नेताले देश बनाएनन् रे ! ठीक छ अब नागरिकले देश बनाऔं न त। नागरिक विज्ञान देश बनाउने साँचो हो।
नेपालमा विकास भएन। हामीभन्दा गरिब देशहरू कहाँबाट कहाँ पुगिसके। सचेत नेपाली यही भनिरहन्छौं। अनि नेताहरू विदेश घुमेर फर्कन्छन् र चुनावताका आश्वासनको पोको बाँड्दै भन्छन्, ‘हामी नेपाललाई सिंगापुर बनाउँछौं, स्विट्जरल्यान्ड बनाउँछौं...!’ भनिरहेकै छौं, हरियो वन नेपालको धन। हो, प्रकृतिले धनी छ नेपाल। जलविद्युत्ले पनि धनी नै छ। कृषिप्रधान देश पनि हाम्रै। योगको आरम्भकर्ता मुलुक पनि नेपालै। नेपालमै छ विश्वकै सर्वोच्च शिखर। सूची तयार पार्नै घण्टौं लाग्छ। नभएर होइन नेपाल नबनेको, नगरेर हो।
समस्या देख्ने, समाधान नखोज्ने हामी : कुनै पनि देशको विकास कसरी हुन्छ ? कसले कति र कहाँ, कहाँको अध्ययन र अनुसन्धान गरेका छौं ? छौं भने त्यसको कार्यान्वयन कहिले, कसरी र कहाँ गर्यौं ? छैनौं भने किन ? कारण के ? विकासका साझा मुद्दामा कहिले र कहाँ एक भयौं ? किन हुन सकेनौं ? समृद्ध नेपाल किन बनेन ? अब कसकसले के के गर्ने ? भनेर किन समीक्षा र मूल्यांकन गरेनौं ? गर्दैनौं ? देशको समग्र विकासमा किन प्रतिपक्षीमात्रै बनिरहन्छौं ? किन समस्यैसमस्या मात्र देख्छौं ? किन बखेडा निकालेर अड्को मात्र थाप्छौं ? किन उपाय खोज्न, समाधान गर्नतर्फ उद्दत हुँदैनौं ?
युरोप, अमेरिका, अस्ट्रेलिया, क्यानाडातिर नजाऔं, एसियाकै देश हेरौं– चीन, जापान, सिंगापुर, दक्षिण कोरिया आदि देशले आफूलाई कसरी विश्व प्रतिस्पर्धामा उतारे ? के गरे ? कसरी गरे ? तिनले सक्छन् भने हामीले किन सक्दैनौं ? हिजोसम्म हामीभन्दा गरिब र पछाडि परेको ती देशले देश विकासका लागि कस्तो ‘टेक्निक’ लगाए ? कस्तो ‘डेभलपमेन्ट मोडल’ अपनाए ? कसरी लागू गरे ? कसरी खटिए ? नागरिक स्वयं कति सचेत बने ? देशभक्ति कसरी जगाए ? आफूलाई विकासमा कसरी होमे ? नेपाल बनेन। नेपाल बिग्रियो। नेताले केही गरेनन्। नेपालमा भविष्य छैन। यस्तै भनेर, यस्तै भाष्य स्थापित गरेर के नेपाल बन्छ ? समस्या तेस्र्याएर देश बन्छ कि समाधान खोजेर ?
नेताले बनाएनन् रे, नागरिकले बनाऔं न देश ः नेताले देश बनाएनन् रे ! ठीक छ अब नागरिकले देश बनाऔं न त। नागरिक विज्ञान देश बनाउने साँचो हो। चीनको ख्वासी गाउँ नागरिक विज्ञानबाट विकास भएको विश्वकै एउटा नमुना ठाउँ हो। अमेरिका, युनाइटेड किङ्डम, अस्ट्रेलिया, जर्मनी र जापान सिटिजन साइन्स प्रयोग गरेर विकासमा अब्बल ठहरिएका देश हुन्। सन् २०११ मा आएको भूकम्प र सुनामीपछि जापान विपद् जोखिम र वातावरणसम्बन्धी चुनौतीहरूको सामनामा नागरिक विज्ञानको प्रयोग गरेर सफल बन्यो। त्यहाँका नागरिकले फुकुसिमामा भएको आणविक दुर्घटनापछि ‘सेफकास्ट’मार्फत विकिरण मापन गरी सरकारलाई सूचना दिएर सहयोग गरेका थिए भने दिगो कृषि र जैविक विविधता जोगाउन ‘रुरल रिभाइटलाइजेसन प्रोजेक्ट’मार्फत अनुगमन गरे।
सिटिजन साइन्स विश्वव्यापी विकास र वातावरणीय चुनौतीहरूको समाधानमा ‘रूपान्तरणकारी उपकरण’ बनेको छ। अर्थात्, नागरिक विज्ञानमा सर्वसाधारण नागरिकहरूको योग्यता र क्षमतालाई पनि तथ्यांक संकलन, विश्लेषण र आदान–प्रदान गर्न प्रयोग गर्ने काम हुन्छ।
