सहकारी ठगी प्रकरण : रवि लामिछानेसहितका प्रतिवादीको आजदेखि बयान
पोखरा : सहकारी ठगीका आरोपित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित पाँच प्रतिवादीको आजदेखि जिल्ला अदालत कास्कीमा बयान हुने भएको छ। यसअघि आइतबार जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले सहकारी ठगी,संगठित अपराध र सम्पत्ति शुद्धिकरणसम्बन्धी कसूरमा ८ कम्पनी र ३६ व्यक्तिविरुद्ध मुद्दा दायर गरेको थियो ।
पुस १ गते कास्की प्रहरीले लामिछानेसहित अन्य व्यक्तिमाथि सहकारी ठगी,संगठित अपराध र सम्पत्ति शुद्धिकरणसम्बन्धी कसूरमा अनुसन्धान गरी सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएको थियो। सोही प्रतिवेदन अध्ययन गरी सरकारी वकिलको कार्यालयले आइतबार अदालतमा लामिछानेविरुद्ध अभियोग दायर गरेको हो।
लामिछानेमाथि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमासमेत मुद्दा दायर भएको छ । छविलाल जोशीसहित अदालतमा उपस्थित गराइएका पाँचजना प्रतिवादीको बयान हुने जिल्ला अदालत कास्कीले जनाएको छ। बयान सकिएपछि थुनछेक आदेश हुनेछ।
लामिछानेसहित १९ जनाविरुद्ध संगठित अपराधमासमेत मुद्दा चलाइएको जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले जनाएको छ। लामिछानेसँगै रामबहादुर खनाल, जोशी र लीला पछाइविरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर गरिएको छ।
लामिछानेमाथि सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार ७ सय बिगो दाबी माग गरिएको छ। यसैगरी जोशीविरुद्ध ७४ करोड ३४ लाख ७१ हजार, खनालसँग १४ करोड ३० लाख ९१ हजार ९ सय ११ र पछाइसँग २४ करोड ६७ लाख सात हजार २४ बिगो दाबी मा गरिएको छ।
सम्पत्ति शुद्धिकरणमा मुछिए पछि लामिछानेको सांसद पद समेत निलम्बनमा परेको छ। अब मुद्दाको अन्तिम किनारा नलाग्दासम्म लामिछानेको सांसद पद निलम्बनमा परेको हो। सरकारी वकिलको कार्यालय कास्कीले संघीय संसद सचिवालयलाई पत्र पठाएर लामिछानेको निलम्बनबारे औपचारिक जानकारी गराइसकेको छ।
सहकारी ठगीतर्फ लामिछानेलाई ३ करोड ३७ लाख ६५ हजार र जोशीविरुद्ध ५ करोड २६ लाख ६५ हजार र दीपेश पुनसँग २ करोड १४ लाख आठ हजार आठ सय ४३ बिगो माग गरिएको छ । सहकारी ठगीका आरोपित अन्य व्यक्तिलाई पनि कसुरअनुसारको बिगो र सजायको मागसहित मुद्दा दर्ता गरिएको सरकारी वकिलको कार्यालयले जनाएको छ ।
सहकारीको बचत रकम अपचलन गरेको आरोपमा सभापति लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए। उनीमाथि कास्कीसहित काठमाडौं,चितवन,रुपन्देही र पर्सामासमेत सहकारी ठगीको आरोपमा अनुसन्धान भइरहेको छ । सूर्यदर्शन सहकारी ठगीका मुख्य योजनाकार जीबी राईलगायत अन्य आरोपी भने अझै फरार छन् ।
यी हुन् प्रतिवादीहरू
देवकुमार नेपाली, बागलुङ
कृष्ण बहादुर गुरुङ, कास्की
अनन्तबाबु राई , ओखलढुङा
दिपा न्यौपाने, चितवन
कल्पना कुमारी श्रेष्ठ ,काठमाडौं
दिपेशकुमार पुन, काठमाडौं
विश्व विक्रम राई, ताप्लेजुङ
लक्ष्मीप्रसाद पौडेल , काठमाडौं
रोचक जोशी , काठमाडौं
गिता पछाई , ललितपुर
निकिता पौडेल, काठमाडौं
रविना रिमाल, ललितपुर
छबिलाल जोशी , काठमाडौं
लिला पछाई , ललितपुर
रवि लामिछाने , काठमाडौं
राम बहादुर खनाल, तनहु
ज्ञान बहादुर बम्जन, सिन्धुली
मिना गुरुङ , कास्की
सूर्यध्वज न्यौपाने , काठमाडौं
आरती गुरुङ , कास्की
पेशल कुमार राई , काठमाडौं
मिश्र कुमारी गुरुङ , कास्की
रितु ताम्राकार , कास्की
विशाल तामाङ , सिन्धुली
राधा पछाई , ललितपुर
शकुन्तला गुरुङ, कास्की
नविन अछामी , काठमाडौं
नेत्रपाणी बास्तोला , कास्की
पद्य्मा बन्जाडे , काठमाडौं
असरफ अलि सिद्दिकी, रुपन्देही
दिपक लामा , काठमाडौं
ओम प्रकाश गुरुङ , रुपन्देही
लिला बहादुर गुरुङ, ललितपुर
देवेन्द्रबाबु राई , ओखलढुङा
विज्ञान राई , उदयपुर
विरबहादुर रानाभाट , चितवन
गोरखा मिडिया नेटवर्क प्राईभेट लिमिटेड, काठमाडौं
नेचर हर्व्स इन्टरनेशनल प्राईभेट लिमिटेड , काठमाडौं
नेचरर नेष्ट प्राईभेट लिमिटेड काठमाडौं , काठमाडौं
स्प्रिङउड रियल स्टेट एण्ड हाउजिङ प्राईभेट लिमिटेड , काठमाडौं
नेपाल श्री मल्टी मिडिया प्राइभेट लिमिटेड , काठमाडौं
गोर्खा ग्रुप मल्टी इन्भेष्टमेण्ट प्राईभेट लिमिटेड , काठमाडौं
मन्दरा स्पा एण्ड वेलनेस सेन्टर प्राईभेट लिमिटेड, कास्की
जि.बि. ग्रुप अफ कम्पनीज प्राईभेट लिमिटेड, ललितपुर