केन्द्रबिन्दुमा ‘ध्यानको विज्ञान’
गएको ६ डिसेम्बरमा अर्थात् २०८१ मंसिर १४ गते राष्ट्रसंघको महासभाले २१ डिसेम्बरलाई विश्व ध्यान दिवसको रूपमा मनाउने निर्णय गरेको छ। हामी सबैलाई सर्वविदितै छ, पृथ्वी सूर्यको वरिपरि परिक्रमा गर्छ। २१ डिसेम्बरबाट उत्तरायण सुरु हुन्छ। यो वास्तवमा वर्षभरिको कोणबाट हेर्दा सबैभन्दा छोटो दिन हो। उत्तरायण अर्थात् जाडो सकिँदै जाने दिनको सुरुआत पनि मानिन्छ।
राष्ट्रसंघले यसअघि नै सबैभन्दा लामो दिनलाई आधारित गरेर २१ जुनलाई अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गरिसकेको छ। यो कार्यान्वयनको प्रक्रियामा छ र आउने वर्ष एक दशक पुग्छ। अब हामी आजबाट अर्थात् २०२४ डिसेम्बर २१ बाट प्रथम विश्व ध्यान दिवस मनाउन गइरहेका छौं। सर्वप्रथम विश्व ध्यान दिवसको उपलक्ष्यमा सबैलाई हार्दिक शुभकामना !
राष्ट्रसंघको समकालीन इतिहासमा ७९औं साधारण सभाले ‘ग्लोबल हेल्थ एन्ड फरेन पोलिसी’ नामको १२७औं एजेन्डाको मस्यौदा प्रस्ताव तयार गर्यो। २९ नोभेम्बरका दिन यो मस्यौदा गर्नेमा नेपाल, भारत, श्रीलंका, लिंगटेनस्टाइनलगायतका देशमा अन्डोरा, बंगलादेश, बुल्गेरिया, बुरुन्डी, डोमिनिकन रिपब्लिक, आइसल्यान्ड, लग्जेम्बर्ग, मौरिसस, मेक्सिको, मोनाको, मंगोलिया, मोरक्को, पोर्चुगल, स्लोभानियाका प्रतिनिधि थिए।
२१ गते (६ डिसेम्बर) राष्ट्रसंघको महासभाबाट यो प्रस्ताव सर्वसम्मतिले पारित भएको छ। यो दिन संसारभरि विश्व ध्यान दिवस मनाइनेछ। प्रस्तावको तयारीदेखि सर्वसम्मतिले पारित गर्ने राष्ट्रसंघलगायतका सबै देश धन्यवादका पात्र छन्। नेपालले लामो समयदेखि ‘विश्व÷अन्तर्राष्ट्रिय ध्यान दिवस’ मनाउने आवाज उठाइरहेको पृष्ठभूमिमा यो निर्णय हुनु आफैं एउटा सुखद सन्देश हो। यसमा सबैले प्रसन्नता व्यक्त गर्नुपर्छ र यसलाई भव्यतापूर्वक उत्सवको रूपमा मनाउनुपर्छ।
विश्व ध्यान दिवस मनाउने निर्णयको प्रक्रियामा नेपालको भूमिका सकारात्मक रहन गयो। तथापि नेपालको अपेक्षा यतिमात्र थिएन। यो समग्र प्रक्रियाको मुख्य पहलकर्ताको भूमिकामा नेपाल अगाडि आउनुपर्छ र राष्ट्रसंघमा गौतम बुद्धसँग जोडेर ध्यान दिवस प्रस्तावित गर्नुपथ्र्यो भन्ने नेपालका योग÷ध्यानका अभियन्ता र पक्षधरहरूको विशेष माग थियो। संविधान निर्माणको लगत्तै २०७२ सालदेखि सरकारको नेतृत्व गरेका करिब करिब सबै प्रधानमन्त्रीसमक्ष यो विचार पुगेकै थियो। म संसद् वा सरकारमा हुँदा होस् या नहुँदा, यो विषयलाई कुनै न कुनै ढंगले अगाडि बढाउने अभियानमा सामेल थिएँ।
