एआई शिक्षासम्बन्धी ११ दिने कार्यक्रम नेपालमा हुँदै
काठमाडौं : दक्षिण एशिया मध्यकै एक अब्बल एआई शिक्षासम्बन्धी ११ दिने कार्यक्रम नेपालमा आयोजना हुने भएको छ। नेपाल एप्लाइड म्याथेमेटिक्स एन्ड इन्फरमेटिक्स इन्स्टिच्युट (एनएएएमआईआई)ले बुधबार प्रेस सम्मेलनमार्फत एनुअल नेपाल एआई स्कूलको आयोजना गर्ने घोषणा गरेको हो।
पुस १२ देखि २२ गतेसम्म ललितपुरको खुमलटारस्थित प्रिमियर इन्टरनेशनल स्कूलमा उक्त कार्यक्रम सञ्चालन हुने भएको छ। यो प्रतिष्ठित कार्यक्रमको पाँचौं संस्करण आर्टिफिसियल एन्टिलिजेन्स्को आधार र कार्यान्वयनहरूमा केन्द्रित हुने छ। संसारभरबाट वैज्ञानिक, प्राध्यापक र सहभागीहरूलाई एआईसम्बन्धी गहन व्याख्यान, प्रयोगशाला, र परियोजना कार्यका लागि कार्यक्रमले एकै ठाउँमा ल्याउने भएकाले यो दक्षिण एशियाकै सबैभन्दा ठूलो र सबैभन्दा पृथक मञ्च भएको आयोजकको दाबी छ। यसले आधारभूतदेखि आधुनिक विचार र विधिहरूसम्मका विषयवस्तु तथा अनुप्रयोगहरूलाई समेट्ने छ।
प्रेस सम्मेलनमा नेपाल एप्लाइड म्याथेमेटिक्स एन्ड इन्फरमेटिक्स इन्स्टिच्युट निर्देशक तथा अनुसन्धान वैज्ञानिक बिशेष खनालले यो कार्यक्रम दक्षिण एशियामा उत्कृष्ट अन्तर्राष्ट्रिय विशेषज्ञहरूबाट सिक्ने र अन्तरक्रिया गर्ने सुनौलो अवसर भएको बताए। उनले भने, 'नेपालमा एआईको उपयोग गर्ने सरकारको योजना र एआई नीतिको तयारी भइरहेको अवस्थामा, यो कार्यक्रमले आवश्यक छलफल सिर्जना गर्न र नेपालमा एआई विशेषज्ञता निर्माण गर्न मद्दत पुर्याउनेछ।'
संस्थाका एजुकेशन आउटरीच प्रमुख अलोक खत्रीकाअनुसार यो कार्यक्रमले केवल शिक्षामात्र प्रदान गर्दैन। ‘११ दिनसम्म विश्वस्तरीय विशेषज्ञहरूसँग सिक्ने, व्यावहारिक कार्यशालामा भाग लिने, र आफ्नो व्यावसायिक सञ्जाल विस्तार गर्ने अवसर पनि यहाँ प्राप्त हुन्छ,' उनले भने।