युवा तथा खेलकुद मन्त्रालयद्वारा प्रथम त्रैमासिक अवधिको प्रगति समीक्षा
हेटौंडा : बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालयले मन्त्रालय अन्तर्गतका निकायहरूको आर्थिक वर्ष २०८१/०८२ को प्रथम त्रैमासिक अवधिको प्रगति समीक्षा गरेको छ।
समीक्षा बैठकमा मन्त्रालय र अन्तर्गतका निकायहरूको त्रैमासिक प्रगतिका साथै आयोजनाहरूको वित्तीय एवं भौतिक प्रगतिको अवस्था, कार्यान्वयनमा आइपरेका समस्या तथा चुनौती र समाधानका लागि गरिएका प्रयासहरूबारे कार्यालय प्रमुखहरूको प्रस्तुतीकरण भएको थियो।
बैठकमा कार्यालयका प्रमुखहरूले आयोजना सञ्चालनको क्रममा देखिएका समस्याको पहिचान गरी आगामी दिनमा समस्या नदोहोरिने गरी विगतका अनुभवबाट पाठ सिक्दै प्राथमिकताका आधारमा नागरिकले अनुभूत गर्ने गरी कार्य गर्ने प्रतिवद्धता जनाए।
युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले आफू मन्त्री नियुक्त हुँदा बजेट बनिसकेको र सो बजेट निकै न्यून भएका कारण युवा वर्ग र खेलकुद जगतको लागि अपेक्षाकृत काम गर्न कठिनाइ भइरहेको बताए।
उनले भने, ‘मैले चाहेको भए अन्य विकासे मन्त्रालय पनि लिन सक्थेँ। तर, म खेल क्षेत्रबाट आएको मानिस युवा र खेलाडीको भावना बुझ्न सक्छु। खेलकुद मन्त्रालय कसरी चलाउने भन्ने विषयमा मलाई राम्रो ज्ञान छ। तर, म मन्त्री नियुक्त हुँदा बजेट बनिसकेको थियो जुन अत्यन्तै न्यून छ। त्यसकारण सोचे अनुसारको काम गर्न सकिएको छैन।’
उनले आगामी दिनमा बजेट वृद्धि गर्न प्रदेश सरकारसँग नियमित रुपमा पहल भइरहेको भन्दै मातहतका कार्यालयले सञ्चालन गर्दै आइरहेको आयोजनाहरूलाई पूर्णता दिन आफूले सक्दो पहल गर्ने बाचा गर्दै कार्यालय प्रमुखहरूलाई निराश नहुन आग्रह गरे।
उनले देखिने, सुनिने र नागरिकले अनुभूत गर्ने गरी उत्प्रेरित भएर काम गर्न तथा आगामी दिनमा मन्त्रालयको वार्षिक कार्य योजना बमोजिम नतिजा हासिल गर्ने गरी प्रभावकारी रुपमा कार्यसम्पादन गर्न मन्त्रालय एवं र सम्बद्ध निकायका प्रमुखहरूलाई निर्देशन दिए।
बैठकमा प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दीपक लामाले खेलकुद क्षेत्रको विकास एवम् विस्तारका लागि परिषदबाट छोटो समयमा उल्लेख्य प्रयास भएको बताए। उनले राज्यले खेलकुदको विषय पाठ्यक्रममा नै समावेश गरेर अगाडि बढाउनुपर्नेमा जोड दिए।
त्यस्तै प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले परिषदबाट सञ्चालन भइरहेका युवा लक्षित कार्यक्रमबारे जानकारी गराउँदै तथ्यांक व्यवस्थापन नहुँदा तालिम कार्यक्रम सञ्चालन गर्न केही कठिनाइ भएको भन्दै त्यसतर्फ सरकारले सहयोग गर्नुपर्ने बताए।
कार्यक्रममा क्रमशः सामाजिक विकास कार्यालय काभ्रेपलाञ्चोक, ललितपुर, मकवानपुरका कार्यालय प्रमुखहरूले सञ्चालित आयोजनाको भौतिक एवम् वित्तीय प्रगतिबारे जानकारी गराएका थिए।