नाट्य अनुसन्धानमा एउटा फड्को
नाटकको सिर्जनाका लागि रंगमञ्चको सामान्य ज्ञान अपरिहार्य छ। नाटक र रंगमञ्च एकअर्काका पूरक मात्र होइन, लिखित नाटक मञ्चमा नउक्लिएको स्थिति नाटक पूर्ण नभएको स्थिति पनि हो। अत नाट्यलोचन गर्ने क्षमता प्राप्त गर्न त्यसको प्रदर्शनकारी पाटोको पनि थोरै ज्ञात हुनु अनिवार्य छ। हुनसक्छ यही कारणले होला नेपालमा मात्र होइन अन्य विदेशी साहित्यका विधामा पनि नाटक कम लेखिएको।
कला, साहित्य, र संस्कृति मानवको नैतिक र सामाजिक विकासका आधारभूत मान्यता हुन्। तिनको विकासको अभावमा आर्थिक, वैज्ञानिक र प्राविधिक विकासले मात्र मानव समाजको सम्पूर्णतामा विकास हुँदैन। समाज र मानव जीवनसित एकाकार नभएको विकास केवल यान्त्रिक विकास मात्र हो जसले मेसिनले जस्तो मात्र काम गर्दछ कुनै विवेकबिना नै। हाम्रा लोकविश्वास र परम्पराहरूले हाम्रो स्वअस्तित्वसित साक्षत्कार गराउँछन् भने समाजको एउटा जिम्मेवार सदस्य बन्न प्रेरित गर्छन्। नेपाली सभ्यता प्राचीनकालदेखि नै कला र मलिलो रहँदै आएको छ। पूर्वलिच्छवि र मल्लकालदेखिका हाम्रा परम्परागत प्रदर्शनकारी कला सम्पदाहरू यसका प्रमाण हुन्। हाम्रा धार्मिकस्थलहरूमा खोपिएका टुँडालका चित्र तथा मूर्तिहरूमा हाम्रो कलात्मक विविधता झल्किएको पाइन्छ भने चोकचोकका डबलीहरूमा देखाइने जात्रा तथा लोकनाटकहरूले प्राचीन कालदेखि नै हाम्रो ऐतिहासिक र सांस्कृतिक सम्पन्नताको चिनारी प्रदान गरिरहेका छन्। यस्ता विविध सम्पदाहरूमध्येको एउटा हो प्रदर्शनकारी नाट्य क्षेत्र जसको परम्परा पनि औधी पुरानो छ।
हरिसिद्धि नाच, अष्टमातृका नाच, कार्तिकनाच, देवीनाच, भैरवनाच, हुड्केली नाच, छेलोनाच तथा चोकचोक डबलीमा देखाइने हाम्रा अन्य कलात्मक सम्पदाहरूले हाम्रो नाट्य परम्परालाई उजागर गर्दछन्। यस्तो ऐतिहासिक महŒव रहेको नाट्य क्षेत्रको अनुसन्धानमा आज जति कार्यहरू हुनुपथ्र्याे त्यति हुन नसकेको परिप्रेक्ष्यमा कला र साहित्यका समीक्षक नीलकमलको नवीनतम कृति संक्षिप्त नेपाली नाट्यकोश नामक विशेष ग्रन्थ हालै बजारमा आएको छ। कोश नाम रहे पनि यो नाट्यकोशमा विशुद्ध नाट्यशास्त्रीय परिभाषाहरू मात्र नभएर अभिनयात्मक रंगमञ्चसित सम्बद्ध पारिभाषिक शब्दहरू पनि यथासम्भव संगृहीत गरिएको छ।
फेरि नाटकको इतिहास औधी पुरानो रहेकाले यसको इतिहास खोतल्दा पौराणिक कालसम्म पुग्नुपर्ने हुन्छ। यथासम्भव त्यही उत्पत्तिकालदेखिको चर्चा यहाँ गर्न खोजिएको छ। लगभग एक हजार नाटक विषयक पारिभाषिक शब्द र पदावलीहरू यहाँ उल्लेख गरिएको छ भने केही तिनका पर्यायवाची शब्द तथा पदावलीहरू छन्। शब्दकोशको मर्मअनुसार पर्यायवाची रूपमा आएका पद तथा पदावलीको व्याख्या यहाँ गरिएको छैन, हेर्नु भनेर त्यसको पर्यायवाची सन्दर्भ दिइएको छ।
पारिभाषिक शब्दहरू त यसमा छँदैछन् नाटक र रंगमञ्चसित सरोकार राख्ने नेपाल र विश्वभरकै नाटककारहरू, नाट्यकर्मी तथा नाट्य निर्देशकहरू, नाटकसम्बद्ध अभियान, नाट्य संस्थाहरू तथा नाटक विषयक अन्य पृथक् महŒव राख्ने पदावलीहरू पनि परिशिष्टमा दिइएको छ। यसका अलावा नेपाली भाषामा हालसम्म लेखिएर पुस्तकाकार रूपमा प्रकाशित भएका, नेपाली भाषामा अन्य भाषाबाट अनुवाद भएका, नेपालभित्रकै विविध मातृभाषामा लेखिएका नाटकका पुस्तकहरू र बालनाटकको सूची पनि समावेश गरिएको छ।
