खानेपानीका योजनालाई प्रभावकारी रूपमा अघि बढाइन्छ : खानेपानीमन्त्री यादव

खानेपानीका योजनालाई प्रभावकारी रूपमा अघि बढाइन्छ : खानेपानीमन्त्री यादव
सुन्नुहोस्

नुवाकोट : संघीय खानेपानी मन्त्री प्रदीप यादवले नुवाकोटमा बाढी र पहिरोले क्षतिग्रस्त विदुर खानेपानी आयोजनाको मुहानको स्थलगत अवलोकन गरेका छन्। उनले तत्काल र दीर्घकालीन रूपमा गर्नुपर्ने कार्यहरूको योजना बनाएर अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन्।

नुवाकोटको विदुर नपाभित्रका ४५ सय घरधुरीले पिउँदै आएको फलाखु खोलाको मुहानमा पुगेर मन्त्री यादवसहितको टोलीले आयोजनालाई प्रभावकारी रूपमा अगाडि बढाउने आफूले प्राविधिक टोली खटाउने बताए। 

विदुर नपाभित्र खानेपानी उपलब्ध गराउँदै आइरहेको विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामार्फत सञ्चालित खानेपानी ल्याइएको फलाखु खोलाको बाँधस्थल र पाइप लाइनमा बाढी र पहिरोले गरेको क्षतिको पुनर्निर्माण तथा खानेपानीको बाँध निर्माणको लागि मन्त्री यादवसहितको टोलीले स्थलगत निरीक्षण गरेका हुन्।

उनले मन्त्रालयको तर्फबाट आवश्यक सहयोग, सहजीकरण तथा योजना कार्यान्वयनमा सहयोगको प्रतिबद्धता जनाएका छन्। उनले पिउने पानी महत्त्वपूर्ण रहेको र यसको मर्मत तथा पुनर्निर्माण कार्यहरूलाई सम्पन्न गर्न आवश्यक सहयोग र सहजीकरण गर्ने आश्वासन दिएका हुन्।

सोही क्रममा विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले खानेपानी मन्त्री प्रदीप यादवसमक्ष विभिन्न आठ बुँदे मागसहित ज्ञापनपत्र बुझाएका छन्। खानेपानीको फलाखु मुहान अवलोकनमा पुगेका मन्त्री यादवलाई बाँधस्थलमै संस्थाका अध्यक्ष सञ्जीवबहादुर श्रेष्ठले विदुर नपाका मेयर राजन श्रेष्ठको उपस्थितिमा ज्ञापनपत्र बुझाएका हुन्।

समितिले मन्त्री यादवसमक्ष खानेपानीमा प्रयोग हुने विद्युत् महसुल ५० प्रतिशत छुट हुनुपर्ने, साना सहरीअन्तर्गत लगानी भएको आयोजनामा नगर विकास कोषको ऋणमा ब्याजदर मिनाह हुनुपर्ने र आयोजनामा उपभोक्ता समितिले व्यहोर्नुपर्ने २५ प्रतिशत ऋणभारलाई हटाई १० प्रतिशत गर्नुपर्ने लगायतका माग छन्। सफा र स्वास्थ्य खानेपानी प्राप्त गर्नु हरेक नागरिकको नैसर्गिक अधिकार भएको हुँदा उपभोग गर्ने घरधुरी र जनसंख्याको आधारमा खानेपानी उपभोक्ता संस्थालाई राज्यबाट व्यवस्थापन खर्च वार्षिक रूपमा प्राप्त हुनुपर्ने माग रहेको छ।

विदुर खानेपानीको मुख्य मुहान फलाखु खोलाको किनारामा रहेको १ हजार ५ सय मिटर पाइपलाइन हरेक वर्ष बाढी पहिरोबाट क्षतिग्रस्त भइरहने हुने हुँदा वार्षिक रूपमा संघीय सरकारबाट मर्मत सम्हारको लागि ५० लाख रुपैयाँ मर्मत खर्च छुट्ट्याउनुपर्ने, विदुर नपाको सात वटा वडाको २५ हजार जनताको खानेपानीसँग जोडिएको तादी खोलाको किनारमा निर्माणाधीन सम्बवेल खानेपानीको १६ इन्च पाइप लाइनलाई सम्भव भएसम्म सबै पाइप लाइन सौर्य ऊर्जाबाट चल्ने सम्भव नभए विदुर नपा-५ को पीपलटारको सात सय घरधुरीसँग जोडिएको ४ इन्च पाइप लाइनलाई सौर्य ऊर्जाबाट सञ्चालन गनुपर्ने माग गरेका छन्।

मन्त्री यादवसहितको टोली पहिलो पटक विदुर खानेपानीको फलाखु मुहान अवलोकनमा पुगेका हुन्। मन्त्री यादवले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। फलाखु मुहानबाट विदुर नगरपालिकास्थित विदुर, बट्टार, त्रिशूलीका बासिन्दालाई पानी वितरण गरिँदै आएको छ। तर, उक्त मुहानमा वर्षातको समयमा बाढी र पहिरोले क्षतिग्रस्त हुने गरेको संस्थाका सचिव राजेन्द्र पाण्डेको भनाइ छ।

गत साउन १० र ११ गते आएको अविरल वर्षातका कारण पनि निकै ठूलो क्षति हुन पुगेको थियो। त्यसबेला मर्मतका लागि तीन महिना समय लागेको थियो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.