प्राइभेट इक्विटी/भेन्चर क्यापिटलको लगानी दशकमा सवा १० करोड डलर
काठमाडौं : नेपालमा करिब एक दशकमा प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल कम्पनीहरूले १६ वटा फन्ड व्यवस्थापनमार्फत १० करोड १० लाख अमेरीकी डलरबराबरको लगानी भएको छ। नेपाल प्राइभेट इक्विटी एसोसियसन (एनपीईए)को तथ्यांकअनुसार उक्त संघमा दर्ता भएका २० कम्पनीहरूले करिब १०–१२ वर्ष अवधिमा उक्त लगानी गरेको उल्लेख छ।
अझ यस अवधिमा सञ्चालित पीईभीसी कम्पनीमध्ये ५ वटा फन्ड म्यानेजर कम्पनी नेपालबाट बाहिर निस्किएको संघले जनाएको छ। एसोसिएसनका अनुसार सन् २०१२ देखि नेपालमा प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल नेपालमा दर्ता भएर लगानी सुरु गरिएको हो। सन् २०२३ सम्ममा विभिन्न ९६ वटामा लगानी भए। पछिल्लो वर्ष अर्थात् सन् २०२३ मा मात्रै ३ करोड ५० लाख अमेरिकी डलरबराबरको लगानी भएको नेपाल प्राइभेट इक्विटी एसोसियसन (एनपीईए)ले जानकारी दिएको छ। एनपीईए प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल संस्थाहरूको छाता संगठन हो।
कुनै कम्पनीको पूरै वा ठूलो अंश इक्विटी खरिद गरेर लगानी गर्ने कोषलाई प्राइभेट इक्विटी भनिन्छ। यसमा कम्पनीको इक्विटी खरिद गरेर आफ्नो नियन्त्रणमा निश्चित समयसम्म सञ्चालन गरेर स्तरमाथि पुर्याएपछि आफ्नो सेयर सर्वसाधारणमा बिक्री गरी पुँजी बजारमा सूचीकरण गर्ने व्यवस्थासमेत गर्न सक्छ। तर यस्ता कम्पनीले अन्ततः केही समयपछि सेयर बेचेर बाहिरिने गर्छन्।
यस्तै, भेन्चर क्यापिटल प्राइभेट इक्विटी फाइनान्सिङको एक रूप पनि हो। यसले स्टार्टअप अर्थात् नवीनतम् ज्ञान, सीप र क्षमता भएका, नयाँ वस्तु, सेवा, प्रविधि एवम् बौद्धिक सम्पत्तिसँग सम्बन्धित व्यवसायमा लगानी बढाउँछन्। कम्पनीको आइडिया तथा इन्नोभेसनमा भेन्चर क्यापिटलको लगानी हुने गर्छ।
अहिलेसम्मको स्थितिमा नेपालमा यस्ता कम्पनीको लगानीको मुख्य १३ वटा क्षेत्र रहेका छन्। विशेष गरेर सबैभन्दा धेरै नवीकरणीय ऊर्जा क्षेत्रमा २३ वटा लगानी रहेको देखिन्छ। यसपछि दोस्रो बढमी आईसीटी तथा प्रविधिमा १९ वटा लगानी छ। यसपछि तेस्रोमा कृषि व्यवसायमा १० वटा यस्ता कम्पनीले लगानी गरेका छन्। यसबाहेक निर्माण (म्यानुफ्याक्चरिङ)मा हस्पिटालिटी (होटल) मा ८–८ वटामा लगानी छ। यसपछि क्रमशः वित्त कम्पनीमा ६ वटा लगानी, स्वास्थ्य हेरचाहमा ५ वटा, शिक्षामा ३, घरजग्गामा २ वटा लगानी छ। यसबाहेकको अटोमोटिभ, औषधि, सेवा र फोहोर व्यवस्थापनमा १–१ वटा मात्रै लगानी विस्तार भएको छ।
नेपालमा चार प्रकारका पीईभिसीले लगानी गरेको पाइन्छ। जसअन्तर्गतको एक स्थानीय कोष (लोकल फन्ड) हो। नेपालीबाटै आफ्नै लगानीबाट गरेको यो एक सीमित दायित्व कम्पनीको रूपमा स्थापित छ। कुल पीईभीसीको लगानीमा स्थानीय कोषको अंश ४३.८ प्रतिशत रहेको छ। यसपछि कोष नेपाल बाहिर दर्ता भएको तर नेपालको पोर्टफोलियो भित्र प्रत्यक्ष लगानीबाट सञ्चालित कम्पनीहरू अफसोर एफडीआईअन्तर्गत छन्। यसमा चार वटाको कुल पीईभिसीमध्ये २५ प्रतिशत लगानी छ। नेपालमा पूर्ण वा आंशिक लगानी आकर्षित भई नेपालमा गाभिएर सञ्चालित एउटा अनसोर एफडीआईको लगानी ६.३ प्रतिशत छ। यस्तै अर्को एसआईएफ फन्ड (विशेष लगानी कोष) मा ४ कम्पनीको लगानी छ। जसमा कुल पीईभीसी लगानीको २५ प्रतिशत छ।
पीईभीसी कम्पनीहरूलाई सुरुवातमा कुनै पहिचान र नीतिगत व्यवस्था थिएन। तर २०७५ पछि नेपाल धितोपत्र बोर्ड (सेबोन) ले यसलाई एउटा पहिचान दिने काम गर्यो। सेबोनले ‘विशिष्टीकृत लगानी कोष नियमावली–२०७५’ जारी गरेपछि यस्ता कम्पनी नीतिमा बाँधिन बाध्य भए। यसैक्रममा नेपाल प्राइभेट इक्विटी एसोसियसन (एनपीईए) का अध्यक्ष सिद्धान्तराज पाण्डे बोर्डले विशिष्ट लगानी कोषको नीतिगत व्यवस्था गरे पनि यसको कार्यान्वयन हुन थालेको भने दुई वर्षमात्रै भएको बताउँछन्।
