संसदीय निर्वाचन बिर्साउने उपभोक्ता समितिको चुनाव

संसदीय निर्वाचन बिर्साउने उपभोक्ता समितिको चुनाव

सिरहा : सुरक्षा घेराभित्र मतदान केन्द्र। महिला र पुरुष मतदाताका अलग–अलग लाइन। भित्र प्रवेश गर्नेबित्तिकै मतदाता नामावलीमा नाम रुजु गर्ने दलका प्रतिनिधि। नाम रुजुपछि मतपत्र दिइन्थ्यो। अनि, इच्छाएको उम्मेदवारलाई मत दिइन्थ्यो। सिरहाको गोलबजारमा शुक्रबार चुनाव थियो। लाग्थ्यो, कुनै संसदीय वा स्थानीय तहको चुनाव भइरहेको छ। तर, चुनाव त थियो–खानेपानी उपभोक्ता समितिको।
चुनावको प्रचार–प्रसार देख्दा खानेपानी उपभोक्ता समितिको भन्ने भान नै हुँदैनथ्यो। त्यति मात्र होइन, यो चुनावलाई पार्टीहरूले प्रतिष्ठाको विषय बनाएका थिए। दलीय गठबन्धन थिए। घर दैलो र मतदाता शिक्षा यति व्यापक थियो कि– कुनै संसदीय चुनावभन्दा कम थिएन। प्रचार–प्रसार र भोजभतेरमा लाखौं खर्च गरिएको थियो। कानै फुट्ने गरी ‘डिजे’ बजाएका थिए। गाडीका लावालस्कर देख्दा लाग्थो, भव्य मेला चलिरहेको छ।

चुनाव सम्पन्न पछिको विजयी र्‍यालीको कुरै नगरौं। सयौंको जुलुस निस्केका थिए। दलीय पक्ष–विपक्षमा नारावाजी थिए। गोलबजार खानेपानीको चुनावले संसदीय निर्वाचनलाई नै बिर्साएको थियो। 

गोलबजार खानेपानी तथा सरसफाइ आयोजना उपभोक्ता समितिको चुनावबाट माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उम्मेदवार विजयी भए। कांग्रेस, एमाले, जनता समाजवादी पार्टी(जसपा) र नेकपा (एकीकृत समाजवादी) गठबन्धनका उम्मेदवार पराजित भए। 

कांग्रेसको भोट बाँडिएको स्थानीय नेताहरू बताउँछन्। त्यसैकारणा, माओवादी र रास्वपाका साझा उम्मेदवार जीवछ साह ३ सय ८४ मत प्राप्त गरी उपभोक्ता समिति अध्यक्ष निर्वाचित भए। यस्तै, उपाध्यक्ष अनिलकुमार साह ३ सय ९१ मत, सचिवमा पुजनकुमार सिंह ४ सय १० मत, कोषाध्यक्षमा निर्मला कुमारी ३ सय ८४ मत, सहसचिवमा रामेश्वर साह ३ सय ६७ मत पाएर चुनाव जिते। 

सदस्यहरूमा चिनुकुमारी भुजेल ३ सय ६७ मत, रामकृपाल साह ३ सय ८० मत, कुशेस्वर पासमान ३ सय ७२ मत, सुनिता कुमारी यादव ३ सय ७१ मत ल्याएर निर्वाचित भए। एमालेका प्रमोदकुमार लामाको प्यानल पराजित भयो। अध्यक्षमा लामाले ३ सय १६ मत पाएका थिए। चुनाव लडेकाहरू विभिन्न पार्टीका विभिन्न कमिटीमा क्रियाशील हुन्। उनीहरू पार्टीबाट चुनाव लडे पनि चुनाव चिन्ह भने पार्टीको थिएन। लामाको मुढा र साहको सूर्यमुखी फूल चुनाव चिन्ह थियो। उनीहरूका लागि पार्टीका नेताहरूले मत मागेका थिए।  

शुक्रबार बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान भएको थियो। मत परिणाम शनिबार सार्वजनिक भयो। विजयी उम्मेदवारले  माओवादी पार्टीका गीत बजाउँदै विजयी र्‍याली प्रदर्शन गरे। र्‍यालीले नगर परिक्रमा गरेको थियो। अध्यक्षमा निर्वाचित जीवछ साह मंसिरमा मात्रै एमाले छाडेर माओवादीमा प्रवेश गरेका थिए। पराजित लामा माओवादी छाडेर ०७८ सालमा एमालेमा समाहित भएका थिए। स्थानीयका अनुसार माओवादीका पूर्वमन्त्री विश्वनाथ साह र एमालेका पूर्वमन्त्री लीलानाथ   श्रेष्ठले आफ्नो राजनीति वर्चस्व जमाउन खोज्दा खानेपानी समिति गठनकै लागि चुनाव भएको हो। 

सानो संस्था, ठूलै चुनाव 

यो खानेपानी आयोजनाको पहुँच नगरका ३ वडामा मात्रै छ। १३ वटा वडा रहेको गोलबजार नगरपालिकाको वडा २, ४ र ६ मा मात्रै यो खानेपानीको पहुँच छ। त्यसमा पनि ८ सय ६७ घरधुरीलाई पानी जडान छ। तर, १ सय ५० घरधुरीमा मात्रै खानेपानी सञ्चालनमा छ। २७ वर्ष पुरानो आयोजना भए पनि २ वर्षदेखि मात्रै केही स्थानीयले खानेपानी उपभोग गर्न पाएका हुन्। उपभोक्तासँग न्यूनतम शुल्क पनि उठाउन सकेको छैन्। त्यति मात्र होइन, ठाउँ–ठाउँमा खानेपानीको पाइप अवरुद्ध छ। भौतिक संरचनाहरू जीर्ण हुँदै गएका छन्। ४ वटा बोरिङमध्ये एउटा मात्रै सञ्चालनमा छ। माओवादीका पूर्वमन्त्री विश्वनाथ साहका दाजु देवनाथ साह २७ वर्षसम्म समितिका अध्यक्ष थिए। उनी गोलबजार नगरपालिकाका पूर्वमेयर पनि हुन्।

०७९ को स्थानीय तह निर्वाचनमा साहले चुनाव हारे। एमाले नेता लीलानाथ    श्रेष्ठका भाइ श्याम    श्रेष्ठले चुनाव जिते। त्यसपछि खानेपानीको साधारणसभाबाट सहमतिका आधारमा नेतृत्व चयन हुन सकेन, चुनावमै सबै दल सहमत भए। ‘उपभोक्ताले चुनावकै प्रक्रियाबाट भएपनि समिति चयन गर्नु सुखद पक्ष हो। तर, चुनावलाई जुन भडकिलो, खर्चिलो, राजनीतीकरण बनाइयो त्यो दुखद् पक्ष हो,’ स्थानीय अर्जुन थपलियाले भने, ‘यहाँ तामझामका साथ घरदैलो गरियो। डिजे बजाइए। भोजभतेरमा लाखौँ खर्च गरियो। गाडीका लावालस्कर प्रदर्शन गरिए।’ यहाँ दुई पार्टीका नेताहरूबीचको राजनीति वर्चस्वको लडाईमा चुनाव भएको उनको भनाई छ। खानेपानी, विद्यालय, उद्योग वाणिज्य संघमा राजनीति हुनु ठीक नभएको उनको तर्क छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.