शनिबारदेखि नै बन्द थियो बाबु-छोरा मृत भेटिएको कोठा
काठमाडौं : कार्यालयको कामले ६ दिनअघि काठमाडौं आएका कूलप्रसाद आर्चाय मृत फेला परेका छन्। भक्तपुरको बालकोट फिकाधारामा ५६ वर्षीय आचार्य छोरासँगै मृत फेला परेका हुन्। उनका २२ वर्षीय छोरा प्रविन आचार्य पनि मृत फेला परेका हुन्।
रूपाकोट मजुवागढी-१ खोटाङ घर भएका कुलप्रसाद जिल्ला हुलाक कार्यालयका निमिक्त कार्यालय प्रमुख हुन्। उनका दुई छोरा भक्तपुरको बालकोटमा बसेर पढ्दै थिए। जेठो छोरा मिलन आर्चाय भने फरार छन्। जिल्ला प्रहरी परिसर भक्तपुरका प्रबक्ता ढुण्डिराज नेउपानेका अनुसार दुईवटा फरक फरक कोठामा आर्चायका बाबुछोरा मृत भेटिएका हुन्। उनीहरूको टाउकोको पछाडि र कानमा समेत चोट भेटिएको छ। आर्चाय परिवारले चार वर्षदेखि उक्त घरमा कोठा लिएर बस्दै आएका थिए।
डीएसपी नेउपानेका अनुसार उनीहरू साढे तीन तले घरको भुइतल्लामा २ वटा कोठा लिएर बस्ने गरेका थिए। मिलन लोकसेवा आयोगको तयारी गरिरहेका थिए भने प्रविनले भीएस निकेतनमा बीएस्सी अध्ययन गर्दै आएका थिए। बाबुछोराको शरीरमा चोटैचोट देखिएको र उक्त कोठा बाहिरबाट ताला लगाएको अवस्थामा रहेकाले हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ। 'सँगै खाना खाएर सुतेका जेठा छोरा फरार रहेकाले पनि हत्या भएको हुनसक्ने अनुमानलाई पुष्टि गर्छ,' एक प्रहरी अधिकारीले भने।
प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धान गरेको छ। प्रारम्भिक अनुसन्धानका क्रममा शनिबार दिनभर सँगै रहेका तीन बाबुछोराले राति पनि सँगै खाना खाएका थिए। एकै फ्ल्याटमा बस्ने अर्को कोठाको साथीहरूलाई पनि मिलन आफैंले बनाएको तरकारी बाँडेर खाएका थिए। एउटै कोठामा बसेर खाना खाँदै गफ गरिरहेका बाबु छोराहरू बेग्लाबेग्लै कोठामा सुतेका थिए।
आइतबार बिहानदेखि आर्चाय परिवार बस्ने दुई वटा कोठामा बाहिरबाट ताला लगाइएको थियो। काम विशेषले बाहिर गएका होलान् भनेर कसैले पनि सोधखोज गरेनन्। खोटाङ बस्ने कुलप्रसादका आफन्तले आइतबार दिनभर श्रीमान र छोराहरूको नम्बरमा फोन गरे। कसैको पनि फोन उठेन। आइतबार दिनभर फोन नउठ्ने र केही खोज खबर नपाएपछि काठमाडौंमा रहेका आफन्तलाई कोठामा हेर्न जान भनेका थिए। सोमबार विहानै उनका आफन्तहरू बालकोटमा रहेको कोठामा पुगेका थिए। प्रहरी पुगेर कोठा खोलेर हेर्दा दुवै बाबुछोरा मृत भेटिएका थिए।
घटनास्थल प्रहरी पुग्दा मृतक बाबुछोराको टाउकोको चोटमा रगत जमिसकेको थियो। शनिबार राति नै उनीहरूको हत्या भएको हुनसक्ने आशंका प्रहरीको छ। प्रवक्ता नेउपाने भन्छन्, ‘सँगै बसेका अर्का छोराको खोजी भइरकेको छ। उनी सम्पर्कमा आएपछि थप कुरा खुल्नेछ। अनुसन्धानका लागि प्रहरीले तालिम प्राप्त कुकुरको सहयोग लिएको छ। विज्ञ टोली खटाएको छ। फरेन्सिक विज्ञको टोली नै घटनास्थलमा गएर अनुसन्धान अगाडि बढाएको छ। उनीहरूको शव पोस्टमार्टम गर्न प्रहरीले त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पठाएको छ।