मुस्ताङमा भौतिक निर्माणको काम ठप्प
जोमसोम : मुस्ताङमा अत्यधिक चिसो बढेसँगै भौतिक विकास निर्माणको काम ठप्प भएको छ। चिसोको कारण उपकरण सञ्चालन, जनशक्ति व्यवस्थापन तथा विकास निर्माण कार्यमा अवरोध सिर्जना भएकाले दर्जनौं योजनाको काम रोकिएको हो।
बेनी-जोमसोम-कोरला सडक आयोजनाअन्तर्गत मुस्ताङ खण्डको सडक निर्माण योजनाको काम चिसोले प्रभावित भएका हुन्। मुस्ताङमा निर्माणाधीन केही सडक तथा पुलका योजनाहरू निर्माण कम्पनीका कारण अलपत्र छन्। आयोजना अन्तर्गत सञ्चालनमा रहेका केही योजनाहरू पनि अहिले चिसोका कारण रोकिएको कालीगण्डकी करिडोर (बेनी-जोमसोम-कोरला) सडक आयोजनाका प्रमुख धुव्र झाले बताए।
आयोजना प्रमुख झाका अनुसार मुस्ताङमा आयोजनाका विकासका कामहरू पुस अगावै चिसोले ठप्पै रोकिएको हो। मुस्ताङको तापक्रम माइनसमा झरेको छ। उपल्लो मुस्ताङमा झनै अत्यधिक चिसोले स्थानीय नागरिकको दैनिकी समेत निकै कष्टकर छ। यसैका कारण पनि विकास योजनाका कामहरू सञ्चालन गर्न निकै चुनौती हुन्छ।
चिसोका कारण विकास निर्माण कार्यका लागि परिचालन हुने उपकरणहरू स्टार्ट नहुने, निर्माण स्थलमा काम गर्न नसकिने भएकाले विकास निर्माणमा प्रयोग भएका उपकरण चलाउने अपरेटरहरू कार्यस्थलमा खटिन सक्दैनन्। चिसोले सडक तथा पुल लगायतका विभिन्न योजनामा परिचालन भएका मजदुर जनशक्ति समेत चिसो सहन नसकेर अन्य स्थानमा फर्किने गर्छन्। चिसोले विकास निर्माणको कार्य गर्दा सिमेन्ट, छठ र बालुवाको काम गर्न सक्ने अवस्था रहँदैन।