यस्तै, जर्मनीले देश विकासका लागि अनुसन्धान र नीतिमा यसको प्रयोग गरेको थियो। त्यहाँका नागरिकले ‘प्लास्टिक पिरेटस्’ परियोजना लागू गरे भने ‘आई नेचुरालिस्ट डिई’ प्रयोग गरी जैविक विविधताको दस्ताबेजीकरण गरेर पर्यावरणको संरक्षण गरेका थिए। अस्ट्रेलियाले उसको ‘युनिक इकोलोजिकल च्यालेन्जेज’ (वातावरणीय अनुगमन र विपद् व्यवस्थापन आदि) चिर्न सिटिजन साइन्स प्रयोग गरेको पाइन्छ। त्यहाँका नागरिकले ‘फ्रगआईडी’ र ‘कोस्ट स्न्याप’ प्रयोग गरेका थिए।
यूकेमा सिटिजन साइन्सको उच्चस्तरीय शैली र प्रयोग छ। त्यहाँका नागरिकले ‘जुनिभर्स’ नामक प्लेटफर्मको प्रयोग गरी सांस्कृतिक सम्पदा, जलवायु परिवर्तन र जैविक विविधतामा आफूलाई उदाहरणीय बनाएका छन् भने ‘बिग बट्टरफ्लाई काउन्ट’ पारिस्थितिक प्रणालीको स्वास्थ्य अनुगमन गर्न पुतली प्रजातिको गणना गर्न र प्रतिवेदन तयार पार्न उपयोगी छ। अमेरिकाले सिटिजन साइन्समार्फत ‘ई–बर्ड’ र ‘ग्यालेक्सी जू’लाई उदाहरणीय बनाएर स्थापित गरेको छ।
यसकारण ‘सिटिजन्स साइन्स’ : पेसामा आबद्ध नभएका नागरिकको विज्ञान हो, ‘सिटिजन्स साइन्स’। यो मूलतः विश्वव्यापी विकास र वातावरणीय चुनौतीहरूको समाधानमा ‘रूपान्तरणकारी उपकरण’ बनेको छ। यसमा सर्वसाधारण नागरिकको योग्यता र क्षमतालाई तथ्यांक संकलन, विश्लेषण र आदान–प्रदानमा प्रयोग हुन्छ। विकासका विषय पहिचान गरी उच्च–गुणस्तरीय ‘डेटासेट’हरू उत्पादन गर्न, वैज्ञानिक ज्ञानलाई लोकतान्त्रिक बनाउन र जनसमुदायलाई जिम्मेवार बनाउन अमूल्य साबित भएका छन्। उसो भए नेपाल अब किन पछि पर्ने ? जबकि यसका लागि नेपालमा पर्याप्त जनशक्ति छ। सरकारले यसको पूर्ण सदुपयोग गर्न सक्छ।
विकासमा के–कसरी प्रयोग गर्ने ?: नेपालले पनि नागरिक विज्ञानको प्रयोग गरी सहरी विकास तथा योजना, विपद्बारे जानकारी एवं जोखिम न्यूनीकरण गर्न र कृषि विकासलगायतमा काम गर्न सक्छ। आवश्यकता र समस्याहरू पहिचान गरे सञ्जीवनी बन्न सक्छ यो। अन्य देशमा झैं नागरिकप्रेरित पहलहरूले ट्राफिक भीडको दिगो समाधान गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छन्।
आपत्कालीन जोखिममा पर्ने क्षेत्रहरूमा अत्यावश्यक र सही जानकारी दिएर जीवन बचाउन महत्त्वपूर्ण साधन बन्न सक्छ। २०७२ सालको भूकम्पमा नागरिकले खेलेको भूमिका (जनउद्धार र राहत वितरण आदि) उदाहरणीय छ। कृषि विकासमा किसानहरूले माटोको अवस्था, कीट प्रकोप र फसलको स्वास्थ्यको दस्ताबेजीकरण गरेर योगदान पुर्याउन सक्छन्। यस्ता तथ्यांकले विशेषगरी जलवायु परिवर्तनको जोखिममा रहेका भूभागमा कृषि प्रविधिहरू र अनुकूलनशील खेतीका अभ्यासहरूको विकासमा सहयोग पुर्याउँछ।
वातावरणमा के–कसरी प्रयोग गर्ने ? : नेपाल पनि जलवायु परिवर्तनको चपेटामा परेको देश हो। त्यसैले जैविक विविधता अनुगमन गर्न, जलवायु परिवर्तनबारेका अनुसन्धान गर्न, पानी, वायु, माटो आदिको गुणस्तर अनुगमन गर्न र प्रदूषण एवं फोहोर व्यवस्थापन गर्न सिटिजन साइन्स उपयोगी हुन्छ। विश्व परिवेश चिहाउने हो भने नागरिक विज्ञानले जैविक विविधता अनुगमन एवं दस्ताबेजीकरणमा क्रान्ति ल्याएको पाइन्छ। नेपालमा पनि भू—क्षय र वायु प्रदूषण भइरहने अनि अधिकांश भागमा नागरिकमा सफा पानीको पहुँच नहुनेजस्ता महत्त्वपूर्ण समस्या छन्।
