जहाँ लासहरू उकालो चढ्छन् !
ठिन् ठिन् ठिन् ठिन्... ! गोरुको घाँणो (घाँडो) बज्यो। घाँणो बज्नुलाई संगीत मान्ने हो भने पुच्छर हल्लाउँदै, गोरु चर्दाको दृश्य कुनै मौलिक नृत्यभन्दा कमसल हुँदैन। सडक माथिको चौरमा गाईगोरु मस्त चरिरहेका छन्।
गोठालाहरू आआफ्नै लयमा व्यस्त छन्। कोही गफमा व्यस्त छन्। कोही कौडा (गट्टा) खेलिरहेछन्। कोही आरम (स्थानीय खेल) खेलिरहेछन्। नाम ‘आरम’ भए पनि यो एक व्यस्त खेल हो। यसर्थ आरममा पनि आराम पाइँदैन।
कोही ढुंगा माथि चढेर तमाखु तानेर धुवाँ उडाइरहेछन्। जसरी थानकोटको उकालोमा ओभरलोड मालवाहक ट्रक धुवाँ उडाइरहन्छन्। सुल्पाको रक्षाकवच साबी हो। कुल्फी आकारको हत्केलामा अट्ने सानो काठभित्र तमाखु भरिन्छ। त्यो जिनिसको नाम ‘सुल्पा’ हो। सुल्पालाई सानो रुमाल जस्तो कपडाको टुक्रोले बेरिएको हुन्छ। त्यसलाई ‘साबी’ भनिन्छ। यसरी हेर्दा श्रीमान् र श्रीमती ‘सुल्पा र साबी’ हुन्। एकअर्काका सारथी। एक अर्काका रक्षाकवच।
गाउँबाट बिस्तारै सुल्पा र साबी पनि लोप भइसकेका छन्। मौलिकता गाउँको पहिचान हो। तर समय क्रमसँगै गाउँको मौलिकता पनि ‘आईसीयू’ पुगिसकेछ। आईसीयू पुगेपछि फर्केर आउनु भनेको पुनर्जीवन पाउनु हो। यसर्थ मौलिकताको पुनर्जन्म हुन आवश्यक छ।
सानो रेडियोको एन्टिनामा तार झुन्ड्याएर एउटा ग्वालो (गोठालो) एकटकले रेडियो सुनिरहेछ। केही दूरी परबाट हेर्दा एन्टिनाले क्षितिज छोए जस्तो देखिन्छ।
गाई घाँणो बाजुरा बज्दो यी कपडा धोल्ली कि !
भैंसी घाँणो रोल तु मेरी होल्ली कि !
अलि क्या मस्कदाई लाग्दो यी कपडा धोल्ली कि !
नबस्याका कोल तु मेरी होल्ली कि !
रेडियोमा बजेको गीत हो यो। भुवन दाहाल र पवित्रा भण्डारीको मीठो स्वरमा सजिएको यो गीत सुदूरपश्चिममा धेरै सुनिने एक पुरानो गीत हो। बालकदेखि वृद्धसम्म यो गीतका ‘फ्यान’ भेटिन्छन्।
छान्नीगैराको डाँडाबाट तल ओरालो हेर्दा छेडेदह चिरेर जाने सडक कुनै सुन्दर महिलाको सिउँदो जस्तो देखिन्छ। आधा जिन्दगी बाँचेपछि उमेरको उकालोबाट तल हेर्दा पनि यस्तै दुःखका ‘भग्नावशेष’ देखिन्छन् होला। सडकको दुवैतर्फ ठूलाठूला चौर (बारी) छन्। चौरको बीचमा सडक घुसेको छ। छाती चिरेर फरार हुने मनका मान्छेभन्दा धरती चिरेर जाने सडक ‘लोकप्रिय’ हुँदोरहेछ।
सडक वारिपारि टहराहरू छन्। लामो रेलका डिब्बा जस्ता चिटिक्क मिलेका देखिन्छन्। टहराहरू रंगीन छन्। रंग आकर्षणको ‘इपी सेन्टर’ हो। फूलको रंगले भँमरा तानेजस्तो टहराका रंगहरूले हँट्यारु (बटुवा) तानिरहेछन्। फूल ओइलाए जस्तो यहाँका कटेजहरू ओइलाएको देख्न नपरोस्।
