लेखन कुञ्ज अब प्रज्ञा प्रतिष्ठान

लेखन कुञ्ज अब प्रज्ञा प्रतिष्ठान

हरेक मानिस आफैंमा किताब हो। अर्थात् हरेक मानिस एउटा नलेखिएको किताब हो, उपन्यास हो, चलचित्र हो। देख्न र लेख्न सक्यो भने उसभित्रका कथाव्यथा, उसले भोगेको जीवन र ऊसँग जोडिएको जगत्का अन्तर्य, बन्छन् कथा, कविता, गीत, संस्मरण, नाटक, उपन्यास र चलचित्र। खोतल्न जान्नु र सक्नुमात्र पर्छ, बन्छन् साहित्यका एक होइन, अनेक पुस्तक। समयले उनलाई यस्तै सिकायो। र, बनायो हरेक मानिसको जीवन–कथा लेखेर किताब बनाउने सर्जक।

क्रमश: तत्तत् मानिसलाई लेखक पनि बनाए उनैले। सुवर्ण अवसर दिए आफू ‘घोस्ट राइटर’ बनेर अरूलाई जिन्दगीको सुनौलो इतिहास रच्ने। उनी फेरि यतिमै सीमित भएनन्, बरु बने सोचका सर्जक र बनाए अन्य थुप्रै सर्जकलाई ‘घोस्ट राइटर’ र लेखाए सयौंको जीवन–कथा। उनै सञ्चारकर्मी अनि सर्जक कमल ढकाल आज एउटा यस्तो सम्बन्ध सेतु बनेका छन्, जसका कारण ५ सय २७ मानिस लेखक बने। जसका कारण अक्षरहरू पनि तयार भए, तिनका मुस्कान र आँसुका साक्षी बन्न अनि इतिहास लेखिन पनि। हो, लेखिए मनभरि भए पनि हिजोसम्म मौन बनेर गुपचुप रहेका उनै मानिसका जीवनका उकाली–ओराली, आरोह–अवरोह, सुख–दु:ख, उज्याला अनि अँध्यारा पाटाहरू।

कलममा रमाएका कमल : ‘विश्वमा दुई शक्ति छन्– एक हो, तरवार र अर्काे हो, कलम।’ पाकिस्तान देशका संस्थापक मुहम्मद अली जिन्नाको भनाइ हो यो। सबैले देखेजानेकै हो, एउटा मानिसले यी दुईमध्ये जुन पनि समाएर अघि बढ्न सक्छ जीवनमा। कडा मन भएकाले तरवार समाउला तर कोमल मन भएकाले कलम। कमलले कलम समाए।

विश्व परिवेश नियाल्यौं भने अहिले यी दुई (खुकुरी र कलम) बीच ठूलो प्रतिस्पर्धा छ। ‘...तर तिनीहरूभन्दा बढी शक्तिशाली तेस्रो शक्ति छ, त्यो हो महिलाहरूको शक्ति’ नेता र वकिलसमेत रहेका जिन्नाले भनेको यो वाक्य कमलको जीवनमा उत्तिकै सार्थक देखिन्छ। कारण स्पष्ट छ घाम लाग्दा छर्लंग देखिने हिमाल झैं। अर्थात्, उनीमार्फत देखिएका सबै परिणामको ‘ब्याकअप’ अर्थात् उनकी जीवनसंगिनी सिर्जना भण्डारी।

समयले कमललाई शब्दसँग साक्षात्कार गरायो। सर्जक हतारको साहित्यमा मात्र सीमित छैन। सन्दर्भ फरक होला, हतारको साहित्य अर्थात् पत्रकारितामा पत्रकार पनि ‘सर्जक’ बन्नु अनिवार्य छ। बन्छ र त उसले समाचार, लेख, आलेख लेख्छ अनि लिन्छ अन्तर्वार्ता। लिएको अन्तर्वार्तालाई लेख्नु पनि सिर्जना नै हो। यो सबै गरे कमलले नेपाल समाचारपत्रमा पसेर।

