जाडोमा न्यानो कपडा वितरण
नुवाकोट : जाडोमा न्यानोका लागि नुवाकोटको देवीघाटमा अपांगता भएका व्यक्तिहरूलाई न्यानो कपडा प्रदान गरिएको छ । नुवाकोट अपाङ्ग संरक्षण सेवा संस्थाले जिल्लाको विभिन्न स्थानमा रहेका अपाङ्गता भएका व्यक्तिहरूलाई न्यानो कपडा वितरण गरेको हो ।
विदुर नगरपालिका ५ स्थित देवीघाटमा आयोजित कार्यक्रममा अपांगता भएका ३० महिलासहित ५० जनालाई एक/एक थान न्यानो कपडा हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष भरतप्रसाद दाहालले जानकारी दिए ।
उनका अनुसार संस्थाको पहलमा नेपाल रेडक्रस सोसाइटी काठमाडौं शाखा र कमलादी उपशाखाको सहयोगमा न्यानो सामग्री वितरण गरिएको हो । यसका साथै अपांगता भएका ३० जनालाई आर्थिक सहयोगसमेत प्रदान गरिएको नुवाकोट अपाङ्ग संरक्षण सेवा संस्थाकी कोषाध्यक्ष सदीक्षा लामिछाने पुडासैनीले जानकारी दिइन् ।
कार्यक्रममा प्रमुख अतिथि रेडक्रस काठमाडौंका जिल्ला सभापति श्याम डोटेल, नुवाकोट सभापति हरि श्रेष्ठ, देवीघाट जालपा युवा क्लवका अध्यक्ष नवीन चित्रकार, पिपलटार सामाजिक युवा क्लवका अध्यक्ष सुजन गजुरेल, साामाजिक अगुवा शिवप्रसाद गजुरेललगायतले अपांगता भएका व्यक्तिहरुलाई न्यानो कपडा वितरण गरेका हुन् । कार्यक्रममा १० जना रक्तदाताहरुले रक्तदानसमेत गरेका छन् ।
नुवाकोट अपाङ्ग संरक्षण सेवा संस्थाले अपांगता जागरण सम्बन्धी विविध कार्यक्रमहरू सञ्चालन गरिरहेको जनाएको छ । रक्तदानमा नेपाल सोसाइटी नुवाकोट शाखाको रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोग र नेपाल सोसाइटी जालपादेवी उपशाखाको समन्वय रहेको थियो ।