सडकको दक्षिणपट्टि सुन्दर ताल छ– छेडेदह। पानको पात आकारको भएकाले यसलाई ‘प्रेम ताल’ भन्ने गरेको सुनिन्छ। सडक पार भएर जाने हरेक पर्यटकलाई छेडेदहले आफ्नो हृदयको आँखीझ्यालबाट हेरिरहन्छ। जसरी बस स्टेसनबाट छुटेको यात्रुलाई बिदाइ गर्ने मान्छेले हेरिरहन्छन्। मान्छेले जस्तो छेडेदहले पनि बुझेको होला– स्वागतका लागि गुञ्जायमान स्वरहरू भन्दा बिदाइका हातहरू बहुत गरुंगा हुन्छन्।
सडकको उत्तरपट्टि घाट छ, भसम तिथान। लमागाउँ, कठायतबाडा, चाट्का र चौखुट्टे, यी चार गाउँको साझा मसानघाट हो यो। तालको छेउमा खापर देउताको मन्दिर छ। मन्दिर वरिपरि रुख छन्। कुनै रुखका हाँगाहरूमा ध्वजा (मेजा) झुन्डिएका छन्।
हावा चल्दा पात र ध्वजाहरू फहराउँछन्। कुनै रुखमा घण्टी झुन्डिएका छन्। ध्वजा र घण्टीहरू हाम्रा आस्थाका धरोहर हुन्। जनविश्वासका प्रतीक हुन्। जुन अखण्ड छन्, रहन्छन् पनि। हाँगाहरूमा बसेर चिरबिर चिरबिर गर्दै चराहरू पर्यटकलाई जिस्काइरहन्छन्।
मन्दिरमा पातहरूको बहुत ठूलो ‘गरिमा’ हुन्छ। मन्दिरको पातलाई हाम्रातिर ‘हर्रो स्याउलो’ भन्छन्। दुईजना मान्छे बसेर तेस्रो मान्छेको कुरा काट्दै भन्छन्– ‘कस्तो पात जस्तो मान्छे यार !’ यो सुनेर पातहरू पनि मनमनै भन्दा हुन्– पात त हामी होइन, मान्छे हुँदा रहेछन्। अर्काे जुनीमा पातै हुन परे पनि मन्दिरको पात भएर जन्मिन पाइयोस् भगवान् !’
काठमाडौंको आकाशमा हवाईजहाज आइराखे जस्तो पहिले पहिले छेडेदहको आकाशमा मालचरीका बथान आइराख्थे। अचेल मालचरी उति साह्रो आउँदैनन्। आधुनिकता चराहरूका लागि ‘विषादी’ रहेछ। हिमालबाट चराहरू विस्तारै हराउँदैछन्।
मालचरी एक्लै कहिल्यै आउँदैनन्। बथानमा आइपुग्छन्। यो नै मालचरीको प्रमुख विशेषता हो। मालचरीको बथानबाट मान्छेले ‘एकता र सामूहिकता’को पाठ सिक्न जरुरी छ। आकाश छुन हिँडेका मालचरीका बथान छेडेदहको पानीलाई ऐना बनाएर उडीराख्छन्।
कहिले बादलका ढिस्कासँग अँगालो मार्दै, त कहिले हिउँफूलसँग मितेरी गाँस्दै उडिरहन्छन्। कवित्व हृदय भा’को मान्छेलाई चरा उडेको दृश्य पनि कुनै विम्बभन्दा कम महŒवको लाग्दैन। छेडेदहको किनारमा स–साना भुइँ फूलहरू सिजनमा रंगीविरंगी हुन्छन्।
हावाको बुइँ चढेर जंगली फूलको वासना टाढा टाढासम्म पुग्छ। तालको मास्तिर फुलेका बुकी फूल टाढाबाट हेर्दा ‘भेडाको सेतो ऊन’ ओछ्याए जस्तो देखिन्छ। नेपथ्यका ‘लिजेन्ड गायक’ अमृत गुरुङले ‘भेडाको ऊन जस्तो...’ भन्ने गीत यस्तै दृश्य देखेर गाएको हुनुपर्छ।
सर्वविदितै छ, घाटबाट मलामीहरू लासलाई पूर्णरूपमा जलाइसकेपछि, लास पुरै खरानी भएपछि, हट्कुला (आधा जलेर बाँकी रहेका दाउरा) लगायत फोहोरको व्यवस्थापन गरेपछि मात्रै घर फर्किन्छन्। तर यो एउटा त्यस्तो घाटको कथा हो, जहाँ चेणोमा (चिहान) आगो लगाउनेबित्तिाकै मलामी घर फर्किन्छन्।
