सुदूरपश्चिममा किन गइरहन्छ भूकम्प ?
टीकापुर : सुदूरपश्चिमको बिकट पहाडी जिल्ला बाजुराको जगन्नाथ गाउँपालिका गोत्री केन्द्र बनाएर शनिबार ५.२ रेक्टर स्केलको भूकम्प गयो । पालिकाले आइतबार तयार गरेको प्रारम्भिक तथ्यांकअनुसार वडा नं. ५ दर्जी गाउँका दर्जनौं घरसहित पालिकाका ३ सय ६३ घरमा भूकम्पले क्षति पुर्यायो । पालिका अध्यक्ष कालीबहादुर शाहीका अनुसार ६ वडा रहेको पालिकामा मानवीय क्षति नभए पनि दर्जनौं घर भत्किनुका साथै दर्जनौं घरमा चिराचिरा परेका छन् ।
‘शनिबारको भूकम्पले घरमा चिरा परेपछि पीडितहरू त्रिपालमा बस्ने व्यवस्था मिलाएका छौं’, अध्यक्ष शाहीले भने, ‘पहाडी जिल्लामा रहेका पुराना माटो र ढुंगाले बनेका घरहरू पटक–पटक आइरहेको भूकम्पले चिराचिरा परेका हुन्, त्यस्ता घरमा बस्ने अवस्था छैन ।’
बाजुराकै स्वामीकार्तिक गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाका अनुसार वडा नं. ५ को भैरबनाथ माध्यमिक विद्यालयको भवनसहित ७० भन्दा बढी घरमा क्षति पुगेको छ । ‘पटक–पटक गइरहेको भूकम्पले पालिकाका अधिकांश घरहरूमा क्षति पुगेको छ, घरहरू बस्ने अवस्थामा छैनन्’, अध्यक्ष रोकायाले भने, ‘पुराना घरहरूका कारण थप जोखिम छ, हामी त भगवान भरोसा बाँचिरहेका छौं ।’
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार २०७९ असोज यता सुदूरपश्चिममा साना–ठूला गरी ३७ पटक भूकम्प गएको छ । पछिल्लो एक वर्षको अवधिमा बाजुरामा मात्रै १६ पटक भूकम्प गएको केन्द्रको तथ्यांक छ । सबैभन्दा ठूलो ५.९ रेक्टर स्केलको भूकम्प ०७९ माघ १० गते र २०८० वैशाख १५ गते बाजुराको बिच्छ्या केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । माघ १० गतेको भूकम्पमा परी गौमुल गाउँपालिका–२ की जमुना रोकायाको ज्यान गएको थियो भने २१ वटा घरमा पूर्णक्षति, ४४ घरमा आंशिक र ४० घरमा सामान्य क्षति पुुगेको थियो ।
बझाङ केन्द्रबिन्दुु बनाएर २०८० असोज यता १४ पटक भूकम्प गएको केन्द्रको अभिलेखमा उल्लेख छ । केन्द्रका अनुसार बझाङमा ५.३ रेक्टर स्केलको भूकम्प गएको झन्डै २१ मिनेटपछि ६.३ रेक्टर स्केलको ठूलो भूकम्प गएको थियो । मानवीय क्षति नभए पनि भूकम्पका कारण बझाङका सयौं घरमा क्षति पुगेको हो । छ जनाको ज्यानै जाने गरी डोटीमा २०७९ कात्तिक २३ गते राति ६.६ रेक्टर स्केलको भूकम्प गएको थियो ।
भूकम्पबाट पूर्वीचौकी गाउँपालिका ३ गैरागाउँका ५० वर्षीय प्रेम बोहरा, ४० वर्षीया भगवती बोहरा, १३ वर्षीया सीता बोहरा, ८ वर्षीय हर्क बोहरा, १४ वर्षीया धनसरी बोहरा, १४ वर्षीया तुलछी बोहराको ज्यान गएको थियो भने ५ जना घाइते भएका थिए । त्यसको अघिल्लो राति खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु भएर ५.७, ४.१ रेक्टर स्केलको भूकम्प गएको थियो । पटक–पटक गइरहेका साना तथा मझौला खालका भूकम्पले सुदूरपश्चिमका पहाडी जिल्लाका बासिन्दा त्रसित बनिरहेका छन् । भूकम्पविद्हरू दक्षिणबाट सर्दै आएको ‘इन्डियन प्लेट’ उत्तरको ‘युरेसियन प्लेट’ को मुनि घुस्रिन खोज्ने क्षेत्रमा परेका कारण नेपाल भूकम्पको उच्च जोखिमको क्षेत्रमा परेको बताउँछन् ।
