झन्–झन् बलियो हुँदै डलर
काठमाडौं : पछिल्लो समय अमेरिकामा नयाँ नेतृत्व फेरिएसँगै डलरको मूल्य झन्–झन् बलियो हुँदै गएको छ। गत कात्तिक (नोभेम्बर पहिलो साता) अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित हुँदा नेपालको इतिहासमा डलरको मूल्य दिनप्रतीदिन छिटो गतिमा बढेर कीर्तिमान राख्दै आएको छ।
नेपाल राष्ट्र बैंकले पुस १० गते बुधबार जारी गरेको दररेटअनुसार अमेरिकी डलरको नेपाली रुपैयाँ विनिमय दरको ह्वात्तै बढेर बिक्री मूल्य १३६.०३ र खरिद मूल्य १३६.६३ रुपैयाँ पुगेको छ। अमेरिकामा निर्वाचनपछि नयाँ नेतृत्व आउने भनेसँगै गत कात्तिक २२ गते बिहीबार अमेरिकी डलरको बिक्री मूल्य ह्वात्तै बढेर १३५.१६ पुग्यो भने खरिद मूल्य भने १३४.५६ रुपैयाँ भयो। करिब ६ महिना यतादेखि अमेरिकी डलरको बिक्री मूल्य १३४ रुपैयाँ आसपासमा चलिरहेको थियो।
डलरको मूल्यको तुलनामा युरो पाउन्ड स्टर्लिङ, अस्ट्रेलियन डलरको नेपाली विनिमयदर मूल्य भने घटेको छ। गत कात्तिक २२ मा युरो बिक्री मूल्य १४४.८६ र खरिद मूल्य १४४.२१ रहेको थियो तर अहिले (पुस १०)मा घटेर बिक्री मूल्य १४१.४७ र खरिद मूल्य १४२.१० मा कायम भएको छ। यस्तै, पाउन्ड स्टर्लिङको बिक्री मूल्य पनि घटेर १७०.५१ र खरिद मूल्य १७१.२७ मा सीमित छ। यससँगै, अस्ट्रेलियन डलरको बिक्री मूल्य पनि घटेर ८४.७९ र खरिद मूल्य ८५.१७ रुपैयाँ पुगेको छ।
यतिबेला धेरैको चासो अमेरिकी मूल्य किन यत्ति धेरै बढ्यो भन्ने छ। अमेरिकाको राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएर आएसँगै अब अमेरिकाको फस्ट पोलिसी अर्थात् हरेक कुरामा अमेरिकालाई पहिलो प्राथमिकता दिने भएकाले पछिल्लो समय विश्व अर्थतन्त्रमा डलरको मूल्य झन् बलियो हुँदै गएको विज्ञहरू बताउँछन्। नयाँ राष्ट्रपति आएसँगै अमेरिकाले थप संरक्षणवादी नीति लिने र अरू मुलुकबाट हुने आयात बढाउने कारणले गर्दा अमेरिकी डलर अझै बलियो हुने वातावरण देखिएको नेपाल राष्ट्र बैंकका आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट बताउँछन्। अमेरिकाले संरक्षणवादी नीतिलाई थप अगाडि लैजान लागेकाले अरू मुलुकबाट हुने आयातको भन्सार बढाउने भएकाले अन्य मुलुकको आर्थिक वृद्धिदर प्रभावित हुने उनले औंल्याए।
‘अहिले अमेरिका बलियो मुलुक छ। राम्रो आर्थिक वृद्धि, मुद्रास्फीति तल छ। समग्र अर्थतन्त्र सवल छ। अमेरिकाले संरक्षणवादी नीति लगाएर आयातमा भन्सार बढाउँदा ठूला मुलुकको आर्थिक वृद्धि प्रभावित हुन्छ। जबकी अहिले नै अमेरिकी अर्थतन्त्र सुदृढ छ। यसैले अझै डलरको मूल्य कति पुग्छ भन्ने अनुमान गर्न सक्ने स्थिति छैन’, उनले भने।