तालको छेऊमा मन्दिर छ। अर्काेपट्टि घाट छ। यसर्थ छेडेदहको कुनै किनारमा फूलेको फूललाई पनि थाहा हुँदैन होला। भोलि बिहान सबेरै उठेर कुन मान्छेले आफ्नो घाँटी निमोठ्छ होला ? चुँडेर घाट लाँदै गरेको लासमाथि राख्छ होला ? या, मन्दिरमा विराजमान खापर देउतालाई चढाउँछ होला ? यस्तै त हो, फूलको जिन्दगी। फूलको प्रसंग आउँदा आफ्नै गजलको एक शेर सम्झिन्छु :
भगवान्सँग बिन्ती गर्छु, यस्तै होस् मरण मेरो पनि चुँडेको फूल ओइलाइसक्यो सुगन्ध अझै हत्केलामा छ।
बर्खा याममा छेडेदहले आफ्नो आयतन झन् बढाउँछ। प्रेमिल जोडीहरू तालको सामुन्नेमा, खापर देउतालाई साक्षी राखेर आफ्नो मायाको आयतनसँग मनको आयतन ‘समायोजन’ गर्दै गरेको भेटिन्छन्। दुई मुटु एउटै छातामुनि ‘साझा सपना’ देखिरहेका हुन्छन्।
माटोको ढिस्कोमाथि बसेर कल्पनाको सागरमा पौडिरहन्छन्। प्रेमको फराकिलो आकाशमा बादल भएर घुमिरहद्दन्छन्। वर्षाद्मा छेडेदहले आफ्नो क्षेत्रफल थप फैलाउँछ। कुखुराका प्वाँखले आफ्ना अन्डा छोपेजस्तो वर्षाद्मा छेडेदहले पर परको जमिन छोप्छ।
छेडेदहको मास्तिर घाट, घाटको मास्तिर आकाश ओढेर वर्षौंदेखि उभिएको छ, ‘कालीपातल’। वसन्तमा कालीपातलले छातीमा लालीगुराँस फुलाउँछ। गृष्ममा बादलका ढिस्कासँग हात मिलाउँछ। वर्षाद्मा शिरभरि ‘लुछ्या’ (एक किसिमको घाँस) फलाउँछ। भक्तुणो र घगारु (एक किसिमका जंगली फलफूल) झुलाउँछ। शरदमा ऊ जमरा र मखमलीको साक्षी बस्छ।
हेमन्तमा कालीपातलले ‘हिउँको बर्काे’ ओढेर छेडेदह हुँदै चिसो बोकी जाने पर्यटकलाई नमस्कार गर्छ। अनि कहिले असिनासँग ठोकिन्छ। कहिले वर्षासँग जुध्छ। पूर्णिमाको रातमा, टहटह जून लागेको बेला, हिउँले ढाकिएको छेडेदहलाई आकाशबाट ताराहरूले पनि निकै मनमोहक देख्दा हुन्।
शिशिरमा कालीपातलले वसन्तलाई निम्तो पठाउँछ। ‘शिशिर र वसन्त’ कथाका पात्र शिशिर र वसन्त जस्तै एकआपसमा मिलेर बसेका छन्, ‘कालीपातल र छान्नीगैरा’। उनीहरूलाई एकअर्काका दुःखका शृंखला थाहा छन्। सुखका पलहरूमा सँगै बसेर मुस्कुराउँछन्। छान्नीगैराले कालीपातल रोइरहेको बेला हर्क साउदको गीत गुनगुनाउँदै भन्दो हो, ‘आफैं मुस्काऊ मुसुक्क जूनतारा टिपी कोही दिँदैन...।’
चर्काे घाममा, आकाश खुलेको बेला, साँझ धरतीमा निहुरिँदै गरेको बेला, डाँडापारी घाम डुब्ने बेलामा, चञ्चल कालीपातल छेडेदहमा पौडी खेल्छ।
कवि, गीतकार एवं साहित्यकार प्रेमप्रकाश मल्ल जीवित हुनु भएको भए, छेडेदह ताल घुम्नु भएको भए उहाँ पनि भन्नुहुन्थ्यो होला :
बाजुरा त साँच्चिकै पो बाजुरा नै रैछ
कालीपातल छेडेदहमा पौडी खेल्दो रै’छ !
