प्रथम कंकेदेउराली महोत्सवको १५ हजारले गरे अवलोकन
गुल्मी : गुल्मीको मदाने गाउँपालिकाले आयोजना गरेको प्रथम कंकेदेउराली कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सव सम्पन्न भएको छ। तीन जिल्लाको संगमस्थलमा पर्ने धार्मिक तथा पर्यटकीय क्षेत्र कंकेदेउरालीको प्रचारप्रसार तथा पर्यटन प्रवर्द्धनका लागि यही पुस ५ गतेदेखि ७ गतेसम्म महोत्सव सञ्चालन गरिएको थियो।
‘घुम्न जाऔं यसपाली कंकेदेउराली’को नारासहित आयोजना गरिएको महोत्सवमा खुला लोकभजन प्रतियोगिता, विद्यालयस्तरीय खोजी प्रतिभा (मदाने लोकतारा) कृषि मेला प्रदर्शनीसँगै चर्चित कलाकार प्रस्तुति दिएका थिए। महोत्सवमा आयोजना खुला लोक भजन प्रतियोगितामा गाउँपालिका भित्रका तीन भजन समूहले मात्रै सहभागिता जनाएको कंकेदेउराली पर्यटन पूर्वाधार विकास समितिका उपाध्यक्ष सुनिल थापाले जानकारी दिए।
आध्यात्मिक जागरण सांस्कृतिक समाज प्रथम, म्यालपोखरी भजन मण्डली दोस्रो र पुर्कोट महिला भजन मण्डली तेस्रो भएका छन्। प्रथम समूहले १५ हजार र प्रमाणपत्र, द्वितीय र तृतीयले क्रमशः १० र ५ हजारसहित प्रमाणपत्र पाएका छन्।
महोत्सवमा लुकेर रहेको प्रतिभा पहिचानका लागि विद्यालयस्तरीय खोजी प्रतिभा अर्थात् (मदाने लोकतारा) सञ्चालन गरिएको थियो। जसमा मदाने गाउँपालिका भित्रका सातवटा माध्यमिक विद्यालयबाट ८० जना प्रतियोगी सहभागी थिए। सहभागीमध्ये चार जनालाई पुरस्कृत गरिएको छ भने अन्य सहभागीलाई सम्मान गरिएको छ।
रियाले माध्यमिक विद्यालयका छात्रा कमला सुनार प्रथम मदाने लोक तारा बन्न सफल भएकी छन्। उनले नगद १५ हजार र प्रमाणपत्र प्राप्त गरेकी छन्। त्यस्तै सोही विद्यालयकी विद्यार्थी वर्षा परियार दोस्रो स्थान हासिल गरेकी छन्। उनले १० हजार र प्रमाणपत्र पाएकी हुन्। पृथ्वी माध्यमिक विद्यालयका छात्र अनुपम बिक तेस्रो र अग्लुङ माध्यमिक विद्यालयका छात्रा जालपा खत्री सान्त्वना भएको उपाध्यक्ष थापाले बताए। थापाका अनुसार तृतीयले ८ हजार र सान्त्वना हुनेले ५ हजारसहित प्रमाण पत्र पाएका छन्।
त्यस्तै महोत्सवमा गाउँपालिका स्तरीय कृषि तथा पशुपक्षी मेला प्रदर्शनी गरिएको थियो। मेलामा सबै वडाबाट कृषि तथा पशुपक्षी मेला प्रदर्शनी गरिएको आयोजकले जनाएको छ। गाउँपालिकाका कृषि शाखा प्रमुख हुमबहादुर थापाका अनुसार महोत्सवमा पालिका भित्रबाट एक सय आठ वस्तुहरू प्रदर्शनी भएको थियो। लोप हुन थालेका बालीलाई संरक्षण गर्न गुणस्तरीय चेकजाँच गरी स्थानीय र रैथाने बालीलाई महोत्सवमा प्राथमिकता दिइएको थियो। कृषि शाखाले गरेको मूल्यांकनबाट उत्कृष्ट किसान पुरस्कृत भएका छन्। प्रथमले ३ हजार, दोस्रो २ हजार पाँच सय तेस्रोले २ हजार र सान्त्वनाले ८ सय प्राप्त गरेको कृषि शाखा प्रमुख थापाले बताए।
महोत्सव मैदानमा सांस्कृतिक कार्यक्रमहरूसँगै जिल्लास्थित उत्पादन हुने कृषि जन्य सामग्रीहरू, मनोरञ्जनात्मक पिङलगायत विभिन्न औद्योगिक क्षेत्रबाट उत्पादित सामग्रीहरूको बिक्री वितरणका लागि राखिएको थियो। कृषि तथा घरेलु उद्योगबाट उत्पादित वस्तुहरूको प्रदर्शन गरिएको थियो। महोत्सवमा वरिष्ठ लोक तथा दोहोरी गायक बोम बहादुर कार्की लगायतका राष्ट्रियस्तरका कलाकारले बेजोड प्रस्तुति दिएका थिए।