मलाई सम्झना छ, नेपाली कांग्रेसका गणतन्त्रवादी नेता, संविधानसभाका सदस्य एवं त्यो बेलाका शान्ति तथा पुनर्निर्माण मन्त्री नरहरि आचार्यले संविधान निर्माणको लगत्तै गठन भएको केपी ओलीजीको नेतृत्वको सरकारमा शिक्षामन्त्रीको हैसियतले मलाई भन्नुभएको थियो, ‘हामी सुशील कोइरालाको नेतृत्वको सरकारले राष्ट्रिय ध्यान दिवस माघ १ गते मनाउने निर्णय गर्र्याैं, मेरो मन्त्रालयले लगेको प्रस्तावलाई कार्यान्वयन गर्ने जिम्मा शिक्षा मन्त्रालय दिइएको छ। तपाईंले कार्यान्वयन गर्नुपर्यो।’ विद्यालय तहमा राष्ट्रिय योग दिवसलाई पुर्याउन कार्यान्वयन गर्ने जिम्मेवारी शिक्षा मन्त्रालयमा परेको थियो।
राष्ट्रिय योग दिवस कसरी मनाउने ? हामीबीच छलफल भयो। शिक्षा सचिव विश्वप्रकाश पण्डित, सहसचिव डा. लवदेव अवस्थी र डा. हरि लम्साल लगायतको टिमसँग हाम्रो छलफल भएपछि योगको क्षेत्रमा कार्यरत सबै संघसंस्था र नेतृत्वदायी व्यक्तिहरूलाई मन्त्रालयमै बोलायौं र मन्त्रीको नेतृत्वमा आयोजक समिति गठन गर्यौं। त्यो आयोजक समितिले काठमाडौंमा प्रभातफेरी र गोष्ठी गरेर प्रथम राष्ट्रिय योग दिवस मनायो भने देशभरि नै दिवस मनाउनलाई शिक्षा मन्त्रालयका संयन्त्रलाई परिचालन गर्नुका साथै विद्यालयहरूलाई जोड्ने कार्य गरियो। म त्यस्तो मन्त्री भएँ जसले नेपालमा पहिलोचोटि राष्ट्रिय र अन्तर्राष्ट्रिय योग दिवस कार्यान्वयन गर्ने अवसर पाएँ।
नेपाल एकमात्र यस्तो देश हो, जसले राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै खालका योग दिवस मनाउँछ। २१ जुनमा प्रथम अन्तर्राष्ट्रिय योग दिवस मनाउने राष्ट्रसंघको निर्णय पनि हामीले राष्ट्रिय दिवसकै ‘मोडालिटी’मा सम्पन्न गर्यौं। अन्तर्राष्ट्रिय योग दिवसमा आइपुग्दा स्वास्थ्य मन्त्रालय पनि सहआयोजक भएको थियो। त्योबेलाका सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा दरबार मार्गमा हामीले आयोजना गरेको कार्यक्रममा नेपालले राष्ट्रसंघमा ध्यान दिवस मनाउने प्रस्ताव लैजानुपर्छ भन्ने आवाज व्यवस्थित र संस्थागत ढंगले उठेको थियो।
२०७४ सालको निर्वाचनपछि म फेरि शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयको नेतृत्वमा दोहोरिएँ। प्रधानमन्त्री केपी शर्मा ओली नै हुनुहुन्थ्यो। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय योग दिवस अझ व्यवस्थित ढंगले मनाउने प्रक्रिया सुरु भयो। संस्कृति तथा पर्यटन मन्त्रालय पनि सहआयोजकमा थपियो। त्यसपछिका कार्यक्रमको पृष्ठभूमिमा मुख्यत: तीन कुरा उठेका थिए, एक नेपालले अब राष्ट्रसंघमा ध्यान दिवसको प्रस्ताव लैजानैपर्छ, बुद्ध पूर्णिमाको दिनलाई ध्यान दिवस बनाउनु उपयुक्त हुन्छ। नेपालको तर्फबाट बुद्ध, शिव, कपिल, जनक, गोरखनाथलगायतका महायोगी र ध्यानीले विश्वलाई दिएको यो विशेष उपहार हो। यसको स्वामित्व नेपाल सरकारले लिनुपर्छ। विश्व स्वास्थ्य संगठनले जोड दिए जस्तै आधुनिक जीवनमा देखिएका जटिल समस्यालाई समाधान गर्न ध्यानको पद्धतिलाई अंगीकार गर्नुपर्छ। दोस्रो, योग अभ्यासका लागि नेपालको आफ्नै ‘प्रोटोकल’ हुनुपर्छ। तेस्रो योग÷ध्यानलाई व्यवस्थित गर्न शिक्षा मन्त्रालयमा छुट्टै संरचना हुनुपर्छ।