जो फाली बनेर पस्न खोज्छ, उसले प्रवेश नपाउन सक्छ तर जो सियो बनेर पस्छ ऊ फाली बनेर निस्कन भने सक्छ। पत्रकारितामा उनी सियो अर्थात् स्ट्रिङगर बनेर पसे। रिपोर्टर बने, पेज एडिटर भए। लेख्दालेख्दै उनले आफूलाई यसरी माझे कि दाउराले डढाएको कालो कराई माझ्दा जसरी चम्किन्छ, उज्यालिन्छ।

कमलको कलम तिखारियो र बने किताब लेखक। सक्षम भएपछि अवसरले आफैं ढोका खोलिदिन्छ। ‘गो अहेड’ कोलम पढिरहन्थे कर्ण शाक्य कमलको। उनलाई ‘किताब लेख्नु पर्‍यो’ भनेर कर्ण शाक्यले बोलाए। संगतबाट थाहा भयो, ‘घोस्ट राइटिङ’। त्यसमा नेपाल जोडेर कम्पनी बन्यो। यसरी यस्तो ठूलो काममा एक्कासि हिम्मत गर्न सबैले सक्दैनन्।

‘डरको अगाडि जित छ’ भनेजस्तै उनले जित हात पार्न साहस देखाए र भनिदिए ‘म सक्छु’। सहज त थिएन तर अनेक आरोह–अवरोह चिर्दै किताब लेखे र आफूलाई ‘सही’ प्रमाणित गरिदिए अरूका सामु। अंग्रेजीमा कतै पढेको थिएँ, ‘ट्रु ह्याप्पिनेस फ्लोरिसेस इन् द याबसेन्स अफ फियर।’ त्यो कमलजीमा पाएँ, डर लखेटेपछि उनले जीवनको एउटा ‘साँचो खुसी’ पाए। धेरै मानिस पछि परेका छन्, डरले। डर विष हो जसले मन प्रदूषित पार्छ र सिर्जनालाई मारिदिन्छ।

उनी एक, काम अनेक : घोस्ट राइटिङ पछि जन्मियो, सिर्जनात्मक लेखन। आज २०औं ब्याच चलिरहेछ। जसमा सिद्धान्तमात्र होइन, अनुभव नै जोड्ने काम कमलले गरेका छन्। ‘फिल्ड’मै लगेर लेखाउने ‘फिल्ड राइटिङ’ चलिरहेछ। घोस्ट राइटिङका लागि खोलिएको नयाँबानेश्वर, थापा गाउँस्थित कुञ्ज थियटरमा सुरु भयो थिएटर राइटिङ पनि। जहाँ चर्चित कलाकार सुनील पोखरेल जोडिँदा गुरुकुल ब्युँतिएको छ। अनि थपियो ‘फिल्म राइटिङ’ पनि।

लेखन कुञ्जले आफ्नो आकार विशाल बनाउँदैछ, जहाँ नाटक होस् वा चलचित्र, स्क्रिप्ट लेखिरहेका युवा भेटिन्छन्, बिहानै–बेलुकै अनि कहिले दिनभर। जब पर्छ साँझ, तब सुरु हुन्छ संगीतको सारेगम। यतिमा सीमित राखेनन् कुञ्जलाई कमलले। आर्ट र मूर्तिकला पनि जोड्ने सत्प्रयास उनी गर्दैछन्। नयाँनयाँ सपना बोकेर हिँडिरहेका छन् उनी। उनको अब यौटै सपना छ, लेखन कुञ्जलाई प्रज्ञा प्रतिष्ठान बनाउने।

निजी अझ व्यक्तिगत प्रयासबाट बनेको ‘लेखन कुञ्ज प्रज्ञा प्रतिष्ठान’मा सिर्जनाका सबै विधा र क्षेत्र समेटिएका छन्, समेटिने छन्। हाल सरकारले एउटा नेपाल प्रज्ञा प्रतिष्ठान, अर्को नेपाल ललितकला प्रतिष्ठान र तेस्रो नाट्य तथा संगीत प्रतिष्ठान गरी तीनवटा छुट्टाछुट्टै प्रतिष्ठान छन् भिन्दाभिन्दै ठाउँमा। कमल यो कुञ्जमा यी तीनलाई एकैठाउँ देख्न चाहन्छन्। एउटै छानामा सबै किसिमका सर्जक र सिर्जना ओत लाउन चाहन्छन् उनी।