प्रधानमन्त्री कार्यालयका पूर्व जनसम्पर्क विज्ञ रहेको बेला आफूले कंकेदेउरालीको पर्यटन प्रवर्द्धन र यस क्षेत्रको विकासका लागि बहुउद्देश्यीय योजना समावेशमा पहल गरेको बुद्धि जिसीले बताए। जिसीले आर्थिक वर्ष २०८०/०८१ को बजेट भाषणमा देशमा नमुना योग्य दुईवटा जलासाय युक्त प्रोजेक्ट सञ्चालनमा कंकेदेउराली समावेश भएको सुनाए। उनले कंके देउराली मदानेको मात्र नभई जिल्लाकै एक ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल रहेकाले यसको विकासमा सबै लाग्नुपर्ने बताए। कंकेको भविष्य पर्यटकीय देउरालीको क्षेत्रमा मात्र नभई धार्मिक हिसाबले पनि उज्ज्वल रहेको बताउँदै जिसीले आवश्यक विहीन फलाम र कंक्रिटको कम प्रयोग गरेमा यसको थप सौन्दर्यता देखिने बताए।
कंकेदेउराली गुल्मीको उत्कृष्ट गन्तव्य हो यसको प्रचारप्रसार गर्नु सबैको दायित्व रहेको मदाने गाउँपालिका अध्यक्ष महेन्द्र बहादुर कुँवरले बताए। यस क्षेत्रमा पर्यटन प्रवर्द्धनका लागि पहिलो पटक आयोजना गरिएको महोत्सवमा उत्साहजनक सहभागिताले सफलतापूर्वक सम्पन्न भएको अध्यक्ष कुँवरले बताए। उनले कंकेको विकास र महोत्सव सञ्चालनमा सहयोग गर्ने विभिन्न संघ संस्था लगायत सबैलाई समापनका अवसरमा धन्यवाद दिए।
जिल्लाका पर्यटकीय स्थलमध्ये कंकेदेउराली पनि एक भएकाले यस प्रचारप्रसारमा विशेष जोड दिन सकेमा यहाँको पर्यटन क्षेत्रको विकासमा थप टेवा पुग्ने मदाने गाउँपालिका उपाध्यक्ष सरिता खड्काले बताइन्। ‘गाउँपालिका भित्र थुप्रै सम्भावना बोकेका पर्यटकीय र धार्मिक स्थल छन्। जसमध्येको एक महत्वपूर्ण गन्तव्य हो कंकेदेउराली ‘उपाध्यक्ष खड्काले भनिन्’, ‘यसको विकास र पर्यटक भित्राउनका लागि महोत्सवमा लोक भजन प्रतियोगिता, विद्यालय स्तरीय प्रतिभाको खोजी र टेवा पुगेको छ।’
आगामी दिनमा यसको विकास र पर्यटक वृद्धिका लागि गाउँपालिकाले आवश्यक योजना र कार्यक्रमको गृहकार्य गरिने गाउँपालिका उपाध्यक्ष खड्काले बताइन्। उनले कंकेको देश विदेशमा प्रचारप्रसारका लागि यी र यस्ता खालका मेला महोत्सवलाई गाउँपालिकाले निरन्तरता दिने बताइन्।
१५ हजारले गरे मेलाको अवलोकन
महोत्सवमा १५ हजारले अवलोकन गरेका छन्। पछिल्लो समय समितिले यस क्षेत्रमा केही नयाँ योजना समेत ल्याएको छ। यस क्षेत्रमा घुम्न र मनमोहक हिमश्रृंखलाको अवलोकन गर्ने पर्यटकको संख्या दिनानुदिन बढ्दै गएको छ।
पर्यटकलाई लोभ्याउन यहाँ संग्रहालय, गौतम बुद्धको मूर्ति, फोहरा सहितको पोखरी, भ्यू टावर , पूजाआजाका लागि मन्दिर , बालबालिकाका लागि बाल उद्यान लगायतका थुप्रै संरचना निर्माण गरिएको छ। जसका कारण पर्यटकको रोजाइमा समेत पर्दै गएको छ। समितिले प्रवेश शुल्क ३० रुपैयाँ निर्धारण गरेको छ। यस क्षेत्रमा सरकारले करोडौं लगानी गरेको छ। महोत्सवमा १५/२० लाखको कारोबार भएको आयोजकले जनाएको छ।