000
अब म तपाईंहरूलाई एक गुमगाम घाटको कथा सुनाउँछु। गुमगाम यसर्थमा कि उसको कथा धेरैलाई थाहा छैन। आफ्नो कथा लेखिदिने कलम उसले अझै भेटिएको रै’नछ। वा उसको कथा सुनिदिने मान्छे नभेटिएको होला। कथा खोज्दै जाँदा म कुनै घाटमा पुगेको थिएँ।
तपाईं हामीलाई थाहा भएकै कुरा हो। हिन्दु परम्पराअनुसार प्रायः घाट कुनै नदीकिनारमा, कुनै खोलाको बगरमा अवस्थित हुन्छ। यो त्यस्तो एउटा घाटको कथा हो, जुन घाट अग्लो डाँडामा अवस्थित छ। जहाँ लास जलिरहेको खबर, धुवाँ उडेको देखेर टाढा टाढाबाट समेत थाहा पाउन सकिन्छ।
तपाईं हामीलाई अवगत छ– हिन्दु परम्पराअनुसार लासको अस्तु ‘दोभान वा त्रिवेणी’मा बगाउने चलन छ। यो त्यस्तो एउटा घाटको कथा हो– जहाँ अस्तु बगाउने चलन छैन।
प्रायः पहाडी गाउँका घाटहरू एकान्तमा, सबैको आँखा नपर्ने ठाउँमा, अलिक डरलाग्दो ठाउँमा हुन्छन्। यो एउटा त्यस्तो घाटको कथा हो, जुन घाट बाटोमै पर्छ। सबैको नजरमा पर्छ। बाटो हिँड्ने हरेक हँट्यारुले लास जलाएको सजिलै देख्न सक्छ।
प्रायः लासलाई घरबाट घाटतिर लैजाँदा ओरालो बाटो हुँदै लैजान्छन्। किनकि घाटहरू गाउँबाट ओरालो दिशामा पर्छन्। कुनै कुनै घाटहरू घरबाट पाइलो बाटोमा पर्न सक्छन्। तर यो एउटा यस्तो घाट हो, जहाँ लास उकालो चढ्छन्। घाटै डाँडामा भएपछि उकालो त चढ्नै पर्यो।
यो एउटा त्यस्तो घाट हो, जहाँ लास जलाउन प्रयोग हुने दाउराका लागि छुट्टै एउटा सामुदायिक वनको व्यवस्था गरिएको छ। त्यो वनका दाउरा केवल त्यही घाटमा लास जलाउनमात्रै प्रयोग गरिन्छन्।
सर्वविदितै छ, घाटबाट मलामीहरू लासलाई पूर्णरूपमा जलाइसकेपछि, लास पूरै खरानी भएपछि, हट्कुला (आधा जलेर बाँकी रहेका दाउरा) लगायत फोहोरको व्यवस्थापन गरेपछि मात्रै घर फर्किन्छन्। तर यो एउटा त्यस्तो घाटको कथा हो, जहाँ चेणोमा (चिहान) आगो लगाउनेबित्तिकै मलामी घर फर्किन्छन्।
अनि तपाईंलाई लाग्न सक्छ, लास पूर्णरूपमा जले, नजलेको कुरा कसरी थाहा हुन्छ ? लास आधामात्रै जल्यो भने के हुन्छ ? इतिहासमा लास नजलेको, आधा चलेको, टुक्रा बाँकी रहेको कुनै ‘रेकर्ड’ भेटिएको छैन। त्यस्तो कुनै घटना छैन, जहाँ लास नजलेको होस्। लासमा आगो लाउनेबित्तिकै मलामी घर फर्किने, लास सम्पूर्ण रूपमा जलेर भसम हुने भएकाले यो तिथानलाई ‘भसम तिथान’ भनिएको हो।
अब म तपाईंहरूलाई त्यहाँका केही जनप्रतिनिधि, त्यहाँका ठालुबुढ्याउडी (बुद्धिजीवी), त्यहाँका ज्येष्ठ नागरिक घाटबारे के भन्छन् ? त्यो सुनाउँछु। मन ओछ्याएर काननजिक ल्याउनोस् है।
000
एउटा चिया दोकानमा चिया पिउँदै गर्दा भेटिन्छन्, खगेन्द्र रावत। एमालेका स्थानीय नेता। स्थानीय समाजसेवी। खप्तड छेडेदह गाउँपालिका ७ नम्बर वडाका वडाध्यक्ष। उनका अनुसार यो घाट ‘सतीयुग’देखि नै चलनचल्तीमा आएको हो। उनको यो भनाइलाई थप पुष्टि गर्ने बलियो आधार भनेको घाटनजिकै रहेको ‘सती रिंगाउन गडो’ हो।