त्यस्तो विशेष स्थान बनेको छ, जहाँ कलमले लेख्छ किताब, कुचीले कोर्छ कला (आर्ट), हातले बनाउँछ मूर्ति, हातैले बजाउँछ हार्मोनियम, तबला, सारंगी आदि अनि शब्दसँग खेल्दै लेख्छ सर्जक गीत। यसरी साहित्य, संगीत र कलाको संगम बनेको छ, लेखन कुञ्ज। हरियाली र एकान्तमा बाँसका घरहरूमा सर्जकहरूसँग रुखका डाली डालीबाट चराचुरुंगीले चिरबिर चिरबिर गर्दै सरगम दिन्छन् हरसमय।

प्रज्ञाबारे कमलको बुझाइ यस्तो छ, ‘प्रज्ञामा राम्रा मान्छे जान छोडे बा बाहिर देखिएका राम्रा ‘सेलिब्रेटी राइटर’हरू त्यहाँ जान्न भन्छन्। अनि मलाई के लाग्यो भने निजी क्षेत्रमा एउटा एकेडेमी विकास गर्नैपर्छ, जहाँ यस्ता भद्रभलादमी र योग्य मान्छे बस्न सकून्, पढ्न अनि लेख्न सकून्। यहाँ छिरेपछि जो कसैमा छुट्टै ‘भाइब्स’ आओस्। नाटक लेखून्, चलचित्रका कथा लेखून्, अनेक नयाँ सोच सिर्जना गरुन्।’

‘एकेडेमी एक्लै विचरा साहित्य लेख्या छ बस्या छ, धुम्धुम्ती बसेको छ। तीनवटाबीच संयोजन हुन नसकेर धेरै कुरा बिग्रेको छ। सिर्जनशील मान्छे त्यहाँ छैनन् सबै। मौलिक र दूरगामी सोच भएका मान्छे बाहिर छन् किनकि उनीहरू चाकडी र चाप्लुसीको भाषा जान्दैनन्, जाने पनि त्यो गर्दैनन्’, कमल थप्छन्, ‘त्यस्तो हुनुहुँदैन, हुनैहुँदैन। नेपाली राजनीतिले छोएको र छोपेको प्रतिष्ठानमा कसरी के हुन्छ र खै ?   राजनीतिक रंगमा आउनेबाट मर्मअनुसारको काम प्रतिष्ठानमा हुनै सक्दैन। त्यहाँ अटाउन नसकेका तर योग्यहरूलाई अब यस प्रतिष्ठानमा संयोजन गर्न चाहन्छु। जुन बाटोबाट नेपालका लागि केही गर्ने सोच हो मेरो।’

कुञ्जमा अब थप्न दुइटा बाँकी भनेका मूर्ति र चित्र हुन्। त्यसको पनि गृहकार्य पूरा भइसकेको छ। भन्नैपर्छ, शब्दको सम्मोहनले तानेर प्रज्ञावान् (साहित्य, संगीत र कला) व्यक्ति बाँडिएको देखेर सबै एकै ठाउँमा रहँदाको ‘सिनर्जी’का लागि लेखन कुञ्जले ‘इनर्जी’ थप्दैछ अब प्रज्ञाप्रतिष्ठान बनेर।

घोस्ट, हण्डर र प्रकाशन : हुन त खाने मुखलाई जुँगाले छेक्दैन तर सिर्जनशील समय भनेको ३० देखि ४० को उमेर रहेछ, जतिबेला युवा जोसजाँगर हुन्छ र गर्छ उसले जे पनि, जस्तो पनि अनि जसरी पनि। कमल भन्छन्, ‘कस्तो हुँदोरहेछ भने यो उमेर, गरिहालौं, काम साँचेर नराखौं, परिणाम पाइहालौं। ‘इनर्जाइज’ एउटा कामले अर्को काम। धेरैवटा कम्पनीका बीचमा यो लेखन कुञ्ज पनि खोलिहालें।’

सपना देख्दैमा पूरा कहाँ भइहाल्छ र ?   खोल्दैमा लेखन कुञ्ज कहाँ चल्छ र ?   पत्रकारिताका दुईजना मित्रलाई साथ लिएर घोस्ट राइटिङ सुरु गरे उनले। जसले तीनैजनालाई नाम र दाम दिन्थ्यो, धेरथोर जे भए पनि। तर साथीहरूले ‘मन’ले काम गरेनन्, तनले गरेको कामले सोचेको परिणाम दिएन। यस्ता अनेक हण्डर खाए कमलले। २०६६ सालमा दर्ता गरेको ‘घोस्ट राइटिङ कम्पनी, नेपाल’। 

