुःख पाउन नहुने बताए।
ठेकेदार कम्पनीले भुक्तानी नपाएका कारण लाइन विस्तारको काम गर्न नसकिएको बताउँछ, तर प्राधिकरण त्यो कुरालाई स्विकार गर्दैन। ठेकेदार कम्पनी युनिकर्न सप्लायर्सका सञ्चालक हरि खड्काले विद्युत् कार्यालयबाट भुक्तानी नहुँदा नियमित काम गर्न नसकेको बताए। उनले भने , ‘हामीले भुक्तानी नपाएर काम रोकिएको हो। भुक्तानी भएपछि काम सुरु हुन्छ।’ खड्काले भुक्तानी प्राप्त भए दुई महिनाभित्र काम सकिने बताए।
नेपाल विद्युत् प्राधिकरण कावासोती वितरण केन्द्रका सहायक इन्जिनियर दिनेश श्रेष्ठले भने भुक्तानीको कुनै समस्या नभएको बताए। उनले ठेकेदारले भुक्तानीको विषय देखाएर काम रोक्नु पर्ने अवस्था नै नभएको बताए। ‘कामनै सम्पन्न नगरी भुक्तानी दिन मिल्दैन, त्यो क्षेत्रको काम नै भएको अवस्था छैन, भुक्तानी दिने भन्ने कुरानै आउँदैन’, श्रेष्ठले भने। उनले पटकपटक ताकेता गरेर पत्रचार गरे पनि ठेकेदार सम्पर्कमा नआएको बताए। ‘ठेकेदार कम्पनीले काम अलपत्र पारेर हिँडेको छ। स्थानीयको व्यापक गुनासो छ। काम अलपत्र भएको अवस्थामा भुक्तानी दिने भन्ने नै हुँदैन’, श्रेष्ठले भने।
विद्युत् पोल तारलगायतका सामग्रीहरू अर्खलामा डम्पिङ गरेर राखिएको छ। यो क्षेत्रमा राष्ट्रिय प्रसारणको लाइन वितरणको ठेक्का युनिकर्न सप्लायर्सले पारेको थियो। पाँच वर्ष अघिनै ठेक्का स्विकृत भएर काम भए पनि अहिले पोल गाड्ने र तार विस्तार गर्ने काम हुन नसकेको हो। विद्युत्, तार र पोलहरू बाटोमानै अलपत्र अवस्थामा भेटिन्छन्।
स्थानीय भूपाल लुंगेलीले ५ वर्षदेखि तार र पोल हेरेरै बस्न स्थानीय बाध्य भएको बताए। उनले बिजुली आउँछ भन्ने आशमा धेरै वर्षदेखि कुरिरहे पनि अनेक विवादका कारण काम नहुनु दुःखद् भएको बताए। ‘स्थानीय मजदुरले पैसा पाएका छैनन्, भुक्तानी नभएर काम नभएको भन्ने छ। हामीलाई बिजुली चाहिएको छ, अरु विवाद हैन’, उनले भने।
बुलिङटार गाउँपालिका-४ को उपल्लो अर्खला, तल्लो अर्खला, ढुंग्रे, सिङचाङ, सुनाथुम्की, घरेलुडाँडा, बंकटा, पाएसडाँडालगायतका गाउँमा अझै राष्ट्रिय प्रसारणको लाइन पुग्न सकेको छैन। यहाँका देउसत खोला लघुजलविद्युत् आयोजना, देवचुली पानीघाट लघुजलविद्युत् आयोजनाबाट अनियमित रूपमा रातिको समयमा मात्र गाउँलेले बत्ती बाल्दै आएका छन्।