हालसम्म उपलब्ध विभिन्न विषयका पारिभाषिक कोशहरूमा भन्दा यसको मुख्य पृथक् विशेषता के देखिन्छ भने कुनै एउटा पारिभाषिक शब्द वा शब्दावलीका जति भेदहरू हुन्छन् तिनलाई छ्ट्टै पृथक् खण्डमा प्रस्तुत गरिएको छ जसले गर्दा आफूले चाहेको पारिभाषिक शब्दलाई छोटो समयमा नै पत्ता लगाई अध्ययन गर्न सकिने देखिन्छ। उदाहरणका लागि मानौं अभिनयनामक पारिभाषिक शब्दको अभिनय खण्डमा नै छोटो चर्चा गरिएको छ भने यसका भेदहरू आहार्य, सात्विक, आंगिक तथा वाचिक अभिनय आदिको चर्चा वर्णानुक्रमअनुसार पृथक् खण्डमा गरिएको छ।
पारिभाषिक कोशको मान्यतासित त्यति मेल नखाए पनि यसले पाठकलाई आफूले चाहेको शब्द तथा पदावली पत्ता लगाउन सरल हुनेछ भने थप कोशको विशेषता झल्किने ठान्न सकिन्छ। अंग्रेजी र अन्य विदेशी साहित्यका क्षेत्रमा यस्ता कार्यहरू हुँदै गरे पनि नेपालको परिप्रेक्ष्यमा यो प्रस्तुति नितान्त नौलो र नाट्यअध्येता तथा रंगकर्मीहरूका लागि उपयोगी हुनेछ भन्ने मत यी पंक्तिका लेखकको रहेको छ। साथै कृतिमा सन्दर्भ लिएका उद्धरणहरूलाई छड्के अक्षरमा राखिएको छ।
सम्भव भएसम्म नेपाल र नेपालबाहिरका नाट्य संस्थाहरूको सूची यहाँ समावेश गरिएको छ जसले नाटकका विषयमा शोधअनुसन्धान गर्नेहरूलाई निकै सहयोग पुग्नेछ भन्ने आशा गर्न सकिन्छ। यति हुँदाहुँदै पनि नाटक र रंगमञ्चका क्षेत्रमा विश्वमा भएका अभियानहरू यहाँ छुटेका हुन सक्छन्। यी कुरा आगामी दिनमा थपिँदै जाने आशा गर्न सकिन्छ। नेपाली बाल नाटकका क्षेत्रमा भएका केही कार्यहरू पनि यहाँ समावेश गरिएको छ जसअन्तर्गत हालसम्म पुस्तकाकार रूपमा प्रकाशित नेपाली बालनाटकहरूको सूची यहाँ संगृहीत छ।
नाटकका नजिकका विधाहरू नृत्य, नृत्त, नाट्य, साहित्य र चलचित्रका विषयहरूको पनि यहाँ उठान गरिएको छ र यसका साथै कलाका वैचारिक मान्यताहरूको पनि थोरबहुत उल्लेख गरिएको छ। कतिपय प्रदर्शनकारी रंगमञ्चसित सरोकार राख्ने शब्द तथा पदावलीहरूको नेपालीकरण भइनसकेकाले तिनलाई अङ्ग्रेजीमा नै राखिएको छ। हुनसक्छ, सोझै अनुवाद गर्दा अव्यावहारिक लाग्ने भएकाले यसो गरिएको होला।
यसरी नेपालको परिवेशमा केशवप्रसाद उपाध्याय, अशेष मल्ल, रामचन्द्र पोखरेल, कान्छी महर्जन, नन्दमाया नकर्मी आदिको नाति, छोरो र भाइ पुस्ता भएर आए पनि प्रस्तुत कृतिले नेपाली रंग क्षेत्रमा केही भरथेगको आशा गर्न सक्नेछ भन्ने आशा सहजै गर्न सकिन्छ। रंगकर्मी निशा शर्माको नेतृत्वमा रहेको नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले यस्तो महत्वपूर्ण कृति प्रकाशन गरेर युगान्तकारी कार्य गरेको छ भने नेपाली नाटक तथा रंगमञ्चका क्षेत्रमा यसले एउटा गम्भीर बहसको सिर्जना गर्नेछ भनी सहजै आशा गर्न सकिन्छ। नेपाली रंगमञ्चको दु:खसुखलाई बुझ्ने एउटा रंगमञ्चका उपासकको उपासनाको प्रतिफलमा प्रस्तुत कृति आएको छ।