सतीयुगमा लोग्नेको निधनमा श्रीमतीले सती जाने चलन थियो। लोग्नेको लास जलिरहेको चेणोमा श्रीमती ज्युँदै जल्नुपथ्र्याे। त्यसरी ज्युँदै जल्नुअघि सतीलाई लासको वरिपरि रिंगाइन्थ्यो (घुमाइन्थ्यो)। त्यसरी उक्त गडोलाई ‘सती रिंगाउने गडो’ भनियो होला।
रावतका अनुसार तत्कालीन सतीयुगमा जुम्ली महाराज छेडेदहको बाटो हुँदै जुम्ला सवारी हुँदै थिए रे ! त्यही क्रममा राजाको बाटोमै बिरामी भएर निधन भएछ। अनि राजालाई त्यही डाँडोमा जलाएछन्। रानी सती गइन्। रानी सती जानुअघि त्यो घाट लम्गाउँ बासी र कठायबाडा बासीलाई ‘भोग’ गर्न उपहार दिएको रे !
000
घरमै दाउरा चिर्दै गरेका भेटिन्छन्, धने रावत। लम्गाउँका एक स्थानीय। खापर देउताका पुजारी। स्थानीय बुद्धिजीवी।
घाटबाट करिब आधा घण्टाको पैदल दूरीमा छ, अजयमेरुकोट। त्यहाँभित्र अहिले पनि राजदरबारको भग्नावशेष छ। अवशेषहरू आफैंमा इतिहासका साक्षी हुन्। बलिया प्रमाण हुन्। हाम्रातिर राजाका राजदरबारलाई ‘कोट’ भनिन्छ। पुजारी रावतका अनुसार त्यही अजयमेरुकोटका राजारानी जुम्ला जाँदै थिए रे !
रात परेर अँधेरो भएकाले त्यो रात राजारानी छेडेदहमै बास बसेछन्। उतिबेला राजारानी जहाँ बास बस्थे त्यहाँ चोपतो (चौतारो) बनाउँथे। ध्वजा पताका लाउँथे। शिलालेख लेख्थे। यसरी बास बस्न योग्य बनाएको स्थानलाई ‘चौखुट्टे’ भनिन्छ। धेरै चौखुट्टेहरू अहिले पनि आफ्नो अस्तित्वको लडाइँ लडिरहेकै छन्।
छेडेदहको नजिकै चौखुट्टे छ।
त्यही चौखुट्टेमा बिरामी परेर रानीको निधन भएछ। छेडेदहमा सादेगाउँका बाजे (डोगडीभित्रको एक गाउँ) र लम्गाउँका बाजे भैंसी चराउँदै थिए रे ! नजिकै खर्क रहेछन्। रानीको लास जलाउन दुवै बाजेलाई राजाले मलामी बोलाएछन्। अनि राजाले दुई फरक गाउँका बाजेलाई ‘दाजुभाइ’ बनाइदिएछन्। आपसमा बिहेबारी नचल्ने घोषणा गरिदिएछन् (अचेल बिहेबारी चल्छ, उबेला चल्दैनथियो)।
अनि एक भाइले लास चेणोमा राखेछन्। अर्काे भाइले चेणोमा आगो लाएछन्। यसरी राजाले एक बाजे ‘साँदे भाइ’ (साँदेगाउँका बाजे) र अर्काे बाजे ‘काँधे भाइ’ (लम्गाउँका बाजे) बनाए रे ! साँदेगाउँका बाजेको ओखणतलामा आफ्नै घाट थियो। लमगाउँका बाजेको घाट थिएन। आफ्नो घाट नभएको हुँदा राजाले रानी जलाएको घाट लमगाउँका बाजेलाई बक्सिस दिएछन्।
अझै चाखलाग्दो कुरा त यो छ कि त्यो समयमा रानीको लास जलाउन सलाई, लाइटर, ठिन्का (सानो फलामको टुक्रा र सानो ढुंगो आपसमा जुधाएर आगो लगाउने स्थानीय जिनिस) केही थिएन। औंलाका नङहरू आपसमा जुधाई ‘आगो’ जन्माएर लास जलाएको किंवदन्ती छ
000
काँधमा बाउसो खन्न प्रयोग गरिने एक कृषि औजार बोकेर खेत खन्न जाँदै गरेका परिमले कठायतसँग बाटोमै भेट भयो। कठायत छेडेदह तालको छेउमा रहेको खापर देउताका पुजारी हुन्।