‘२०७० देखि आफैं चलाउँछु भनेर लागेको कर्मचारी राखेर तर ‘घोस्ट’ भन्ने शब्दै ‘नकारात्मक’ भयो भनेर हरेस खुवाउने काम हुन थाले’, उनी थप्छन्, ‘लेखेर पैसा माग्ने तिमेरु ?   भन्ने पनि भेटिए। एकजनाले त   श्रीमतीलाई कुकुर लगाएर लखेट् यसलाई पो भने। कोही भन्थे, मेरै कुरा लेखेर पनि पैसा दिनुपर्ने ? यस्ता अनेक आइपरे भोग्न।’

प्रकाशक याम्बुरी बुक्स र कमल मिलेर दसदिने पुस्तक प्रदर्शनी गरे, भृकुटीमण्डपमा। त्यसले घोस्ट राइटिङलाई अलिकति ‘माइलेज’ दियो। घोस्ट राइटिङ नेपालले विराटनगरमा १० दिने पुस्तक प्रदर्शनी र साहित्यिक महोत्सव चलायो। कमल भन्छन्, ‘घोस्ट राइटिङको गर्भगृहमा गएर हेर्ने हो भने घोस्ट राइटिङ कस्तो हो भनेर बुझ्लान् रुचि राख्नेहरूले नत्र बुझाइ हिँड्न कठिन छ।’

घोस्ट राइटिङ राम्रो होइन, लेख्न नसक्नेका लागि मात्र हो यो भन्नेहरू पनि भेटे कमलले। धेरै ठाउँमा यसबारे अन्तर्वार्तामा बोलें, छापिए पनि अनि त्यसपछि बिस्तारै मान्छेले मलाई चिन्दै आए, घोस्ट राइटिङ बुझ्दै गए। साहित्यमा होमिने भनेर साहित्यकार एवं सञ्चारकर्मी नारायण ढकाल दाइलाई भेटें, नातेदार पनि, छिमेकी पनि। उहाँको लेखन, चर्चा, मानसम्मानले तान्यो उतै मलाई पनि। उहाँकै सल्लाहमा नाम चलेका एक लेखकलाई भेटें घोस्ट राइटिङका लागि। उनले पहिलो भेटमै ९० हजार मागे थोरै समय र थोरै कामका लागि। बाध्यतामा परें, जे त होला भनेर दिएँ। अर्कोपटक त तीन लाख मागे बा !

‘मैले दिइनँ। उनले आफैं खोले मेरै जस्तो। तर काम चुनौतीपूर्ण थियो, उनले चलाउन सकेनन्। तीन महिनाभित्रै बन्द भएछ’, कमल सम्झन्छन्, ‘त्यहीबेला मलाई ईख चल्यो, सिर्जनशील लेखन चलाएँ। अहिले यो ‘क्रिएटिभ राइटिङ’को बीसौं ब्याज चलिरहेछ।’ यसपछि उनले ‘घोस्ट राइटिङ’ पढ्न थाले। ‘यसमा लागेपछि दक्ष भएर निस्कनु पर्‍यो भनेर अनलाइन पढें। नेपालमा चलेको प्रकाशकलाई भेटें र भनें दुई÷चारवटा किताब पनि तयार पारेको छु छाप्न भनें। तपाईंहरू त्यो किताब निकाल्नुहोस् भन्दा नायक भुवन केसी र खेलाडी बैकुण्ठ मानन्धरको मात्र छाप्छौं, अरु छाप्दैनौं भने।’, कमल सुनाउँछन्।

तर उनी त आममान्छेको कथा लेख्ने र छाप्ने योजनामा हिँड्या मान्छे। ठूलोको भन्दा पनि सानो मान्छेका कथा लेख्नुपर्छ भन्ने मान्यतामा बाटो खन्दै अघि बढेका मान्छे। ‘भारतीय दूतावासमा माथिल्लो पदमा थिए, साहित्यकार अभय कुमार। उनी त घोस्ट राइटिङ पब्लिकेसन हा...! हा...!! हा...!!! गरेर हाँसे।’ झनै जोसिए उनी र प्रकाशन आफैं गर्ने गरी घोस्ट राइटिङबाट सयौं किताब निकाले।