उल्लेखित तीन विषयमध्ये शिक्षा मन्त्रालयले आफ्नै योगको ‘प्रोटोकल’ राष्ट्रिय योग अभ्यासक्रम बनाएर सार्वजनिक गर्यो। सम्माननीय राष्ट्रपति र प्रधानमन्त्रीले शुभकामना दिएको त्यो अभ्यास पुस्तिका तयार गर्ने जिम्मा सोनाम साथी (संस्थापक, मार्सिय गुरुकुल), स्वामी आनन्द अरुण, डा. हरिप्रसाद पोखरेल मानसाग्नि, डा. सुभाष घिमिरे, स्वामी प्रेम आलोक, डा. वासुदेव उपाध्याय आदि हुनुहुन्थ्यो। मन्त्रालयको तर्फबाट सहसचिव कृष्णप्रसाद काप्रीले संयोजन गर्नुभएको थियो।
कोभिड महामारीको पृष्ठभूमिमा घरघरमा योग÷ध्यान गराउने एउटा विशेष परिवेशमा त्यो अभ्यास पुस्तिका तयार भएको थियो। अभ्यास पुस्तिकाले आसन र प्राणायामलाई अलिक धेरै जोड दिएको र ध्यानको एउटा पद्धतिको मात्र उल्लेख गरेकाले अब हाम्रो विशेष जोड र सम्पूर्ण प्राथमिकता ‘ध्यानको विज्ञान’मा हुनुपर्छ भन्ने सुझाव आयो।
ढिलो चाँडो हामीले ध्यान दिवस मनाउनै पर्छ, अन्तर्राष्ट्रिय ध्यान दिवस घोषणा गर्न बिलम्ब हुन्छ भने पनि राष्ट्रिय ध्यान दिवस घोषणा गरौं, त्यसका लागि अहिलेदेखि नै ध्यानको प्रोटोकल पनि तयार गरौं भन्ने सुझावमा आधारित भएर नै सोनामको नेतृत्वमा स्वामी आनन्द अरुण र योग÷ध्यानसँग सम्बन्धित भएका विश्वविद्यालय (त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, लुम्बिनी विश्वविद्यालय आदि)का प्रतिनिधिहरू राखेर शिक्षा मन्त्रालयले ध्यानको प्रोटोकल तयार गर्यो। कोभिडका कारणले सोनामको कृतिशेष भएपछि त्यसको नेतृत्व आनन्द अरुणले गर्नुभयो।
मपछिका शिक्षामन्त्रीहरूको यो विषय कहिले पनि प्राथमिकतामा परेन। दु:खको कुरा आयुर्वेद र पूर्वीय दर्शनको महŒवलाई पक्रिएर हामीले योगमाया आयुर्वेद विश्वविद्यालय बनायौं। भारतको आयुष जस्तै अर्काे मन्त्रालय बनाउन सक्ने सम्भावना थिएन। एउटा विश्वविद्यालय बनाउँ र त्यसबाट जनशक्ति उत्पादन गरेर योग, ध्यान, आयुर्वेद र नेपाली भूमिमा विकास भएका सबै पद्धतिको माध्यमद्वारा नेपालको समृद्धिको यात्रालाई अगाडि बढाऔं भनेर योगमाया आयुर्वेद विश्वविद्यालय बनाइएको हो। यसमा ध्यानको छुट्टै संकाय पनि राखिएको छ।
