भेरी करिडोरको पूर्णतापछि बन्नेछ हिमाली सहर
डोल्पा : उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिकाअन्तर्गत पर्ने तिन्जेमा हिमाली सहर बनाउने प्रतिबद्धता गरिसकिएको छ। आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले हुम्लाको हिल्सा, लिमि भ्याली र डोल्पाको तिन्जेमा हिमाली सहर बनाउने प्रतिबद्धता जनाएका थिए।
त्यतिमात्र नभई तत्कालीन उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेल २०७६ सालमा धोस्थित क्रिस्टल माउन्टेन बोर्डिङ स्कुलको रजत जयन्तीमा प्रमुख अथितिका रूपमा उपस्थित भएका बेला पनि तिन्जेलाई सुन्दर एवं सुविधासम्पन्न हिमाली सहर बनाउने प्रतिबद्धता गरेका थिए। त्यसैगरी पटक–पटक अवलोकन भ्रमणको सिलसिलामा उपल्लो डोल्पा पुगेको बेला जिल्ला र केन्द्रका नेताहरूले तिन्जेलाई एक ऐतिहासिक एवं सुन्दर हिमाली सहर बनाउने आश्वासन बाँड्दै आएका डोल्पोबुद्धबासीको भनाइ छ।
त्यति बेला मन्त्री पोख्रेलसँगै उपल्लो डोल्पा पुगेका जनार्दन शर्मालेसमेत नेपाल चिनको सीमानजिक पर्ने तिन्जेमा हिमाली सहर बनाउन बजेट व्यवस्थापन गर्ने बताएका थिए। तर, यसरी कार्यक्रममा हौसिएर बोलेका नेताहरूको बोली अहिलेसम्म पूरा हुन सकेको छैन। डोल्पोबुद्ध गाउँपालिकाका उपाध्यक्ष पेमा धार्के गुरुङका अनुसार उपल्लो डोल्पाको तिन्जेमा हिमाली सहर बनाउने भन्दै विभिन्न नेताहरूले आश्वासन बाँडेका थिए।
तिन्जेमा हिमाली सहर बनाउन सबैभन्दा पहिले भेरी करिडोरले पूर्णता पाउनुपर्छ। ‘पटक–पटक उपल्लो नेताहरू पुग्छन्, धोमा बस्ती विकास गर्ने तिन्जेमा हिमाली सहर बनाउने भन्छन् तर तिनै नेताहरू सरकारमा पुगे पछि कार्यान्वयनमा भने लैजादैनन्’, उनले भने, ‘धोमा बस्ती विकास गरेर तिन्जेमा हिमाली सहर बनाउन भुगोलले पनि साथ दिएको छ। आँखाले नभ्याउने फाँटहरू छन्। सम्भावना पनि उत्तिकै छ तर तिन्जेमा हिमाली सहर बनाउन सर्वप्रथम दुनैबाटै सडक जोडिनु आवश्यक छ।’
ल्यासिक्यापदेखि शिसौलसम्म सडक जोडिएमा हिमाली सहर बनाउन सम्भव देखिने र त्यसका लागि पहिला सरकारको ध्यान सडकको ट्रयाक खुलाएर पुल लगायतका पूर्वाधार निर्माणमा जानुपर्ने उनले बताए। त्यसपछि सहर निर्माणका लागि आवश्यक सामाग्री लैजान सहज हुनेउ उनको भनाइ छ।
‘यससँगै मुस्ताङबाट उपल्लो डोल्पामा पर्ने छार्कामा एक वर्ष अघिमात्र जोडिएको सडकलाई डोल्पोबुद्ध गाउँपालिकासम्म बिस्तार गरेर भरपर्दो बनाउनुका साथै स्तरोन्नति र ठाउँठाउँमा पुलहरू निर्माण गर्नु आवश्यक छ’, उनले भने, ‘तिन्जेमा हिमाली शहर बनाइएमा कर्णाली प्रदेशकै पहिलो सिमावर्ती सहर बन्ने छ। उपल्लो डोल्पावासीलाई पनि धेरै सेवा सुविधा प्राप्त हुनेछ। आशा छ सरकारले सडक निर्माण गरेर चाँडै हिमाली शहरको परिकल्पना साकार पार्ने छ।’