अध्ययनअनुसार पश्चिम नेपालमा सन् १५०५ पछि ठूलो भूकम्प गएको छैन । जमिनमुनि जति बढी समयसम्म ऊर्जा सञ्चित हुन्छ, भूकम्प त्यति नै बढी शक्तिशाली हुने भूगर्भविद्हरू बताउँछन् ।
‘पश्चिमोत्तर भारत र पश्चिम नेपालमा ठूलो भूकम्प नगएको पाँच सय वर्ष बढी भइसकेकाले पनि यो क्षेत्र भूकम्पको उच्च जोखिमयुक्त क्षेत्र मानिएको हो’, भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख भूकम्पविद् चिन्तन तिम्सिनाले भने, ‘ठूलो भूकम्प जाने शक्ति पश्चिम नेपालमा सञ्चय भइरहेकाले पनि दुई वर्षयता पश्चिम नेपालमा पटक–पटक भूकम्प गइरहेको छ ।’
खानी तथा भूगर्भ विभागले गत वर्ष तयार पारेको भूकम्पीय जोखिम नक्सा (एसएचएम) मा पश्चिम नेपालमा लामो समयदेखि ठूलो भूकम्प नआएकाले त्यो क्षेत्रलाई पनि भूकम्पको बढी जोखिमयुक्त क्षेत्रको रूपमा औंल्याइएको छ ।गोरखादेखि पश्चिम भारतको देहरादुनसम्म लामो समय ठूला भूकम्पीय गतिविधि नभएकाले सो क्षेत्रमा बढी ऊर्जा सञ्चित भएर बसेको अनुमान छ । यदि भूकम्प गएमा नेपालको पूर्वदेखि पश्चिमसम्मै फैलिएको चुरे पहाड र त्यस आसपासको क्षेत्रमा भूकम्पबाट बढी क्षति हुनसक्ने सम्भावना औंल्याइएको हो ।
भूकम्पविद् तिम्सिना पश्चिम नेपालमा पटक–पटक गइरहेको भूकम्पले ठूलो भूकम्प आउने संकेतका रूपमा पूर्व तयारी गर्न ढिलाइ गर्न नहुने बताउँछन् । ‘भूकम्प प्रतिरोधात्मक भौतिक संरचना निर्माण गर्नेदेखि उद्धारलगायतका पूर्वतयारी गर्न साना भूकम्पले हामीलाई संकेत गरिरहेका रूपमा बुझ्नुपर्छ’, तिम्सिनाले भने ।
२०७२ सालमा गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको भूकम्पपछि विपद् जोखिम न्यूनीकरणका लागि सुदूरपश्चिममा प्रदेशस्तरीय आपतकालीन कार्य सञ्चालन केन्द्र गठन गरिएको छ ।
केन्द्रले हरेक पालिकामा स्थानीय आपतकालीन कार्यसञ्चालन केन्द्र र जिल्लामा जिल्लास्तरीय आपतकालीन केन्द्र सञ्चालन गरिरहेको छ । भूकम्पनको उच्च जोखिममा रहेको सुदूरपश्चिममा केन्द्रले विपद् जोखिम न्यूनीकरण ऐन, प्रादेशिक कार्ययोजना, क्षेत्रगत अवधारणा र विपद् पूर्वतयारी प्रतिकार्य योजना बनाएको प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत गौरीलाल बुढाथोकी बताउँछन् ।
‘मुख्य रूपमा विपद्बाट हुने क्षति न्यूनीकरणका लागि समुदायको क्षमता अभिवृद्धि गर्न, विभिन्न संघसंस्थालाई एउटै छानामुनि ल्याएर विपद् प्रतिकार्यका कामहरू भइरहेका छन्’, अधिकृत बुढाथोकीले भने, ‘विपद् आउँदा हामीले बनाएरका संरचनाहरूले काम गर्ने छन् ।’नीतिगत रूपमा विपद्को तयारी भइरहेको भए पनि भौतिक पूर्वाधार निर्माण, समुदायस्तरमा सचेतना वृद्धि र सुदूर पहाडमा रहेका पूराना तथा जीर्ण भवनका कारण यो क्षेत्र भूकम्पीय उच्च जोखिममा रहेको छ ।