अहिलेसम्म त्यो कार्यान्वयनको विषय बनेको छैन किनकि त्यो बजेटमा प्रतिविम्बितै भएको छैन। अहिले पनि आनन्द अरुणलगायतका व्यक्तित्वले तयार गरेको ध्यानको प्रोटोकल अलपत्र परेर बसेको छ। जे होस्, नेपालले छुट्टै र सशक्त ढंगको पहलकर्ताको महŒवपूर्ण अवसर गुमाए पनि, राष्ट्रसंघले घोषणा गरेको यो समग्र प्रक्रियामा आफूलाई सामेल गरेर नेपालमा उठेको आवाजलाई प्रतिनिधित्व र प्रतिविम्बित गरेको छ। यसप्रति हामी प्रसन्न हुनुपर्छ, सकारात्मक ढंगले विषयलाई लिनुपर्छ। यो उपलब्धि हामी सबैको साझा उपलब्धिको रूपमा ग्रहण गर्नुपर्छ।
राष्ट्रसंघले यो ऐतिहासिक घोषणा गरिरहँदा नेपालको तर्फबाट विश्व ध्यान दिवसका लागि गरिएका केही वैयक्तिक र संस्थागत पहलकदमी हामीले बिर्सिनु हुँदैन। सरकारका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले गृह र परराष्ट्रमन्त्री हुँदा खेलेको भूमिका उल्लेखनीय छ। मन्त्री हुँदाखेरि शिक्षा मन्त्रालय र सीटीभीटीका सबैलाई समेटेर हामीले कीर्तिपुरको आयुर्वेदको अनुसन्धान केन्द्रमा योग ध्यानको तालिम र प्रशिक्षण सुरु गरेका थियौं। उहाँको नेतृत्वमा गृह मन्त्रालयले जुन स्तरमा योग÷ध्यानलाई अघि बढायो, अरू मन्त्रालय र मन्त्रीले सिक्न लायक छ।
अहिले नेपालका जेलहरूमा पनि विपश्यना पुगेको छ। गृह मन्त्रालयमा मात्र होइन, परराष्ट्रमा पनि उहाँले यो अभियान निरन्तरतालाई दिनुभयो। सबैभन्दा ठूलो कुरा उहाँले राष्ट्रसंघका महासचिव एन्तोनियो गुटेरेसको ध्यान नेपाल आएका बखत आकृष्ट गराउनुभएको छ। अर्को श्रेय दिनुपर्ने व्यक्तित्व हुनुहुन्छ, तपोवनका संस्थापक तथा ध्यानका प्रचारक स्वामी आनन्द अरुण। उहाँको भूमिका उल्लेखनीय रह्यो। योगको राष्ट्रिय÷अन्तर्राष्ट्रिय दिवस मनाउने होस्, नेपालका कुनै पनि पूर्वीय दर्शनसँग सम्बन्धित भएका समारोह हुन्, त्यसमा उहाँले ध्यान दिवसलाई लगातार उठाइरहनुभयो। अन्तर्राष्ट्रिय फोरमहरूमा जनमत बनाउने काममा उहाँले खेलेको भूमिकाको लागि नेपाली राजनीतिज्ञहरूले कृतज्ञता प्रकट गर्नुपर्छ।
आजबाट विश्वभरि ध्यान दिवस मनाउने प्रक्रिया सुरु भएको छ। राष्ट्रसंघले यो वर्षको विश्व ध्यान दिवसको नारा ‘इनर पिस, ग्लोबल ह्युमिनिटी’ दिएको छ। नेपाल सरकारले ‘विश्वव्यापी सद्भावका लागि आन्तरिक शान्ति’ तय गरेको छ। ध्यानलाई हामीले स्वयं र समाजलाई रूपान्तरण गर्ने एकदमै शक्तिशाली साधनको रूपमा लिनुपर्छ। यो सबै जातजाति, धर्म, सम्प्रदाय, वर्ग र लिंगका लागि साझा साधना पद्धति हो।
ध्यान पद्धति हाम्रै भूखण्डको उपज हो। प्राचीन र अर्बाचीन कालमा विकास भएका ध्यानका वैज्ञानिक सिद्धान्तलाई समायोजन गरेर साधना पद्धतिका लागि व्यवस्थित शृंखला समेट्न जरुरी छ। ध्यानको विज्ञान बहुआयामिक र बहुउपयोगी छ। यसलाई आफ्नै जीवनबाट सुरु गरौं।