साम्प्रदायिक दुर्व्यवहार गर्नेलाई कारबाही गर्न माग

साम्प्रदायिक दुर्व्यवहार गर्नेलाई कारबाही गर्न माग

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि विजेता जनकपुर बोल्ट्सका समर्थकमाथि खेल मैदान  क्षेत्रमै भएको भौतिक आक्रमण, सम्प्रदायिक तथा भेदभावजन्य घटनामा सलग्नलाई कारबाही गर्न चौतर्फी अवाज उठेको छ।

मधेसी आयोग, मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, कांग्रेस पार्टीका महामन्त्री गगन थापालगायत नेता तथा पार्टीहरूले प्रेस विज्ञप्ति निकाल्दै घटनाको निन्दा गर्दै दोषीलाई कारबाहीको माग गरेका छन्।

शनिबार टीयुको खेलमैदानमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच फाइनल खेल भएको थियो। खेलको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो। खेलअघि र खेल सम्पन्नपश्चात् जनकपुर बोल्ट्सका समर्थकहरूमाथि कुटपिट र सम्प्रदायिक दुव्र्यवहार भएको थियो। सामाजिक सञ्जालमा बोल्ट्सका समर्थकहरूमाथि सम्प्रदायिक अभिव्यक्ति र घृणा फैलाइएको छ।

मधेसी आयोगले दोषीलाई तुरुन्त पहिचान गरी कारबाही गर्न नेपाल प्रहरी प्रधान कार्यालय नक्साललाई पत्राचार गरेको छ। ‘पुस ६ गते जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच भएको अन्तिम खेलपश्चात् एक अराजक तथा उदण्ड समूहका दर्जनौं व्यक्तिले जनकपुर बोल्ट्सका समर्थकहरूलाई रडसहित अन्य हातहतियारको प्रयोग गरी गम्भीर घाइते बनाएको, सामाजिक सञ्जालमार्फत नश्लीय तथा रंगभेदी शब्दहरूको प्रयोग गरी अपमानित गरेको घटना सम्बन्धमा आयोगको गम्भीर ध्यानाकर्षण भएको छ’, आयोगकी उपसचिव सविता डंगोलले प्रहरी प्रधान कार्यालयमा गरेको पत्रमा उल्लेख छ, ‘यस्ता अराजक गतिविधिले सामाजिक तथा साम्प्रदायिक सद्भावउपर खलल पुर्‍याउने आयोगको ठहर छ। तसर्थ त्यस घटनामा संलग्न दोषीहरूको यथाशीघ्र पहिचान गरी कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउनुहुन आदेशानुसार अनुरोध छ।’ 

खेल हेर्न आएका मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले रंगका आधारमा जनकपुर बोल्ट्सका समर्थकहरूमाथि खेल मैदानमै गरिएको कुटपिट र दुर्व्यवहारजन्य घटना असह्य र पीडादायी रहेको बताएका छन्। दोषीलाई कारबाहीको काम गर्दै मुख्यमन्त्री सिंहले आइतबार विज्ञप्ति नै जारी गरेका छन् 

जनकपुर बोल्ट्सका समर्थकमाथि केही अराजक र उपद्रवी समूहद्वारा गरिएको सांघातिक आक्रमणप्रति प्रदेश करकारको गम्भीर ध्यानाकर्षण भएको मुख्यमन्त्री सिंहले बताएका छन्। ‘खेलकुद प्रतिस्पर्धाका क्रममा दर्शकहरू स्वाभाविक रूपमा दुई पक्षमा विभाजित हुने र समर्थन दिने हुन्छ,’ मुख्यमन्त्रीले विज्ञप्तिमा भनेका छन्, ‘तर, त्यस कारणले नै एउटा पक्षले अर्को पक्षलाई साम्प्रदायिक संकीर्णता, दूराग्रह र द्वेषपूर्ण घृणाकै कारण भौतिक आक्रमणलगायतका दुर्व्यवहार गर्नु निन्दनीय र दुर्भाग्यपूर्ण छ।’

जनकपुर बोल्ट्सका खेलाडी तथा समर्थकमाथि दूराशय तथा विभेदपूर्ण नियतका साथ गरिएको अभद्र एवं अपमानजनक व्यवहार नेपालको संविधान तथा कानुनविपरीतको व्यवहार पनि भएको मुख्यमन्त्री सिंहले उल्लेख गरेका छन्।

त्यसैगरी, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले एनपीएल प्रतियोगिताको क्रममा जनकपुर बोल्ट्सका समर्थकमाथि केही अराजक व्यक्ति÷समूहबाट भएको भौतिक आक्रमण र नश्लीय/रंगभेदी गालीगलौज अत्यन्त आपत्तिजनक रहेको बताएका छन्।
‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त देशमा कुनै समुदायमाथि रंगका आधारमा गरिने दुर्व्यवहार र आक्रमण दण्डनीय हुने डा. भट्टराईको भनाइ छ। 