झरना र नदीहरू, ताल र खोलाहरू थुप्रै छन्। पिउने पानीका लागि तिनैमा निर्भर गर्ने समुदायहरूले पानीको सुरक्षा अनुगमन र सुधारिएको पानी व्यवस्थापन नीतिहरूको पक्षमा सस्तो पानी परीक्षण किटहरूको प्रयोग गर्ने लगायतका काम यसबाट सम्भव छ। प्लास्टिक प्रदूषणसँगै फोहोर व्यवस्थापन हाम्रा लागि वातावरणीय चुनौतीहरू हुन्। नागरिकमुखी सफाइ अभियानहरूले संकलित फोहोरको प्रकार र मात्राहरूको दस्ताबेजीकरण गर्न मद्दत गर्छन्। बागमती नदी सफाइमा नागरिक विज्ञान परियोजनाले सोच र शैलीमा गुणस्तरीय परिवर्तन ल्याएको छ, जनचेतना वृद्धि गरी नदीको प्रदूषण घटाउने प्रयास भएको छ।
नेपालमा नागरिक विज्ञानका चुनौती र समाधान ः विकास र वातावरणमा नागरिक विज्ञानका फाइदाहरू एक होइन, अनेक छन्। ठूलो मात्रामा तथ्यांक संकलन, सीमान्तकृत मात्र होइन, सबैजसो समुदायको सशक्तीकरण, वैज्ञानिक लोकतान्त्रिकीकरणमार्फत जटिल मुद्दाहरूको समाधान, लागत–कुशलता अर्थात् स्वयंसेवकहरूको उपयोग गरेर वित्तीय बोझ कम गर्न सकिन्छ। नेपालले ‘सिटिजन्स साइन्स’को अभ्यास र प्रयोग गर्दा प्रविधि र प्राविधिक समस्याहरूको सामना गर्नुपर्छ, यद्यपि नेपाल ‘डिजिटलाइजेसन’को बाटोमा अघि बढिसकेको छ। ‘डिजिटल डिभाइड’ ‘क्रोनिक’ रोग नै हो नेपालको।
ग्रामीण क्षेत्रमा साक्षरतास्तर कम भएकाले समुदायहरू नागरिक विज्ञान परियोजनाहरूमा संलग्न हुन कठिन हुन्छ। गैरविशेषज्ञद्वारा प्राप्त हुने तथ्यांकमा भर पर्नुपर्छ भनेपछि तिनको पुष्टि गर्ने आधार के ? भन्ने सवाल खडा हुन्छ। सरकारले तथ्यांक संकलनका विधिहरूमा तालिम दिनु आवश्यक छ। औपचारिक नीतिगत निर्माणमा नागरिकको सहभागितामा सरकारले जोड दिइसकेको अवस्था छैन। २१ प्रतिशत गरिबी र त्यसमाथिका नागरिक मध्यम वर्गीय हुनाले हातमुख जोर्नमै समय दिनुपर्ने देखिन्छ। उपकरणसहितका चेतनामूलक प्रवद्र्धनमा बजेटले निरन्तरता पाएको अवस्था देखिँदैन।
निष्कर्ष : भौगोलिक विकटताका कारण मुलुकभरमा तथ्यांक संकलनका कार्य चुनौतीपूर्ण पनि छ। त्यसो त चुनौती एक होइन, अनेक छन्। तथापि चुनौतीले आफूसँगै समाधान पनि लिएर आएको हुन्छ, देख्न चाहिँ सक्नुपर्छ। ऐक्यबद्धतासहितका इच्छाशक्तिहरू नै विकासका राजमार्ग हुन्। विकासका मुद्दामा प्रतिपक्ष र सत्तापक्ष होइन, खासमा साझा बाटो पहिल्याएर हिँड्नु एकमात्र विकल्प हो।
चुनौतीसँग सामना गर्न रणनीतिहरू बनाएरमात्र अघि बढ्न सकिन्छ। जसको महत्त्वपूर्ण आधार ‘सिटिजन साइन्स’ हुन सक्छ। क्षमता निर्माण गर्ने, स्थानीयवासीको फराकिलो र गहिरो दृष्टिकोण बनाउने अनि तथ्यांक संकलनका लागि कम लागत लाग्नेगरी उपकरणसहितका प्रयोगकर्ता तयार पार्ने काममा सरकार लाग्नैपर्छ अब। नीतिनिर्माणकर्ताले नागरिकद्वारा उत्पादित तथ्यांकलाई केन्द्रमा राखेर दिगो वित्तीय मोडेलहरू अपनाउँदै स्थानीय र अन्तर्राष्ट्रिय संस्थासँग साझेदारी स्थापना गर्नुपर्ने हुन्छ।