उनका अनुसार अजयमेरुकोटका राजा ‘टुंगर सिंह’ निःसन्तान थिए रे ! अपुताल परेपछि (सन्तान नभएको अवस्था) राजा रानीले दरबार छोड्ने निर्णय लिएछन्। त्यसपछि महाराज जुम्ला जाँदै गर्दा बाटोमै बितेछन्। रानी सती चढ्नुअघि उक्त चिहान लमगाउँ र कठायत बाडालाई उपहार स्वरूप भोग गर्न दिएछन्।
छेडेदह तालको पूर्वपट्टि छ, चौखुट्टे। चौखुट्टेमा एउटा पुरानो घर छ। यो घर बिबेख्या रावतको हो। त्यहीँ आसपास भेटिन्छन्, बिबेख्या रावत। उमेरले करिब एक शताब्दी आसपास बाँचेका बड्डाको भनाइ अरूको भन्दा फरक छ। उनका अनुसार कुनै अजयमेरुकोटका राजाको निधन भएको पनि होइन। कुनै जुम्ली राजा बितेका पनि होइनन्। कुनै रानी सती गएकी पनि हैनन्। यो सब झुटो किंवदन्ती हो भन्छन् उनी त।
त्यस्तो घाटको कथा हो यो, जहाँ चेणोमा (चिहान) आगो लगाउने बित्तिाकै मलामी घर फर्किन्छन्। अनि तपाईंलाई लाग्न सक्छ, लास पूर्णरूपमा जले नजलेको कुरा कसरी थाहा हुन्छ ?
लास आधा मात्रै जल्यो भने के हुन्छ ? इतिहासमा लास नजलेको, आधा चलेको, टुक्रा बाँकी रहेको कुनै ‘रेकर्ड’ भेटिएको छैन। त्यस्तो कुनै घटना छैन, जहाँ लास नजलेको होस्।
उनका अनुसार तत्कालीन लम्गाउँ बासी र कठायतबाडा बासीका पुर्खाका चार दाजुभाइ रहेछन्। जेठो देवराज, माहिलो भोजराज, साइँलो (नाम याद नभएको तर उनी र उनका दरसन्तान काँडाको तुवाल बाडा बसेका रे) र कान्छो महीराज। उनले त छेडेदह आसपासको जग्गा जेठोको यो भाग, माहिलोको योग भाग, कान्छाको यो भाग भनेर हामीलाई देखाइदिए पनि।
‘जुन दिन यी तीन दाजुभाइ (काँडा बसेका भाइबाहेक) लम्गाउँ जन्म्या हुन्न र यहाँ बस्या हुन्न। हो त्यही समय धेकिको हो, यो मणापोल्नु (मसानघाट)। यहाँबाटी (बाट) मणो (लास) डोगडी लिनु भएन। बुढाबाडा लिनु भएन। उँथा (अनि) यही लास जलाउन सुरु हईंको (गरेको) हो। बाँकीसब झुटो हो।’ बडो आत्मविश्वासका साथ टोपी मिलाउँदै बिबेख्या बड्डाले हामीलाई भने।
000
अचेल घाट एक्लो छैन। पहिले घाट नजिक कुनै घर थिएनन्। फाट्टफुट्ट खर्क र छाना थिए। टहरा, दोकान र कटेज केही थिएनन्। रोड पुगिसकेको थिएन। बिजुलीबत्ती झन् थिएन। अचेल घाटआसपास सब चिज छ। एक हिसाबले घाट गुल्जार छ। घाटबाट करिब ५० मिटरको दूरीमा ‘दि हिमालयन कटेज’ छ। कटेजको छेउमै ‘मुकेश अल्लो उद्योग’ छ। कटेज र उद्योगका मालिक मेरा आदरणीय गुरु मीनबहादुर धामी हुन्।
उहाँले सुनेको किंवदन्तीअनुसार बुढाबाडा (लम्गाउँभन्दा पल्लो गाउँ) र लम्गाउँबीच मनमुटाव, झगडा या अन्य कुनै कारणले लम्गाउँको लास बुढाबाडाको घाटमा उताका मान्छेले लान दिएनन् रे ! अनि लम्गाउँको लास ओखणतोला (डोगडीको घाट) लैजाँदै गर्दा अँधेरो भएछ। त्यही कारण छेडेदहमा जलाएछन्। त्यहाँ पहिले राजालाई पनि जलाएको घाट भएकाले अन्य प्रजालाई पनि जलाउँदा फरक नपर्ला भनेर घाट सुरु भएछ। पछि यसैलाई आफ्नो गाउँको घाट बनाउने कुरामा गाउँलेको एक मत भयो रे !