कांग्रेसका महामन्त्री गगन थापाले बोल्ट्सका समर्थकमाथि भएको नश्लीय र साम्प्रदायिक व्यवहार निकै दुःखलाग्ने खालको रहेको बताएका छन्। उनले भनेका छन्, ‘मधेसी आयोगले यसको कानुनी उपचार खोज्दै कारबाही गर्न गृह प्रशासनलाई सिफारिस गरेको छ, जुन एकदमै सकारात्मक छ। सरकारले यसमा तुरुन्तै कारबाही अगाडि बढाओस्।’ 

घटनाको विरोधमा जनमत पार्टीले पनि प्रेस विज्ञप्ति जारी गरेको छ। पार्टी प्रवक्ता डा.शरद सिंह यादवले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘एपीएलको फाइनल खेलपछि काठमाडौंमा विजयी उत्सव मनाइरहेका जनकपुर बोल्ट्सका समर्थक मधेसी समुदायका मान्छेहरूलाई लक्षित गरेर नश्लीय सोच बोकेका केहीले विभिन्न अपमानजनक शब्द प्रयोग गर्दै आक्रमण तथा कुटपिटप्रति जनमत पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्ता रंगभेदी क्रियाकलाप गर्ने व्यक्तिहरुको पहिचान गरी गृह प्रशासनले कानुनी दायरामा ल्याई कडाभन्दा कडा कारबाही गर्नुपर्छ।’

त्यसैगरी, राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले पनि घटना संलग्नमाथि कडा कारबाहीको माग गरेका छन्। ‘जनकपुर बोल्ट्सका समर्थकलाई लक्षित गर्दै मधेसी पहिचान बोकेकाहरूमाथि नश्लीय आधारमा बर्बर हिंसात्मक आक्रमण गरियो।

सामाजिक सञ्जालमा आपत्तिजनक घृणा र तुच्छ गालीगलोज एवं अपमानपूर्ण शब्दहरूले सम्पूर्ण मधेसी समुदाय मर्माहत भएको छ’, उनले भनेका छन्, ‘यो कार्य घोर भत्र्सानायोग्य र दण्डनीय छ। यसले सम्पूर्ण खेलकुद प्रेमीलाई स्तब्ध र दुखित बनाएको छ।’ यस प्रकारको हिंसा, विभेद र दुव्र्यवहारले समाजको आधारभूत मूल्यमान्यता एवं सद्भावमा खलल पुर्‍याएको उनको भनाइ छ।

प्रहरीको छानबिन सुरु 

नेपाल प्रिमियर लिग एनपीएलको फाइनलपश्चात् टियु मैदानबाहिर युवक कुटिएको घटनामा प्रहरीले छानबिन थालेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले उक्त घटनाको छानबिन सुरु गरेको हो। परिसरका प्रवक्ता नवराज अधिकारीले प्रहरीले छानबिन सुरु गरेको जानकारी दिए। 

शनिबार जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच भएको फाइनल खेल सकिएपछि त्रिवि क्रिकेट मैदान बाहिर  युवकमाथि कुटपिट भएको थियो। सामाजिक सञ्जालमा उक्त कुटपिटको भिडियो भाइरल भएको छ। 

शनिबार त्रिभुवन विश्वविद्यालयको गेटनजिकै एक समूहले सर्लाहीको बलरा घर भएका अमनकुमार सिंहलाई कुटपिट गरेको घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको हो। त्रिवि गेट नजिकैको सडकमा बाटोमा साथीसँग हिँडिरहेका अमनकुमार सिंहलाई अर्को समूहले कुटपिट गरेको थियो। कुटपिटबाट घाइते भएका युवाको दुवै हात र शरीरको विभिन्न भागमा चोट लागेको छ। मैदानमा गेम सकिएलगत्तै जनकपुर बोल्ट्सका समर्थक रहेका उनीमाथि अन्य टिमका समर्थकले सांघातिक आक्रमण गरेको अनुमान प्रहरीको छ। घाइते युवाको वीर अस्पतालमा उपचार भइरहेको छ।

यस घटनाले सामाजिक सद्भाव बिथोल्न खोजेको घटना अस्वीकार्य भएको भन्दै कांग्रेस महामन्त्री गगन थापाले पनि आरोपीहरूलाई कानुनी दायरामा ल्याउन माग गरेका छन्। उनले भनेका छन्, ‘जनकपुर बोल्ट्सका समर्थकप्रति केही व्यक्ति र समूहबाट भएको नश्लीय र साम्प्रदायिक व्यवहार निकै दुःख लाग्ने खालको छ, सरकारले यसमा तुरुन्तै कारबाही अगाडि बढाओस्।

यस्तै जनमत पार्टीका अध्यक्ष सिके राउतले पनि घटनाको निन्दा गरेका छन्। आरोपीलाई तत्काल कारबाही गर्न माग गरेका छन्। कुटपिटका विषयमा तत्काल छानबिन गरेर दोषीमाथि कारबाही गर्न मधेसी आयोगले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.