नेपाल प्रिमियर लिगको फाइनल खेलमा सट्टेबाजी गर्ने दुईजना पक्राउ
काठमाडौं :नेपाल प्रिमियर लिगको फाइनल खेलमा सट्टेबाजी गरेको अभियोगमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत उत्तरप्रदेश आग्रा सिकान्द्रा पन्चायत घर भई काठमाडौं टोखा नगरपालिका-३ बस्ने ४७ वर्षीय हरिस जावा र ३८ वर्षीय ऋषि मातन रहेका छन् ।
उनीहरूले काठमाडौं टोखा नगरपालिका-३ स्थित ग्रान्डी टावरको नेप्चुन अपार्टमेन्टको फ्ल्याटमा नेपाल प्रिमियर लिगको फाइनल खेलमा सट्टेबाजी गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको हो। उनीहरूको साथबाट मोबाइल ५ थान, ल्यापटप १ थान र सिमकार्ड ८ थान समेत बरामद गरेको प्रहरीले जनाएको छ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।