राजमार्ग वरिपरि छ्यापछ्याप्ती अखाद्य वस्तु
ओखलढुंगा : ओखलढुंगामा राजमार्ग वरिपरिकै बजारमा अखाद्य वस्तु खुलेआम बिक्री वितरण भएको पाइएको छ । सिद्धिचरण राजमार्गको बीचमा पर्ने मानेभन्ज्याङ गाउँपालिकाको मुख्य बजार क्षेत्रमा खुलेआम अखाद्य वस्तु बिक्री वितरण हुने गरेके हो ।
घरेलु तथा साना उद्योग कार्यालय, करदाता सेवा कार्यालय र जिल्ला प्रशासन कार्यालयले गरेको अनुगमनमा त्यसरी म्याद गुज्रिएका अखाद्य वस्तु छ्यापछ्याप्ती भेटिन्छन् । पालिकाको केन्द्रसमेत रहेको उक्त बजारका अधिकांश खाद्यान्न पसलहरूमा म्याद गुज्रिएका वस्तु फेला परेका थिए ।
अनुगमन टोलीले व्यापारीहरूलाई दर्ता गरेर पसल चलाउन, म्याद गुज्रिएका सामग्री बिक्री वितरण नगर्न, म्याद गुज्रिएमा उत्पादक कम्पनीमा फिर्ता पठाउन, मूल्य सूची राखेर कारोबार गर्न लिखित निर्देशन दिएको छ । ‘पहिलो पटक भएकोले लिखितपत्र दिइएको छ, पुनः अनुगमन गर्दा कारबाही हुन्छ’, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख मोहन भट्टराईले बताए । अनुगमन टोलीमा सहायक प्रमुख जिल्ला अधिकारी अनुप पौडेल, कर अधिकृत अरविन रानाभाट तथा उद्योग वाणिज्य संघका प्रतिनिधि तथा पत्रकार थिए ।
अनुगमन टोलीलाई व्यापारीहरूले मार्केटिङ गर्न आउने गाडीले ल्याएर बेचेका समाग्री सस्तो हुने भएकाले म्याद सकिनै लागेका वस्तुहरू दिएर गएकाले समस्या भएको बताए । दुई वर्षअघि नै म्याद गुज्रिएका वस्तुसमेत पालिकाको गेटैअघि बिक्री वितरण भइरहेको पाइएको उद्योग वाणिज्य संघका प्रतिनिधि अशेष श्रेष्ठले बताए ।
स्थानीय सरकारलाई बजार अनुगमन पसल दर्ता तथा कर शिक्षा कार्यक्रम सञ्चालन गर्ने अधिकार भए पनि जिल्लाका कुनै पालिकाले त्यस्ता काम गरेका छैनन् । अनुगमन प्रतिवेदन माग्दा एक पालिकाले मात्र पठाएको, अन्यले कामै नगरेको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी अनुप पौडेलको भनाइ छ ।
अनुगमन टोलीले बेच्न ठिक्क पारेका म्याद गुज्रेका वस्तु जफत गरेर नष्ट गरेको छ । करिब सात हजारबराबरको म्याद सकिएका खाद्यवस्तु नष्ट गरियो । पहिलो चरण भएकाले सामान्य सोधपुछ र निर्देशन दिइएको र पुनः नियम विपरीत कारोबार गरेमा कानुनअनुसार कारबाही हुने अनुगमन टोलीले जनाएको छ ।