यसैक्रममा अर्थविद् डा. चन्द्रमणि अधिकारी अहिलेको नेतृत्वले हरेकमा अमेरिकी नागरिकलाई पहिलो प्राथमिकता दिने, त्यही देशको उद्योग, लगानीकर्तालाई बढी महत्व दिने र ब्याजदरलाई उपयुक्त सीमामा राख्ने नीति लिएकाले पनि यतिबेला डलरको मूल्य बलियो हुँदै गएको तर्क गर्छन्।
‘यसअघि सुनको माग बढेको थियो तर अहिले सुनको मूल्य स्थिर भएको छ। सुनको माग स्थिर भएपछि डलरमा लगानी गर्छन्। त्यसकारण पनि डलरको मूल्य बढेको हो’, उनले भने। पछिल्लो समय विश्वको अर्थतन्त्र तरल भएको कारणले अझै डलरको मूल्य कतिसम्म आकासिन्छ भन्ने एकिन गर्न नसकिने डा. अधिकारीको अनुमान छ।
‘विश्वको अर्थतन्त्र, राजनीति र भूराजनीति तरल भएको छ। अर्कोतर्फ कतिपयले डलरलाई विस्थापित गर्न खोजिरहेका छन्’, उनले थप्दै भने, ‘जसका लागि ‘ब्रिक्स’ डिडलराईजेसन (ब्राजिल, रसिया, भारत, चीन लगायतका केही देशका संगठनहरूले गर्ने व्यापार उनीहरूकै मुद्रामा गर्ने भन्ने सम्झौता)को कुरा पनि भैरहेको छ।
यसले गर्दा डलरको एकाधिकार तोड्न खोजिएको छ। विश्वबजारबाट डलरको सञ्चिति पनि घट्ने स्थिति छ। यसले पनि अर्को प्रभाव पार्नसक्छ।’
विशेष गरेर डलर बलियो हुँदै जाँदा अब नेपाल भित्रिने रेमिट्यान्स भने अझै वृद्धि हुने देखिन्छ। नेपाल रेमिट्यान्स केन्द्रित मुलुक भएकाले थुप्रै रकम बाहिरबाटै आउँछ।
अब वैदेशिक रोजगारमा गएका नेपालीले पठाउने रेमिट्यान्स केही हदसम्म बढ्ने अनुमान गर्न सकिन्छ। एक हिसाबले यो फाइदा नै हुन्छ। जबकी अहिले नै नेपालमा रेमिट्यान्स महिनैपिच्छे वृद्धि भएर विदेशी मुद्रा सञ्चिति पर्याप्त हुन थालेको छ। डलरको विनिमय दर बढ्दा रेमिट्यान्स आउने देशलाई फाइँदै हो तर आयातमुखी देश भएकाले वस्तु तथा सेवा महँगो पर्न जाने र मूल्यवृद्धिमा दबाब पर्न सक्छ।
डलर बढ्दाको सकारात्मक र नकारात्मक प्रभाव
नेपालले अधिकांश वस्तु आयात गरेर उपभोग गर्नुपर्ने भएकाले डलरको भाउ बढ्दै जाँदा भान्सा महँगो हुन्छ। खरिद बस्तुको सबै मूल्य बढ्दै जान्छ। उसो त विस्तारै तेलको मूल्य बढ्दै गएको छ। यसले समग्रमा मुलुकको अर्थतन्त्रमा प्रतिस्पर्धाको क्षमता कम गर्दै जाने अर्थविद् डा. अधिकारी औंल्याउँछन्।
उनका अनुसार अब वैदेशिक ऋण तिर्न पनि धेरै नेपाली रुपैयाँ खर्च गर्दै जानुपर्ने भएकाले ‘डेब्ट सर्भिस’को लागत अर्थात् खर्च बढ्छ। यद्यपि यसका बाबजुद थोरै डलरमा नेपालमा धेरै खर्च सुविधा पाउने भएपछि पर्यटकहरू धेरै समय बस्ने उनको तर्क छ।
