एसिसी महिला यु–१९ एसिया कप खेलेर नेपाली टोली स्वदेश फर्कियो
काठमाडौं : एसिसी महिला यु–१९ एसिया कप खेलेर नेपाली टोली आइतबार स्वदेश फर्किएको छ।
एसिसी महिला यु–१९ एसिया कप अन्तर्गत सुपर फोरबाटै बाहरिएपछि नेपाली टोली स्वदेश फर्किएको हो। स्वदेश फर्किएको नेपाली टोलीलाई आइतबार त्रिभुवन बिमानस्थलमा क्यानका पदाधिकारिहरूले स्वागत गरेका थिए। शुक्रबार भएको सुपर फोरको आफ्नो दोस्रो तथा अन्तिम खेलमा बंगलादेशसँग नौ विकेट पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको थियो।
स्वदेश फर्किपछि महिला यु–१९ नेपाली टोलीकी कप्तान पूजा महतोले एसिया कपमा तेस्रो स्थान हासिल गर्दा खुसी लागेको बताइन्। उनले खेलहरू राम्रो भइरहँदा वर्षाका कारण लय समात्न समस्या भएको बताइन्।
त्यस्तै महिला यु–१९ नेपाली टोलीका प्रशिक्षक महेश रिजालले यु–१९ एसिया कपको नजिता सन्तोष जनक र अनुभव प्राप्त भएको बताए। नेपालले समूह ‘बी’ को उपविजेता तथा बंगलादेशले समूह ‘ए’ को विजेताका रूपमा सुपर फोरको यात्रा तय गरेका थिए।
समूह चरणमा पाकिस्तानलाई ६ विकेटले पराजित गरेको नेपालले भारतसँग वर्षाका कारण अंक बाँडेको थियो। त्यस्तै सुपर फोरको पहिलो खेल वर्षाका कारण रद्द भएपछि नेपालले श्रीलंकासँग अंक बाँड्नुपरेको थियो।