लुटेराहरूद्वारा घरधनीको हत्या गरेर लुटपाट
जलेश्वर : महोत्तरीको मनरासिश्वा नगरपालिका–४ साढा गाउँमा आज बिहान लुटेराहरूको एक समूहले घरधनीको हत्या गरी लाखौँको लुटपाट गरेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारका अनुसार स्थानीय सुशील झाको घरमा आज बिहान ४ बजे लुटेराको समूह पसेर निज घरधनी झालाई कुटपिट गरेर हत्या गरी लाखौँको लुटपाट गरेका छन् ।
घरमा पत्नीसँग मात्रै बस्दै आएका सुशीललाई सात/आठ जनाको समूहमा हातहतियारसहित आएका नकाबधारी लुटेराको समूहले आक्रमण गरी हत्या गरेका हुन्। उनीहरुले घरबाट सुनको मङ्गलसुत्र एक थान, सुनको औँठी एक थान र नगद लुटेर लगेको प्रहरी नायब उपरीक्षक जैसवारले बताए ।
झाकी पत्नी सामान्य घाइते भएको जनाइएको छ । प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ।