मेरो कुरालाई पार्टी सभापतिले गम्भीरतापूर्वक लिएनन् : शेखर कोइराला
काठमाडौं : नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीको विरोध गरेका छन्। पार्टीलाई आफ्नो अनुकूल ढंगले अघि बढाएको भन्दै उनले देउवाको कार्यशैलीको विरोध गरेका हुन्।
सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१औं जन्मजयन्तीका अवसरमा सोमबार काठमाडौंमा आयोजित विचार गोष्ठीमा कोइरालाले आफ्ना कुरालाई पार्टी सभापतिले गम्भीरतापूर्वक नलिएको बताए। त्यसैकारण पार्टीभित्र भागबण्डाको कुरा उठ्ने गरेको उनको भनाइ छ।
सभापति देउवाले अन्य नेताहरूको कुरा नसुन्दा राजनीति गर्नेहरूलाई अप्ठ्यारो पर्ने उनले बताए। कोइरालाले गुटलाई फस्टाइदिने काम पार्टी सभापतिले गरेको आरोपसमेत लगाए। कोइरालाले विभिन्न कारणले अहिले पार्टीभित्र विचलन देखिएको कुरालाई सबैले स्वीकार गर्नुपर्ने बताए।
कृष्णप्रसाद भट्टराईको दृढ संकल्प गर्ने बानी आफूले सदैव स्मरण गर्ने उनले बताए। कोइरालाले कृष्णप्रसाद भट्टराई, गणेशमान, वीपीलगायतका कांग्रेसका अग्रज नेताहरूलाई बिर्सिए कांग्रेस नै नरहने उनको भनाइ छ।