घोस्ट राइटिङबाटै १०,००० को लक्ष्य : सिमल बुक भन्ने छोरीको नाम। कमलले सोचे, फिलिङ्स पनि हुने, इमोसन पनि हुने अनि जिन्दगीभर काम पनि हुने। भोलिका दिनमा ‘सेकेन्ड जेनेरेसन’ले पनि निरन्तरता देलान् भनेर त्यसलाई ‘क्रिएटिभ राइटिङ’को ‘पब्लिकेसन’ बनाए उनले। अब सिमल बुक भयो। घोस्ट राइटिङ भयो। क्रिएटिभ राइटिङ भयो।

‘लेखन कुञ्जका लागि मैले बाँसको घर किन बनाएँ ?   गोपीजी, तपाईं कौशिक ऋषिको सन्तान, म उपमन्यू ऋषिको। एउटै गोत्रमा २५ वटासम्म थर रहेछन्। हाम्रो पूर्वीय दर्शनमा व्यासले उहिल्यै लेख्या रैछन्, किताब, ग्रन्थहरू। मैले यो इमोसनमा बाँसैबाँसको यो कुञ्ज बनाएँ भनेको त कुनै दिन घोस्ट राइटिङ छोडेर व्यास लेखन (घोस्ट राइटिङ) बनाउँछु भन्ने छ’, कमल कल्पन्छन्।

‘५ सय २७ वटा किताब भए, जुन प्रयासका लागि कसैले पुरस्कार दियो। कसैले १००० वटा किताब पुगेपछि मलाई बकिङघम प्यालेसमै बोलाएर पुरस्कृत गर्छु भनेको छ त्यसो त जीवनकालमा १०,००० पुस्तक लेखिदिने र छापिदिने लक्ष्य छ’, थप्छन्, ‘लन्डनले पूर्वीय दर्शनमा चाहिँ यहाँ राज्य गर्दाखेरि हाम्रो व्यासदेखि घोस्ट राइटिङ बनाएरसम्म बेचे, संसारभरि ब्रान्ड भयो त्यो। पश्चिममा त उत्पात छ नि यो काम। एकैजनाको १३ वटासम्म किताब निस्केका छन्, घोस्ट राइटरबाटै। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका जति किताब निस्किए, सबै घोस्ट राइटिङ त हो नि।’

नेपालमा यसले स्थान लिन सकेको छैन। सुरुआत भयो, राम्रो भएको छ। ‘घोस्ट राइटर’बाट पाँच प्रमुख पाठ सिक्न सकिन्छ : १. जीवनका अनुभव र भावनालाई कथा सुनाउने कला वा दस्तावेजीकरण। २. व्यक्तिको पहिचान विभिन्न पक्षबाट प्रभावित हुन्छ र यसले जीवनको यात्रा निर्धारण गर्न सक्छ। ३. सत्यको खोजीले व्यक्ति र समाजमा गहिरा प्रभाव पार्छन्, त्यसैले प्रामाणिकता महŒवपूर्ण हुन्छ। ४. साहित्यले हाम्रो सोच, भावना र व्यवहारलाई प्रभाव पार्छ, जसले जीवनको दृष्टिकोण नै परिवर्तन गरिदिन्छ। ५. मानवीय सम्बन्धहरू जटिल र बहुआयामिक हुन्छन्, जसले विश्वास, प्रेम र द्वन्द्वलाई सुन्दर संयोजन गर्छ। त्यसैले हरेक मानिसले आफ्ना कथा लेख्न, नसके लेखाउन आवश्यक छ। लाग्छ, कमलले फुलाउने कमलको स्वरूप यही हो।

विश्व चिहाऔं, अमेरिकामा भनौं न पूर्व र वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प हुन् वा ह्यारिस, कुन चाहिँ राष्ट्रपतिको किताब पढ्न पाउनुहुन्न त्यहाँ ?   एउटा हो र ?   दुइटा हो र ?   एउटै व्यक्तिको पाँचवटा, दसवटा, पन्ध्रवटा किताब ! त्यो पनि फरकफरक कोणबाट। नेपालमा अरू त अरू प्रधानमन्त्री, राष्ट्रपति भएका व्यक्तित्वबारे किताब खोज्नुपरे मंसिरमा पाकेको धानको काटिसकेपछि खेतमा खोज्ने शिला (बाली उठाएपछि बाँकी रहेका अन्नका बाला) खोजेजस्तै।