000
कथाका ‘कुटिरा’ हृदयमा बोकेर म फर्किएँ। घाम भोलि फर्कने गरी रिठ्याका डाँडामा बास बस्न जाँदै थियो। ताल वरपर गाईबस्तुका लामालामा छायाँ देखिन्थे। साँझ धरतीमा अवतरण हुनै लागेको थियो। कोही ताल वरपर सेल्फी खिच्दै थिए।
देख न चम्पा, सुन न चम्पा
हाम्रा त तम्रा बाहेक को छ र ?
तम्रा नि हाम्रा बाहेक को छ र ?
एउटा जोडीले शान्ति प्रियाको यो गीतमा टिकटक बनाउँदै गरेको दृश्य बाटोबाटै देखिन्थ्यो।
प्रायः लासलाई घरबाट घाटतिर लैजाँदा ओरालो बाटो हुँदै लैजान्छन्। किनकि घाटहरू गाउँबाट ओरालो दिशामा पर्छन्। कुनै कुनै घाटहरू घरबाट पाइलो बाटोमा पर्न सक्छन्। तर यो एउटा यस्तो घाट हो, जहाँ लास उकालो चढ्छन्।
घाटै डाँडामा भएपछि
उकालो त चढ्नै पर्यो।
छेडेदह हुँदै हिँड्ने हँट्यारु (बटुवा) छिटोछिटो पाइला चाल्दै थिए। जीवनमा सबै ‘हतार’ बोकेर हिँडेका हुँदा रहेछन्। मलाई आफ्नै हतार छ। हँट्यारुलाई आफ्नै किसिमको हतार छ। गोठालालाई पनि हतार छ। हतार नभएको त पृथ्वी मात्रै रहेछ। पृथ्वीलाई हतार छैन।
अनिवार्यता चाहिँ छ। उसले २४ घण्टाभित्र आफ्नो अक्षमा एक फन्को लाइसक्नुपर्छ। नत्र दिन र रातको तालिका बिग्रन्छ। तालिका बिग्रेपछि धेरै चिज छुटी जान्छ। तालिका बिग्रनु भनेको पृथ्वीको स्वास्थ्य बिग्रनु हो। स्वास्थ्य बिग्रँदा हिमालबाट हिउँ हराउँछ। सागरको गहिराइ घट्छ।
स्वास्थ्य बिग्रनु भनेको दुःख निम्तिनु हो। छेडेदहका पनि आफ्नै दुःख छन्। छेडेदहको दक्षिण पश्चिम भागतिर वर्षाैंदेखि भीषण पहिरो छ। सरोकारवाला निकाय मौन छन्। समयमा हाम्रो ध्यान पहिरो रोकथाममा पुगेन भने ‘छेडेदह ताल’ इतिहास हुन सक्छ। छेडेदहमा पहिरो जानु पहिले सरोकारवाला निकायको मनमा पहिरो जाओस्।
घाट, मन्दिर र तालको सिलसिला यतै टुंगिन्छ। ‘घाट, मन्दिर र ताल’ पढिभ्याउने तपाईंहरूलाई बाजुरा भ्रमणका लागि चुलै निम्तो छ। मेरो जधौ छ। नमस्कार छ। ढोग छ। तमी (तपाईं) सब्बै एक रौका (पटक) बाजुरा आइझाया हा (है)।