कृषि बिमाको एक दशक : किसानको पहुँच न्यून

कृषि बिमाको एक दशक : किसानको पहुँच न्यून
सांकेतिक तस्बिर

काठमाडौं : जुम्ला जिल्लाले स्याउमा देशलाई ७० प्रतिशत आत्मनिर्भर बनाउन सक्ने दाबी गरे पनि जुम्लाका राजकुमार खत्री स्याउमा गरिएको बिमाको क्षतिपूर्ति पाउन नसकेको गुनासो गर्छन् । उनी भन्छन्, ‘जुम्लावासीले शिखर इन्स्योरेन्समा बिमा गरेको तर समयमा कहिल्यै पाएका छैनन् । समयमै पाउनुपर्‍यो । किसानको हकअधिकारमा सबैखाले काम हुनुपर्‍यो ।’

यता राजधानी नजिकको पनौतीकी सुमित्रा थापाले यसै वर्षको अविरल वर्षाका कारण पहिरोले गाईवस्तु पुरेर क्षति व्यहोर्नु परेको थियो । उनले यसको बिमा गरेको भएर पाँच वटा गाईभैंसीको बिमाबापत दाबी भुक्तानी पाइन् । ‘तर बाढीपहिरोले लगाएको बाली पनि नास गर्‍यो । उनलाई पशुको मात्रै बिमा हुन्छ भन्ने मात्रै थाहा भएको तर बालीको बिमाबारे थाहै भएन । यसबाट सबै कृषिको बिमा गर्नुपर्ने रहेछ भन्ने सिकाइ भएको छ,’ उनले सुनाइन् ।
पनौतीकै साना किसान कृषि सहकारी संस्थाका सहकारी प्रबन्धक रामचन्द्र न्यौपाने सहकारीले नै पशु सुरक्षण कार्यक्रम सञ्चालन गरिरहेकाले किसानहरू लाभान्वित भएको बताए । हामीले गरेको पशु सुरक्षण कार्यक्रममा ८ सयले गरेकोमध्ये १ सय ५० भन्दा बढी गाईभैंसीको क्षतिपूर्ति दिएका छौं । 

राष्ट्रिय कृषक समूह महासंघ, नेपालले राजधानीमा आयोजित बिमा कार्यक्रमको एक दशकको समीक्षामा किसानले भोगाइ यसरी सुनाएका हुन् । यसैक्रममा, सुरुमा किसानहरूसँग बिमालेख जारी गर्दा भएको सम्झौता गर्दा राम्रोसँग नबुझाउँदा धेरै दाबी भुक्तानीमा समस्या आएको कृषि मन्त्रालयका सहसचिव शवनम शिवाकोटीले बताइन् । उनका अनुसार सरकारले कृषि बिमाको अनुदानबापत दिने रकमलाई बजेटको अभावमा बर्सेनि विस्तारै तिर्दै आएको बताउँछिन् । ‘अब गत आर्थिक वर्षसम्मको बक्यौता छ । अझ मन्त्रालयकै स्रोतबाट रकमान्तर गरी भुक्तानीका लागि व्यवस्थापन गर्दै आएको छ,’ सहसचिव शिवाकोटी भन्छिन्, ‘बिमालेखबारे किसानलाई राम्रोसँग बुझाउन आवश्यक छ ।  यस विषयमा बढी जनचेतना जगाउनुपर्ने देखियो ।’ 

यता सिद्धार्थ इन्स्योरेन्सका सन्तोष पन्त सरकारबाट पाउने अनुदानमा कम्पनीहरू बढी अल्झनुपर्दा पनि समयमा दाबी भुक्तानी नभएको सुनाउँछन् । उनका अनुसार बिमा कम्पनीले काम गर्ने प्याटर्न सबैलाई थाहा नहुन सक्ने बताउँछन् । यसले गर्दा कृषि बिमा दाबी भुक्तानी पाउने वा नपाउने सम्झौताबारे किसान जानकार नहुँदा पनि समस्या परेको उनको भनाइ छ । ‘यद्यपि अहिलेको केसमा पनि बिमा गर्ने प्रक्रिया पनि झन्झटिलो भएकाले किसानलाई गाह्रो छ । बिमाको सवालमा किसानलाई सहजीकरण गरेन भने वास्तविक रूपमा किसानले सेवा पाउनै गाह्रो छ । यस अवस्थामा कृषक समूह महासंघ जस्तो संस्थाले सहजीकरण गर्न जरुरी छ,’ उनले भने । 

पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहाल गत वर्षको कृषि  बिमामा धेरै आरोह अवरोह भोग्नु परेको बताए । सरकारले प्रतिबद्धता गरेको बिमा प्रिमियममा दिएको अनुदान चुक्ता गर्न नसक्दा बिमा कम्पनीहरूले ढिलाइ गरेको उनको भनाइ छ । ‘कृषि, पशुपक्षी तथा मत्स्य बिमामा अनुदान प्राप्त सबै रकम सुरक्षित छ । गत वर्षको जस्तो भयावह अवस्था यो वर्ष नआउनेमा उनी ढुक्क छन् ।

अब बिमा कम्पनी बिमा गर्नबाट भाग्नुपर्ने अवस्था आउँदैन,’ उनले भने ।  डिजिटाइजेसन एपमा आधारित भएर बिमाका काम सुरु गरेकाले अब पारदर्शिता हुने उनको भनाइ छ । महासंघका अध्यक्ष पञ्चकाजी       श्रेष्ठले आम किसानको हितमा जारी गरिएको कृषि बिमालाई प्रभावकारी बनाउन सरोकारवाला निकाय गम्भीर हुनुपर्ने सुझाव दिए ।  

कृषि बिमा प्रिमियममा ३ सिलिङमा अनुदान
सरकारले गत असोज १४ गते गरेको मन्त्रिपरिषद्को निर्णयअनुसार बाली तथा पशुधन बिमाको बिमा प्रिमियममा ३ सिलिङमा अनुदान प्रतिशत तोकेको छ । जुन कात्तिक १ गतेदेखि लागू भएको छ । जसअनुसार ५० लाख रुपैयाँसम्मको बिमांक रकममा ८० प्रतिशत अनुदान प्राप्त गर्नेछन् । ५० लाख देखि एक करोड रुपैयाँसम्मको बिमालेखमा ६५ प्रतिशतमात्रै अनुदान तोकिएको छ भने एक करोड रुपैयाँभन्दा बढी बिमांक रकममा ५० प्रतिशत रुपैयाँसम्म मात्रै अनुदान पाउने व्यवस्था गरेको छ । 

सुरुवातमा नेपाल सरकारको बिमाशुल्कमा अनुदानको व्यवस्था २०६९ माघ १ गतेदेखि गरेको हो । त्यतिबेला बिमाशुल्कको ५० प्रतिशत अनुदानको व्यवस्था थियो । यसपछि संशोधन गरेर २०७१ साउन १ गते देखि बिमाशुल्कमा ७५ प्रतिशत अनुदानको व्यवस्था गरियो । फेरि, २०७८    साउन १ गतेदेखि बिमाशुल्कमा ५० प्रतिशत अनुदानको व्यवस्था भयो । अझ कृषिलाई प्रोत्साहन गर्न अनुदानको आकार बढाउन पहल भएपछि २०७८ असोज ७ गते देखि बिमाशुल्कमा ८० प्रतिशत अनुदानको व्यवस्था गरियो । यसपछि सरकारले अनुदानबापतको रकम बिमा कम्पनीहरूलाई समयमा भुक्तानी नगरेको भन्दै कम्पनीहरूले पनि देशैभर बिमा गर्न रोकेका थिए । 

अझै अधिकांश कम्पनीहरूले उत्साहित भएर कृषि बिमा गरेका छैनन् । किनभने धेरै किसानहरबाट कम्पनीले बिमा गर्न बेवास्ता गरेको गुनासो आएको छ । यद्यपि अब सरकारले सिलिङ तोकेरै ३ फरक अनुदानको व्यवस्था लागू गरेर किसानलाई सुविधा प्रदान गरेको छ । गत कात्तिकदेखि नयाँ व्यवस्था कार्यान्वयनमा आएको हो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.