विद्यार्थीलाई न्यानो कपडा
काठमाडौं : रामेछापको मन्थली माविका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ। नर्सरीदेखि १० कक्षासम्म अध्ययन गर्ने करिब १ हजार २ सय विद्यार्थीलाई ट्याक सुट लगायतका कपडा वितरण गरिएको हो।
पार्टीका बागमती प्रदेश कमिटी सदस्य समेत रहेका समाजसेवी रत्नप्रसाद गौतमले नेकपा एमाले रामेछापसँगको समन्वयमा कपडा वितरण गरेका हुन्। १२ लाख रुपैयाँ बराबरका कपडा गौतमले सहयोग गरेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेजप्रसाद सुवेदीले बताए।
सोमबार विद्यालयमा आयोजित कार्यक्रममा उनले कपडा हस्तान्तरण गरे। गौतमले विद्यार्थी र अभिभावकलाई पठनपाठनमा उत्प्रेरित गर्न आफूले जिल्ला पार्टी र विद्यालय व्यवस्थापन समिति तथा विद्यालय प्रशासनसँग समन्वय गरी सहयोग गरेको बताए ।
मन्थली मावि भित्रै कलेज समेत सञ्चालन भएकोले प्राविधिक विषय पढ्ने केही विद्यार्थीहरूलाई समस्या परे आफूले सकेको सहयोग गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे। कार्यक्रममा मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले समाज बुझ्नलाई विद्यार्थीको बानी व्यवहार बुझे पुग्ने बताए।
त्यसैले विद्यार्थीलाई अनुशासित र सुशिक्षित बनाउन समाजको सबै क्षेत्र लाग्नुपर्नेमा उनले जोड दिए। मन्थली माविका प्रधानाध्यापक डा. टंकप्रसाद दाहालले मन्थली माविको भौतिक पूर्वाधार निर्माणमा पनि गौतमको ठूलो योगदान रहेको बताए।