उनका अनुसार यसपछि स्थानीय कोषहरूले प्राइभेट इक्विटी (पीई) मा लगानी बढाएको छ। जुनसुकै पीई भए पनि जोखिमपूर्ण लगानी गर्ने हो। हाल नेपालमा सञ्चालित यस्ता कम्पनीलाई ओभर नियमन नगर्न सरकारसमक्ष उनी अनुरोध गर्छन्। उनले भने, ‘नियमन नहँुदा पनि राम्रो काम गरेर सरकारलाई कर तिरिरहेका थिए। अनावश्यक नियमनभन्दा बरु फ्रेमवर्क दिन उनले आग्रह गरे। रामेश्वर खनालको नेतृत्वमा बनेको समितिले १, २ महिनामा विभिन्न कानुनी व्यवस्था गर्ने भनेर आश्वासन दिएका छन्।’
यस्तै, बिजनेस अक्सिजन प्रालिका इन्भेस्टमेन्ट निर्देशक दीपक शर्मा पहिला पीईभीसीलाई चिनारी नगरिदिएकोमा पछिल्लो समयमा धितोपत्र बोर्डले पहिचान दिएको तर यसलाई उद्योग विभागमार्फत यसलाई उद्योगको रूपमा पहिचान गरिदिए लगानी भिœयाउन सजिलो हुने बताउँछन्।
धितोपत्र बोर्डबाहेक नेपाल राष्ट्र बैंकले भने पछिल्लो समय गरेको व्यवस्थाले यस्ता कम्पनीलाई केही हदसम्म सहज भएको बताउँछिन्, पायोनियर ल एसोसियसनकी प्रतीक्षा दाहाल। चालु आर्थिक वर्ष (आव) मौद्रिक नीति र यसपछिको एकीकृत निर्देशिकाअनुसार प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटलको सेयरमा गरिएको कुल लगानी रकमलाई पुँजीकोष गणना गर्दा प्राथमिक पुँजीबाट घटाई पुँजीकोष कायम गर्न अनिवार्य नहुने व्यवस्था छ। साथै, प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटलले लगानी गरेको संस्था कुनै कारणवश कर्जा चुक्ता गर्न नसकी कालोसूचीमा पर्ने अवस्था आएमा लगानी गर्ने प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटललाई कालोसूचीमा नपर्ने व्यवस्था मिलाइने सुविधा पनि राष्ट्र बैंकले दिएको छ।
संघमा आबद्ध पीईभीसी कम्पनी
अनुमतिपत्र प्राप्त विशिष्टीकृत लगानी कोष व्यवस्थापकमा प्रायः सेबोनबाट धितोपत्र व्यवसायी, मर्चेन्ट बैंकरको कार्य गर्ने अनुमतिपत्र प्राप्त गरेका संस्थाहरू छन्। यता एसोसिएसनमा भने पीईभीसीका २० कम्पनी सदस्य छन्। जसअन्तर्गत अध्यान्त फन्ड म्यानेजमेन्ट, अल्फा प्लस भेन्चर, अवसर इक्विटी लिमिटेड, बिजनेस अक्सिजन प्रालि, सेडा इक्विटी फन्ड लि. र डोल्मा एडभाइजर छन्। यस्तै, ग्लोबल इक्विटी फन्ड, कृति भेन्चर, लक्ष्मी सनराइजन क्यापिटल, नबिल इन्भेस्टमेन्ट बैंकिङ, नेसनल फन्ड म्यानेजमेन्ट, एनआईएमबी एसीई क्यापिटल, एनआईसी एसिया क्यापिटल, एनएमबी क्यापिटल, वन टु वाच इन्भेस्टमेन्ट म्यानेजमेन्ट, प्रभु क्यापिटल, रिलायवल भेन्चर क्यापिटल, सिड इन्भेस्टमेन्ट, टिम भेन्चर, ट्रु नर्थ एसोसियट्सलगायत कम्पनी सदस्य छन्। प्राइभेट इक्विटी र भेन्चर क्यापिटलमा के फरक ?
वास्तवमा भेन्चर क्यापिटलहरूलाई व्यवसाय सञ्चालनका लागि सुरुवाती पुँजी जरुरी हुन्छ। यता प्राइभेट इक्विटीलाई भने व्यवसाय वृद्धि अर्थात् विस्तार गर्न थप पुँजी चाहिँदा लगानी गरिन्छ। यस्तै, भेन्चर क्यापिटलले धेरै संख्यामा कम्पनीहरूमा लगानी गर्छन भने प्राइभेट इक्विटीले प्रायः सानो संख्यामा मात्र लगानी गर्छन्। यस्तै, भीसीहरूले कम्पनीको व्यवस्थापन कौशलतामा केन्द्रित हुन्छन् भने पीईले कर्पोरेट सुशासनमा ध्यान केन्द्रित गर्छन्। जोखिमको सबालमा भेन्चर क्यापिटलहरूको उच्च हुन्छ भने प्राइभेट इक्विटीको लगानी तुलनात्मक रूपमा कम जोखिमपूर्णमा हुने गर्छ। पीईले कम्पनी सञ्चालन भइसकेपछि मात्रै लगानी गर्ने भएकाले कम जोखिम हुन्छ।