‘निकासीजन्य वस्तु बढाउन सकियो भने यसबाट आम्दानी बढ्छ। साथै डलर बढेको बेला नेपाली पैसा बढी आउँछ भनेर रेमिट्यान्स अरू मुलुकमा राख्नुभन्दा नेपालमै पठाउँछन्,’ डा. अधिकारीले भने।
डलर बलियो हँुदै जाँदा नेपाली मुद्रा प्रभावित हुँदै जान्छ। नेपाली रुपैयाँ डलरसँग पेग (अन्तर आबद्धता) छैन। तर, नेपालले लामो समयदेखि आफ्नो मुद्रालाई भारतीय मुद्रासँग अन्तरआवद्धता गरेको छ।
यसकारण डलर बढ्दा भारू कमजोर हुने गरेकाले नेपाली मुद्रा पनि स्वाभाविक रूपमा कमजोर हुन्छ। सरकारले नेपाली रूपैयाँलाई भारतीय रुपैयाँसँग स्थिर विनिमय दर भारू १ बराबर १ रुपैयाँ ६० पैसा कायम गरेको छ। यसकारण यतिबेला डलरको तुलनामा भारुको कमजोर हुँदै गएको छ।
भारतीय मुद्रा कमजोर भएर गए नेपाली मुद्रा स्वतः कमजोर हुन्छ। अमेरिकी मुद्राको तुलनामा भारतीय मुद्रा कमजोर हुनेबित्तिकै नेपालले तेस्रो मुलुकबाट आयात गर्ने वस्तुहरू महँगो हुन्छ। सैद्धान्तिक रूपमा तेस्रो मुलुकमा निर्यात बढ्नु पर्थ्यो तर नेपालको निर्यात योग्य वस्तु छैन।
नेपालले अन्तर्राष्ट्रिय बजारमा जानेखालका वस्तुहरू त्यति उत्पादन गर्न सकेको छैन। यद्यपि यसले अवसर दिन्छ तर त्यो अवसर प्रयोग गर्ने क्षमता नेपालसँग नभएकाले लाभ प्रयोग गर्न खासै सकेका छैनौं। बरु उल्टै घाटा हुन्छ। कसरी भने उपभोक्ताहरूले सस्तोमा पाइरहेको सामान अब महँगो हुन्छ।
यसले गर्दा भारतमाथिको आ श्रय झन् बढेर जान्छ। डलर जब–जब बलियो हुँदै जान्छ तब–तब मुलुकले बढी व्यापार भारतसँग गर्दै जान्छ। यसकारण विशेष गरेर डलर बलियो हुँदै जाँदा भारतीय मुद्रा र नेपाली रुपैयाँ भने कमजोर बन्दै जान्छ।
डलरको मूल्य क्रमशः बढ्दै गर्दा नेपाली रुपैयाँ अवमूल्यन हुन्छ। अन्तर्राष्ट्रिय स्तरमै सुरक्षित मुद्रा ठानिने भएकाले अधिकांश मुलुककले डलरलाई रिजर्भ पनि राख्ने गर्छन्। यसकारण पनि अमेरिकी डलरको माग बढी छ। जसको प्रत्यक्ष प्रभाव आयात महँगिने र मूल्यवृद्धिमा चाप पर्न जान्छ।
यससँगै, डलर बलियो हुँदा मुलुकले वैदेशिक ऋणको साँवाव्याज भुक्तानीमा प्रभाव पर्छ। डलर सस्तो हुँदा कम नेपाली मुद्रा तिरे पनि पुग्छ। तर, डलर बढी हुँदा बढी रुपैयाँ खर्चिनुपर्छ।
यसो हँुदा ऋणको व्ययभार बढ्ने भएकाले केही घाटा यसबाट हुन्छ। यदि अहिले हामीसँग उत्पादनयोग्य वस्तु भएको भए महँगो डलरमा बिक्री गर्न सकिन्थ्यो। तर, दुर्भाग्य भारतबाहेक अरू मुलुकमा जाने खाले वस्तु खासै छैन। यसले गर्दा हामीलाई फाइदाभन्दा पनि घाटा बढी हुन्छ।