​​​​​​​एउटा युगलाई अर्को युगसम्म जोड्ने सत्प्रयास : घोस्ट राइटिङबाट ५ सय २७ पुस्तक लेखिए, छापिए। कमल थाकेका छैनन्, जोसजाँगर अझै युवाको छ उनमा। ‘१० हजार किताब लेखेर मर्ने मन छ जहाँ नलेखिएका १० हजार व्यक्तित्व पुस्तकमा समेटिने छन् र त्यसले अर्को युगलाई जोड्ने छ र नेपाल देश कथाको घर बन्नेछ’, कमल कलमप्रति आभार प्रकट गर्छन्, ‘अक्षरमा साह्रै ठूलो सम्मोहन बस्यो। अक्षर त कति राम्रो कुरा रहेछ, क्षय नहुने। मैले देखेको शब्द ब्रह्म हो। 

यी शब्दहरू त मलाई आमा अम्बिका ढकालले दिनु भएको हो। आमा जति ब्रह्म त को हुन्छ र यो दुनियाँमा ?’

संसारमा बाँच्ने कुरो भनेकै शब्दको शक्ति हो। ‘जीवन सकिँदा सबै सम्पत्ति छोडेरै जानुपर्छ। सबै कुरा लास हुन्छ तर अक्षर त कहिल्यै लास हुँदैन नि !’, उनी सम्झन्छन्, ‘बुवा स्व. सत्यप्रसाद ढकालको निधनले मर्माहत तुल्यायो। तर त्यसमा शोकलाई शक्तिमा बदल्ने झिल्को देखें, भेटें। बुवा बितेको वर्ष हामी रोयौं, अर्को वर्ष त्यही समयमा   श्राद्ध भनेर हाँस्दै भोजभतेर दानदक्षिणा गर्‍यौं। यही नै जीवन अगाडि बढ्ने प्रक्रिया हो भन्ने लाग्यो। त्यो घटनाले जे सिकायो, त्यसले जीवन परिवर्तन गरिरहेको छ अहिले। अचम्म, दुर्घटनाले त परिवर्तन पो ल्याउँदो रहेछ।’ कमलको जीवनमा पनि बुवाको निधनले त्यस्तै ‘टर्निङ प्वाइन्ट’ ल्याइदियो केही गर्नुपर्छ भन्ने।

अरूको धेरैको जीवन लेखे कमलले, लेख्दै पनि छन्। यसबीच उनी बुवा र आमाको जीवन लेख्दैछन्। आफू, आफ्नै परिवार, बुवा, आमा सबैको उत्खनन गर्दैछन् उनी यतिबेला। ‘एउटा युगदेखि अर्को युग जोड्ने के अक्षर होइन र ?’ उनी थप्छन्, ‘मान्छे पृथ्वीमा आउँछ, त्यो पनि एकचोटि मात्र। उसका जिन्दगी र जगत्का भोगाइका अनेक कथाकहानी भोलिका सन्तान, दरसन्तानले खोज्न सक्छ। हुन त यो यतिमा सीमित हुन्न, यी ती हरेक नागरिक समाज र राष्ट्रका सम्पत्ति हुन्। तिनका योगदान सबैका लागि हो, जुन पुस्तक बनेर शताब्दीसम्म संरक्षित हुनुपर्छ।’

अक्षरको सम्मोहनले नै कसैलाई लोभ्यायो भने उसले अरू साराका लागि योगदान गर्छ भन्ने उदाहरण बने कमल पनि। खासमा मान्छे अमर हुन चाहन्छ, जसको एउटा उत्तम बाटो कृति नै हो। त्यसलाई न्याय दिने अक्षर, शब्द र वाक्य नै हुन्। र, ती लेख्ने भनेको कलमले हो। कलमबाट कमल बनेर कैयौं कमललाई जीवित बनाएकोमा उनको सत्प्रयासलाई सलाम !


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.